
नलम्किऊन् भन्छु रङ्गीन हातहरू मतिर
नथापूँ भन्छु रङका लागि पछ्यौरी
रङ्हरूले भिज्न मन छैन मलाई
ए उत्सवहरू, माफ गर मलाई
म तिम्रो इन्द्रेनीमा रमाउन सक्दिनँ
के जुनेलीले बाहिरी रङ माग गर्छ र ?
के घामले रङ्गिने सपना देख्छ र ?
बहन्छ नदी निरन्तर तर
कहिल्यै उसले रङसित घुलिन खोज्छ र ?
दुबोले रङ मागेको मैले देखेको छैन
फूलले रङ पुगेन भनेको छैन
मान्छेले किन थरीथरीका रङ रोज्छ ?
मानिस किन रङ दल्नमा मस्त छ ?
किन ऊ रङ बदल्नमा मस्त छ ?
कहिले ऊ रङ दलेर बदलिन्छ
कहिले ऊ रङ बदलेर फेरिन्छ
मलाई भने मेरै रङ काफी छ
मुटुमा सङ्लिएको आफ्नैपन काफी छ ।
सन्धिखर्क



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
