समय !
तिमी अदृश्य तर सर्वशक्तिमान
पानी झैं बग्छौ
तर कहिलेकाहीँ पहाडझैं अडिन्छौ
तिमीलाई म कसरी परिभाषा दिऊँ ?
सपनाहरूको सेतु कि विपद्को आँधी ?
तिमी न त हाम्रो मुठीमा अँचेटिन्छौ
न त आँखाले देख्छौ
तर तिम्रो उपस्थितिले
हामीलाई बाँच्न सिकाउँछ
मानिस भन्छन्,
“समय बलवान् छ ।”

तर यो बल
कसैलाई सूर्यझैँ उज्यालो दिन्छ
कसैलाई आँधी झैं तड्पाउँछ
तिमी कहिले मीठो गीत हो
कहिले आँसुको नदी
कहिले पोल्छौ
सिस्नोका पातले छुँदाझैं
कहिले भुलाउँछौ
बच्चाको मुस्कानझैँ
समयको हात कस्तो होला?
कहिले ममताको सहारा
कहिले निर्दयी जेलर
यसैलाई नै त भन्छन्
समयको खेल
तिमी
कहिले विचारहरूलाई चिसो सिरेटोले
शान्त पार्छौ
कहिले मनको भावना
अग्निझैँ बल्छ
तिमी भोगाइ हौ
कहिलेकाहीँ त सम्झनाका घाउ
तर सोच
समय त हावाको झोक्काजस्तै
कहिले सुक्खा
कहिले मधुर स्पर्श
तिमी कहिले गीतको ताल
कहिले जीवनको जाल
“समय त सुनौलो मौका हो,”
कसैले भन्छन्
तर कति जना समयलाई
समयमै चिन्छन् ?
प्रगतिको सिँढी चढ्न खोज्छन्
तर बीचमै लड्छन्
समय त पर्खदैन
यो त कहिल्यै नरोकिने नदी
समयले कहिलेकाहीँ
गहिरो चोट दिन्छ
जसलाई सम्झिँदा
आँखामा आँशू भरिन्छ
तर
यही समयले नै
चोटहरूलाई चन्दनझैँ मलम लगाउँछ
समयलाई दोष दिनु सजिलो छ
तर बुझ्न कठिन
तिमी, समय
जीवनको दर्पण हौ
तिमीबिना
यो यात्रा अधुरो छ
तर म भन्छु
समय त अनमोल गुरु हो
जसले हरेक चोटसँग
पाठ दिन्छ
जसले हरेक आँशूमा
सपना रोप्छ
जसले हरेक पराजयमा
विजयको बीउ छर्दछ
समय, तिमीलाई पक्रन खोज्नु
बतासलाई समाउन खोज्नुझैँ हो
तर तिम्रो स्पर्श
जीवनको कथा लेख्छ

यसैले
समयको सम्मान गर
यसलाई साथी बनाऊ
किनकि समय
जीवनको धड्कन हो।