सरोज पन्त

के पायौ र ? प्रिय तिमीले मलाई साह्रै रुवाई
बरु नाङ्गा होलान् हातै तिम्रा चुरा सबै हटाई ।

के पाउली र ? अरु बढी तिमी मुटु मेरो चुँडाई
आऊ है बरु मिलेर बसौँ दुःखसुख मिसाई ।

जान्छौ माइत क्षणभरलाई रिस थाम्न नसकी
कस्ले पाल्छ र ? छोरीलाई माइत सकी नसकी ।

आउनु पर्ला नि शीघ्र यहीँ, केही दिन बिताई !
रुनु पर्ला नि जीवनभरि आँशुधारा बर्साई ।

सोच सम्झ भविष्य तिम्रो दिल, मस्तिष्क डुलेर
कचकच नगर न प्रिय ! क्षणिक स्वार्थमा भुलेर ।

राख्नुपर्छ जन्म-जन्म कीर्ति शुभ कार्यले भरेर
मिलिजुली समाजमा सधैँ, राम्रो व्यवहार गरेर।

धन पैसा ठूलो हैन यहाँ, मायाप्रीति नै ठूलो हो
ढिँडो, आँटो पनि चौरासी व्यञ्जन, खोई कुरा बुझेको ?

महङ्गो, साडी र गहना व्यर्थ किन हो नि चाहेको ?
अलङ्कार, सन्तोष, मीठो बोली, यसैमा सुखी बन भो ।

लाग्ने हैन मरी मेटी कोही, त्यो कालो धनमा
करोडौँ रुपियाँ छन् सुखका खोज हाम्रो मायामा ।

साँच्ची बनाऊ झुपडी एउटा यही जन्मभूमिमा
लाखौँ ऋतु शयल गरौँ मुटु छुने यो मायामा !