
सबिता पोखरेल
बनाउँदै खेल्दै बालुवाको घर
भोलिको स्वप्न, आजको रहर
निर्धक्क डुल्थेँ, डाँडा र पाँखा
जिज्ञासु सधैँ चञ्चले आँखा ।
आमा र बाबा मेलामा व्यस्त
म बच्चै थिएँ, खेल्नमै मस्त
गाउँका ठूला भन्नेलाई मान्थेँ
भेटमात्र हुँदा ठूली भा ठान्थेँ ।
सक्दछ भित्र–भित्र जाल बुन्न
देखिएजस्तो मानिस हुन्न
हरायो खुशी, हरायो मस्ती
मान्यबाट नै भो जबरजस्ती
नराम्रो सोचमा बेरियो जगत
बाबासँग नै डराएँ फगत !
दुःख, खेदका कोर्नु छ शब्द
तर चुपचाप म छु स्तब्ध
कल्पिएर त्यो कालो रातको
के बारे लेखुँ ? निठुर जातको
म रोइरहँदा पीडित भएर
हृदय गुञ्जन्छ गीत भएर ।
आँशु नबगाऊ हाँसी राख है
भोलि छ उज्ज्वल, बाँचिराख है
समय गुरु, तिमी बन्नु शिष्य
आशुलाई शक्तिमा बदल बालिके ।
शिथिल भएका अङ्ग प्रत्यङ्ग
झक्झकाएर छर, उमङ्ग
संरचना छ, स्वतः बेढङ्ग
दृष्टिको राम्रो छर्नु छ रङ्ग
मायाकी खानी घरकी रानी
बा–आमा तिम्रा हुन् जिन्दगानी
सुन उनैलाई, गुन उनैलाई
कहिल्यै नपोल्ने शितल जुनलाई ।
हामी चुप छौं, समय बोल्छ
दुष्ट जल्छ, अपराधले पोल्छ
तँ ज्यूदो मूर्दा हे यौन पिपासु
बालिकाहरूको लाग्नेछ आँशु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

