
कोही शक्तिका लागि लडे
कोही जमिनका लागि लडे
कोही धर्मका लागि लडे
कोही व्यापारका लागि लडे
हतियारले मात्र हुँदैन युद्ध
आवाजमा पनि हुन्छ युद्धको बारुद
कलममा पनि हुन्छ युद्धको मिसाइल
त्यसैले शिक्षक
तिम्रो कलममा क्रान्तिको आगो भर
तिमी न्यायको लागि युद्ध गर
तिम्रो कलममा
संसार बदल्ने शक्ति छ
तिम्रो मसीमा
संसारको रङ फेर्ने तागत छ
त्यसैले शिक्षक
तिम्रो कलममा स्वाभिमान भर
तिमी न्यायको लागि युद्ध गर
कोही ड्रोनबाट युद्ध लडे
कोही क्षेप्यास्त्रले लडे
कोही बन्दुकले लडे
कोही आणविक हतियारले लडे
ओ शिक्षक!
तिम्रो कलममा विश्वास भर
तिमी न्यायको लागि युद्ध गर
वर्षौंसम्म तिमीले पढायौ
इमानका कथाहरू
वर्षौंसम्म तिमीले रटायौ
सत्य र निष्ठाका गाथाहरू
तर तिम्रै विरुद्धमा चेलाहरूले
बेइमानीको बन्दुक ताकेपछि
ओ शिक्षक!
तिम्रो कलममा देश भर
तिमी न्यायको लागि युद्ध गर
तिम्रो पसिनाको मूलमा
हजारौँ फूलहरू फुले
तिम्रो समयको गर्भमा
हुर्केका चेलाहरू संसार डुले
तर आज तिम्रै विरुद्धमा
क्षेप्यास्त्र प्रहार भएपछि
ओ शिक्षक!
तिम्रो कलममा क्रान्ति भर
तिमी न्यायको लागि युद्ध गर
तिम्रै आँगनमा हुर्केका सन्तानहरू
कोही रक्षक बने
कोही सत्तासीन भए
कोही न्यायमूर्ति बने
तर उनैले
तिम्रो अधिकारमा ताल्चा मारेर
तिम्रै गर्धनमा तरवार तेर्स्याएपछि
न्याय दिने कलम उल्टो घुमाएपछि
तिमीले सोच्नुपर्छ अब
तिम्रो कलममा मसी भर्छौ या रगत?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
