तिमीलाई लाग्दो हो,
म तिमीभित्र केही खोज्दैछु —
शायद नजरले चुम्न खोजेको
शरीरले छोइहाल्ने दुस्साहस गरेझैँ
शायद डर लाग्दो हो तिमीलाई
म वासना भित्रको सुगन्ध टिप्न खोज्दैछु कि!

तिम्रो मन तर्सन्छ —
यो मित्रताको नाममा केही माग्न खोजेको हो कि!
तर हैन, म त खोज्दैछु
एउटा आत्मीय सम्बन्ध
जहाँ शब्दभन्दा गहिरा मौनताहरू बोल्छन्
स्पर्शभन्दा प्रिय साथ हुन्छ
र, दृष्टिभन्दा पारि अनुभूति हुन्छ

म त चाहन्छु त्यो सम्बन्ध
जहाँ न बहीखाता हुन्छ
न त हिसाब–किताब
जहाँ कुनै शर्त हुँदैन
न अपेक्षा, न आरोप
मित्रता त पवित्र बन्धन हो
निरपेक्ष प्रेमको नाम हो

यो न त समयसँग टुट्छ
न परिस्थितिसँग डगमगाउँछ
तिमी डर नमान है
म न त तिमीलाई गुमाउने डरले बाँध्न खोज्छु
न त पाउने लालसाले समात्न

म त बस,
साथ चाहन्छु —
शान्त, सरल, आत्मीय।
मित्रता —
जहाँ हामी दुई आत्मा,
एउटै छायाँमा विश्राम लिन्छौँ
जहाँ जीवनका दुखहरू पनि
मिठासजस्तो लाग्न थाल्छन्

त्यो पवित्र सम्बन्ध
जहाँ हृदयले हृदयसँग संवाद गर्छ
र मौनताले सबै कुरा बुझाइदिन्छ।

भक्तपुर