
मान्छे जति नै विवेकशील भए पनि
बम-बन्दुक नै पड्काउँदो रहेछ
मनलाई
हिंसा नै थुक्न लगाउँदो रहेछ
देश जति नै शक्तिशाली भए पनि
मिसाइल नै त छोड्दो रहेछ
ड्रोनलाई
मृत्यु नै छाद्न लगाउँदो रहेछ
अहो!
कुरा नमिलेपछि
कुरा नसुनेपछि
हिंसाबिना बाँच्न नसक्दो रहेछ मान्छे !
युद्धविना बस्न नसक्दो रहेछ देश !
शान्तिका लागि युद्ध जित्नु
र युद्धले सुरक्षा दिन्छ भन्नुमा
कति सत्यता छ हँ !
सुरक्षाका लागि लड़ेर मार्नु
र मारिनुमा पनि
कति मानवता छ हँ !
एउटा देशको शान्तिका लागि
अर्को देशको शान्ति खोसिनुमा
कति अशान्ति फिँजिन्छ हँ !
युद्धमा
दुवै देशको मन त चिरिएकै हुन्छ नि
दुवै देशका आँखाहरूबाट पनि
अशान्तिको आँशू त बगेकै हुन्छ नि
युद्ध र शान्ति बेग्लाबेग्लै भए पनि
शान्तिका लागि युद्ध
र सुरक्षाका लागि युद्ध
पनि भिन्नाभिन्नै लागे पनि
युद्ध त एउटै हो नि
मान्छेको मनमा मात्र होइन
पृथ्वीकै छातीमा पनि
अति गहिरो खाड़ल खन्ने विनाशक !
नाश त गरेकै हुन्छ युद्धले
जितेर पनि
सर्वनाश त गरेकै हुन्छ युद्धले
हारेर पनि
युद्ध, युद्ध नै हो
सुन्दर संरचना विध्वंस गर्ने
हिंसा हिंसा नै हो
एकैपल्ट पाइने जीवनै संहार गर्ने
यसले छोड़ेका मनभित्रका अमिट डोबहरू
अहँ
कहिल्यै पुरिने होइन
इतिहास नै खण्डहर बने पनि
मानचित्रमा
देशको अनुहार ठूलो र खँदिलो बने पनि
आखिर युद्ध भनेको संहारक नै त हो
महापुरुषहरूका वाणीहरूले पनि रोक्न नसक्ने
महात्माहरूका प्रवचनहरूले पनि थेग्न नसक्ने
बलियुग भइसकेको कलियुगमा !
ओ युद्ध !
मान्छेले रोक्न सकेन तिमीलाई
हो युद्ध !
देशले छेक्न सकेन तिमीलाई
हेर त
तिमी कसरी जुलूस भएर हिँड़िरहेछौ
जताततै मृत्युहरू टेक्दै
अहो!
आकाशले पनि दिपावली मनाउँदै छ
हिंसाकै धुवाँ सुँघ्दै
मुढ़ाजस्तो जताभावी चोइटिएर शरीरहरू
दाउरा भएर जल्दैछन् दनदनी आगोमा
आगोका मुस्लामा शरीर तताएर
अहिले आकाश न्यानो भएको छ
ओ युद्ध !
म त हेरिरहेछु यूक्रेनलाई चुपचाप
म त हेरिरहेछु रसियालाई चुपचाप
म त हेरिरहेछु इरानलाई चुपचाप
म त हेरिरहेछु अमेरिकालाई चुपचाप
ओ युद्ध !
म पनि सल्किरहेछु भित्रभित्रै चुपचाप
हो युद्ध !
म पनि सुँघिरहेछु तिम्रो डरलाग्दो गन्ध !
डाउहिल, खरसाङ, भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

