
कसैको मुहारमा मुस्कानको झल्को
सुन्दर छ आफैं, आफैं शेष
मन रम्छ भने त्यो नै काफी
मुस्कानको राज, नखोजेकै बेस
वसन्तमा फुलेका फूलको सुवासमा
महकिन्छन् सारा संसारका देश
बहारमा मन हर्षित भई जागे
सुवासको विज्ञान, नखोजेकै बेस
प्रेममा पर्नुको मीठो आभासले
मनका आँधी, रहन्नन् शेष
सागरमा पौडिनु नै काफी छ
प्रेमको परिभाषा, न खोजेकै बेस
मनको तार छेडेर जाने सङ्गीतको
न रंग, न रूप, न हुन्छ कुनै भेष
सुरमा मन, खुशीले नाचे
संगीतको भाषा, नखोजेकै बेस
नीलो आकाशमा सेता बादल
तैरिदै घुम्छन्, देश प्रदेश
छेउ समाती मनसँगै भागे
बादलको गति, नखोजेकै बेस
बिहानीको घाम शीतका थोपामा
चम्कदै गर्छन् नव दिनमा प्रवेश
आजसँग मनलाई थोरै आश लागे
कालो रात, न खोजेकै बेस
सोतो सफा हिउँले ढपक्क ढाकेको
लाग्दछ ठूला रूखको, फुलेको केश
कुनै शिशिरका दिन, प्यारो लागे
हिउँ कति चिसो छ, नखोजेकै बेस
समुद्रको किनारमा आई मिल्छ
अनन्तका छालका अवशेष
तिनलाई हेरी, मन शान्त लागे
समुद्रको गहिराई, नखोजेकै बेस।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

