नेपाली हजुरबा र हजुरआमा
अमेरिकाको प्रवेशाज्ञा अर्थात् भिसा
प्रवेश गर्छ राहदानीमा
मातृभूमिबाट ठूलो उड्ने चरी
आकाश मार्ग बादलभन्दा धेरै माथि
नौलो र रोचक यात्रा
फूलजस्तै परीहरूको सेवा

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विमानस्थल
दिनरात व्यस्त रहन्छ यात्रीहरूको सेवामा
एउटा भीमकाय शरीर भएको विमान
समयको लयसँगै
शानका साथ अवतरण गर्छ

यात्रीहरूको भीड र सुटकेशको जुलुस
झिलिमिली बत्तीको उज्यालो
समयको गतिसँगै बढ्छन् अगाडि
प्रतीक्षारत छन् आफन्तहरू

ह्वील चियरले बोकेर ल्याउँछ
हजुरबा र हजुरआमालाई
फूलको गुच्छाले स्वागत गर्छ
आहा कति मीठो मिलन
अँगालोमा बेरिएर हाँस्यो
अनिदोले थाकेर गलेका शरीरहरू
आँखाबाट स्नेहको वर्षा हुन्छ

फैलिन्छ सुगन्ध
छोराबुहारीको पौरख
फैलिन्छ यत्रतत्र सर्वत्र

आरामदायी गाडीले स्वागत गर्छ
बुढ्यौली शरीरले आराम पाउँछ
चिल्लो सडकमा बुर्कुसी मारेर दगुर्छन्
कुनै प्रतियोगितामा भागलिए जस्तै
सडकमा तछाडमछाड गर्दै कुँदिरहेका गाडीहरू

केही समयपछि
चउरजस्तो फराकिलो ठाउँमा
गाडी विश्राम गर्छ
आफन्तले गाडीबाट उठाउँछन्
हजुरबाको टेक्ने लट्ठी अगाडि बढ्छ
हजुरआमा र आफन्त पछि लाग्छन्

ओहो ! कति ठूलो महल
रङ्गीचङ्गी उज्याला बत्तीहरूको लाइन
स्वचालित ढोका सररर खुल्छ
टलक्क टल्किएका भुइँ र भित्ताहरू
मुकुक्क मुस्कुराउँछन्

अगाडि धर्तीका सुन्दरीहरू
आफ्नो जागिरमा व्यस्त छन्
स्वागत गरिरहेका छन् आरामदायी आकर्षक सोफाहरू
अतिथिको सेवामा तल्लीन छन्
पाँचतारे होटेललाई बिर्साउने
अत्याधुनिक सुविधाहरू

फराकिला इलिभेटरले पु-याउँछ
पुग्नुपर्ने तलासम्म धेरै माथि
भ-याङ चढ्न पनि नपर्ने
सुविधाले अल्छी बनाउँदो रहेछ मान्छेलाई
सुखी जीवन फर्किन नमान्ने रहेछ दुःखमा
खुल्छ अगाडिको ठूलो ढोका
चिकित्सक र स्वास्थ्य परिचारिकाको व्यस्तता
आहा ! कति राम्रो सेवाभावना
बिहान मात्र बुहारीले जन्माएकी लक्ष्मी
अपूर्व सृष्टि
झ्यालबाहिर गुन्जिन्छ चराहरूको मीठो गीत
सुन्दर र मनमोहक कलिलो अनुहार
आँखा खोलेर पुलुक्क हेर्छिन्
हजुरबा दिनुहुन्छ फूलको गुच्छा
राख्नुहुन्छ नातिनीको नजिकै
आशीर्वाद र हजार रुपियाँको नोट
हर्षविभोर भएर मोतीका दानाहरू खस्न थाल्छन् गहभरि
हजुरबा र हजुरआमाको हर्ष ।
००००