
यो साँझको बेला आज फेरि
मैले नबोलाई तिम्रो याद
ढकढक ढोका ढक्ढकाएर
सुटुक्क छिर्यो मेरो कोठाभित्र
बिम्बमा उस्तै थियौ तिमी
रानीचरीझैं रातो कुर्तामा
सर्लक्क लहराझैँ लामॊ केश-राशीमा
मृगको झैँ सुन्दर आँखामा
टिकीजस्तै कालो कोठी दाहिने गालामा
दुरुस्त देखें, सबै उस्तै
जस्तो देखेथें तिमीलाई
हाम्रो अन्तिम भेटमा
समय पानी भएर खोलामा
कति बगिसक्यो कति
घाम ढल्किसक्यो पश्चिममा
क्षितिज धमिलिइसक्यो आँखामा
तर
तिम्रो यादले मसित कुनै उमेर बोकेन
तिम्रो यादले मसित कुनै नवीकरण मागेन
खबर नपठाउनू
तिम्रो याद जहिले आए पनि हुन्छ
म कोठामा छैन भने
बस्दै गरे हुन्छ
तिम्रो जन्मदिन नपर्खनू
मेरो जन्मदिन नकुर्नू
तिम्रो याद क्यालेन्डर नहेरी आए हुन्छ
यो साँझको बेला आज फेरि
मैले नबोलाई तिम्रो याद
ढकढक ढोका ढक्ढकाएर
सुटुक्क छिर्यो मेरो कोठाभित्र ।
बेलायत



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
