
कैले
बेसार घसेर
आयौ र खायौ !
कैले अबिर धसेर
आयौ र खायौ ! जे होस्
आयौ पलाँटी कसेर खायौ !
बाक्लो कम्मल माथि बसेर खायौ !
उहिले
उहिले सोह्र
विद्या पढ्या हौ रे ज्ञानी,
गाउँभरिका साना ठूला बटुलेर नानी !
टीका टाला ललाई फकाई
ख्वाई तातो पानी, गर्छौ
रजाइ भरि गाग्रो
फुटाई जानी
जानी !!
कैले
बुद्दु लाटो
बनेर आयौ र खायौ !
कैले उस्को साटो भनेर
आयौ र खायौ ! जे होस् आयौ
पलाटी कसेर खायौ !
बाक्लो कम्मल
माथि बसेर
खायौ !
बुल
बुँतो आफ्नै
सेखी कजाएर नामी !!
हो लाई हैन बनाउँछौ, बोलाइ
बोलाई धामी ! धकड पकड जता
ततै, जता पनि हामी ! धन
पैसोनि छरिहाल्छौ
सबको नाडी
छामी !!
कैले
चिची देखाइ
आयौ र खायौ !
कैले छी-छी देखाइ
आयौ र खायौ ! जे होस्
आयौ पलाटी कसेर खायौ !
बाक्लो कम्मल माथि बसेर खायौ !
पद
प्रतिष्ठाले
ठूलो तिमी, ठूलै
तिम्रो शाख ! तल माथि
विभेद गर्छौ आफ्नै लाला पाखा !
कुन मन्त्रको प्रयोगमा छौ, कुन
नीति हो आँखा? आफ्नै
रगत भुइँमा छरी
पराइ किन
काखा ?
कैले
कुम ठोकेर
आयौ र खायौ !
कैले ओठ टोकेर आयौ र
खायौ, जे होस् आयौ पलाटी
कसेर खायौ, बाक्लो
कम्मल माथि बसेर
खायौ !
यो, ऊ
सबै मेरो
फलाक्छौ नि बोली !
काट्यो कि त्यही बोली
बोकाइहाल्छौ झोली, कस्को पाइन
अघि तिम्रो खेल्नलाई होली ! चुइक्क
बोल्यो बगाइदिन्छौ रगतकै खोली !
कैले
चर्काएर
आयौ र खायौ !
कैले थर्काएर आयौ
र खायौ ! जे होस् आयौ
पलाटी कसेर खायौ !
बाक्लो कम्मल
माथि बसेर
खायौ !
यता
डाडा, उता
पाखा तल सम्मो
तराई, मीठा मीठा भाषण
दिन्छौ कोही छैन पराइ ! सोझा
साझा सबैलाइ अपाङ्ग
झैँ गराइ, बाठा पनि
बोल्नै गाह्रो तिमै
सँग डराइ!
कैले
जाल फालेर
आयौ र खायौ !
कैले काल फालेर
आयौ र खायौ ! जे होस्
आयौ पलाटी कसेर खायौ !
बाक्लो कम्मल माथि बसेर खायौ !
जोडी
जम्मा तल
माथि आफ्नै स्वार्थी
काम, इतिहास नै लेखे
जस्तो जप्छौ आफ्नै नाम !आफ्नो
भन्छौ, हाम्रो भन्छौ आफैँ ताप्छौ
घाम, कति सस्तो तिम्ले
मात्र कमाउँछौ
नि दाम !
कैले
हाम्रो भनेर
आयौ र खायौ !
कैले कति चाम्रो भनेर
आयौ र खायौ ! जे होस् आयौ
पलाटी कसेर खायौ !
बाक्लो कम्मल
माथि बसेर
खायौ !
न त
दैव, न त
कानून, सधैं दाउ
नै दाउ, वल्ला पल्ला
दोभाषे नि पार्छौ तिम्रै पाउ, देख्यो
कि सुट्केस बोक्ने बोलाइ
बोलाई आऊ, भन्छौ अरे
बारी कान्लो
बाँडीचुँडी
खाऊ!
कैले
पल्ला घर
पसेर आयौ र खायौ !
कैले वल्ला घर बसेर आयौ
र खायौ ! जे होस् आयौ
पलाटी कसेर खायौ!
बाक्लो कम्मल
माथि बसेर
खायौ !
मेलबेर्न, अष्ट्रेलिया



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

