
हरेक वर्षजस्तै
लालिपपको देखाएर
अबोध बालकलाई लोभ्याएझैँ
बेसहारालाई सहाराको
भोकालाई आहाराको
विदेशिएकालाई देशको
सुन्दर सुखद् परिवेशको
धमिलो आस देखाउँदै
दैलोमै आएछ नववर्ष
तिम्रो विश्वासमा कसरी परुँ?
निरासमै बित्यो धेरै वर्ष
भन ! निषेध गरुँ कि स्वागत गरुँ?
भोलिको प्रतीक्षामा कुर्दै
बितेका अनगिन्ती भोलिहरू
आफैँलाई जिस्काउँदै
आँखैअघि बिलाई गए
पहिले देखेका सपनाहरू
स्मृतिबाट हराउँदै गए
एकजुट भै मिलेर
जंघार तार्न पर्नेहरू
एक आपसमा जुधिरहे
भोक टार्न पर्नेहरू
रित्तो कसौडी बजाउँदै
बेहोसीमा नाचिरहे
तै पनि झुल्कियो नयाँ वर्ष
तिमी आफैँ भन अब म
तल झरुँ कि माथि सरुँ
आजीवन बुझ्न नसकेको तिमीलाई
निषेध गरुँ कि स्वागत गरुँ ?
चुलोमा आगो बल्न रोकिए
माटोमा अन्न फल्न रोकिए
तिमीलाई स्वागत गर्दागर्दै
धेरैका जीवन चल्न रोकिए
केही गर्न नसकेपछि
फालेको चारामा फसे
अवस्था बदल्न नसकेर
व्यवस्था फेर्ने नारामा फसे
कोही लाजसँग लजाउँदै
कोही कसैलाई कजाउँदै
बाँचेको अभिनय गर्दैछ
पहिले मरेको समय
यस्तैमा झुल्कियो नयाँ वर्ष
तिम्रो आगमनमा म के रङ भरुँ?
सधैं अरुकै मनमा रहने तिमीलाई
भन ! निषेध गरुँ कि स्वागत गरुँ?
नारेश्वर, गोरखा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

