प्रेम—
मृदुलता मात्र होइन,
कहिलेकाहीँ कठोरता पनि हो…

एक अन्तरविरोध, एक आकर्षण;
एक व्यवहार, एक लालित्यता;
एक चिडचिडाहट, एक झनझनाहट—
दूरी र निकटताको सन्तुलन पनि हो प्रेम।

डाक्टर मेरिना —
एक मनोचिकित्सक।
पश्चिमा विज्ञानको साधनामा समर्पित,
तर उनको मस्तिष्कमा
पूर्वीय ज्ञानको सितार गुन्जिन्थ्यो।

एकदिन, हठात् सोधिन्—
“के बूढीसँग कहिल्यै झगडा पर्छ?”

“हो, कहिलेकाहीँ पर्छ;
विवाद हुन्छ, असमझदारी हुन्छ,
किनकि हामी एकअर्कालाई माया गर्छौं।”

उनका आँखामा
गाम्भीर्यका रेखाहरू छचल्किए—

“ती जोडीहरू सधैँ सुखी हुन्छन्,
जसको सम्बन्धमा उतारचढाव हुन्छ;
प्रेम— गति हो,
अनेकौँ संगीतहरूको अनुगुञ्जन हो।”

“जीवनसाथी त्यस्तो होस् —
स्वच्छन्द चङ्गालाई नियन्त्रण गर्ने
लट्टाई र धागो जस्तै होस्।
अलिकति शास्त्रीय धारा,
अलिकति परम्पराको गोरेटो
अलिकति आधुनिक उदात्तता,
अलिकति अभिभावकत्व,
अलिकति अपनत्व,
अर्धाङ्गको सौम्य स्वामित्व—
जसले प्रेमलाई साँच्चिकै प्रेम बनाओस्।”

उनी चाहन्थिन् —
श्रीमान् हल्का हक्की होऊन्,
कमसेकम…
गल्ती हुँदा बेवास्ता नगरून्।

तर ठीक विपरीत —
उनी उदार थिए, शान्त थिए।
मेरिना सोच्थिन् —
उनी संगीतको झंकारबाट वञ्चित थिइन्…

शायद उनी ठीकै सोच्थिन्।

म जे गर्छु —
चुपचाप हेरिरहनु,
मौन बसेर समर्थन जनाउनु,
राति अबेर घर फर्किँदा
खुरूक्क उठेर ढोका खोलिदिनु,
उपेक्षाको घुड्को निल्दै
मुसुक्क मुस्कुराउँदै स्वागत गर्नु,
वा केही नभनी लुरूक्क सेवा पस्किनु…

यी त प्रेमका अभिनय मात्र हुन्।

प्रेम जिउँदो हुन्
कहिलेकाहीँ
आङ जिरिङ्ग हुने कम्पन हुनुपर्छ;
शून्यताको जडता चिर्दै
हल्का हलचल मच्चिनुपर्छ।

मौनताको बगैँचामा
एक सर्को बतास चल्नुपर्छ —
जसले
प्रेममा जमेको धुलो उडाइदेओस्,
गुनासाका गाँठा खोल्दै—
मनको कलुष सबै बगाइदेओस्।

“म तिमीलाई माया गर्छु” भनेर
पटक–पटक प्रमाण दिनु…
“तिमी मलाई मन पराउँछौ?” भनेर
पल–पल कसम खोज्नु —
यो त झन् प्रेम होइन,
तौलिने तराजु हो —
जहाँ अपेक्षाको वजन नापिन्छ।

प्रेम जिउँदो हुन
हृदय धड्कनै पर्छ।

यदि प्रेमको प्राङ्गणमा
सधैँ रिक्तताको बास हुन्छ भने,
प्रेमको मोहल्लामा
होहल्लालाई स्थान छैन भने —
त्यसको अर्थ हो —
प्रेमको अवशान।

यदि गल्तीले कहिल्यै
तिमीलाई चोट पुर्‍याएँ भने,
मौन नबस—
मलाई झकझक्याइदेऊ।

मौनता प्रेम होइन —
उपेक्षाको कर्कश स्वर हो।

मेरो गल्तीमा मसँग ठुस्किँदै,
रुँदै, कराउँदै, भावना पोख्दै,
मनको कस मस्काउँदै,
अन्ततः माफी दिँदै
मलाई अँगालोमा बाँध्छ्यौ भने —

त्यही त हो साँचो प्रेम!

प्रेम सधैँ एकनास हुँदैन।
कहिलेकाहीँ तुफान बन्छ,
बतास बहन्छ, झरी बर्सन्छ —
तर त्यसैमा छ जीवन्तता,
त्यसैमा छ स्पन्दन,
र छ — नित्य नवीनता।

प्रेम भन्नु नै —
प्रतिवाद पछिको संवाद,
द्वन्द्वपछिको सम्झौता हो।
डाक्टर मेरिना वास्तवमा ठीकै सोच्थिन्।