मोटर साइकल किन्देऊ बा
देशमा बस्नु छ भने
देशमा बसेपछि पार्टीमा नलागी हुँदैन
पार्टीको कार्यक्रममा हिँड्न मोटर साइकल चाहियो
बैंक ब्यालेन्स राखिदेऊ बा
सधैं पार्टीको मोटर साइकल रेली हुँदैन
रेली नहुँदा पेट्रोल हाल्नु पर्यो
महँगा टाइसुट किनिदेऊ बा
देशमा बस्नु छ भने
झुत्रेझाम्रे हुँदा त पार्टीले सदस्यता पनि दिन्नँ
च्यात्तिएका जुत्ता लगाउने समय गए बा
मोटर साकल अनुसारको जुत्ता चाहियो
नपत्याए हेर
देशका मन्त्री, प्रधानमन्त्री पहिला कस्ता जुत्रे झाम्रे थिए
अहिले कस्ता भए
झूटो बोल्न सिकाऊ बा
देशमा बस्नु छ भने
नत्र त बोलेर थला पारिदिन्छन्
नपत्याए हेर्नु त झूट बोल्ने संसद् भवनमा छन्
विरोध गर्नेहरू कानूनी लडाइँमा
बा तिमीजस्तै सरल नबनाऊ
त्यस्तो बनायौ भने
महँगी, भ्रष्टाचारमा दबेर सडकमा बस्ने हो
होइन भने लाखौँ तिरेर खाडीतिर उड्ने हो
बा तिमी आफैँ रोज कस्तो बनाउने
विदेशी जहाजमा उडाउने कि ?
मैले भनेका कुरा दिएर मेरो घरबार
देशमै बसाउने।