राखे सुन्दर सोच त्यो हृदयमा देखिन्छ जे सुन्दर
आँटे हिम्मत एक कर्मठ बनी बन्दैन त्यो के छ र ?
राखी सुन्दर भाव इज्जत गरे पाइन्छ आफैँ पुन :
हार्लान् दम्भ घमण्डले भुवनमा हार्दैन सच्चा गुण

कोही देख्छ विपन्नता अझ जतै हार्दिन्छ आफैँ अनि
झुप्रो त्यो घरमै रहे पनि कतै सन्तोषले छन् धनी
मिल्ला के सुख त्यो कुकर्म मनले सन्चेर कालो धन
सत्कर्मी मनले सधैं जुटिरहे हो स्वर्ग आफ्नै मन

पायौँ जे वरदान हुन् प्रकृतिका छन् हात पाउसँगै
रोप्दा दिन्छ अनाज त्यो जमिनले खोस्रेर माटो कतै
बन्छन् सुन्दर कोइली र पुतली बोकेर आफ्नै पन
छुट्टै मौलिकता फुलाउन सके हो स्वर्ग आफ्नै मन

ढुङ्गा पाउँछ लात लाख जनको चिन्दैन मान्छे अघि
बन्छन् ईश्वर देवता अनि नयाँ आकार पाएपछि
केही हुन्न भनेर हुन्छ अब के गर्दा सधैँ गन्गन
बाँडे ज्योति अथाह यो भुवनमा हो स्वर्ग आफ्नै मन

सच्चा शिक्षक चिन्छ बालख सबै हेरेर भिन्नै कला
कोही पाउँछ लाख दर्शक अहो घोटेर आफ्नै गला
सोचेका सब नै हुने भुवनमा को पूर्णप छन् लौ भन
पायौँ जे त्यसमै रमाउन सके हो स्वर्ग आफ्नै मन ।

माई नगरपालिका, इलाम