उद्भवकालदेखि
युगयुगान्तरको चरणचरणमा
धर्तीको काखमा भौँतारिँदैभौँतारिँदै
वनफल, कन्दफल र शिकार खोजेर
जीवन निर्वाह गर्ने
घुमन्ते-फिरन्ते आदिम मान्छे-जातिको थियो
वनजङ्गल नै संसार
जस्तो अन्य जीवजन्तुको थियो-
आश्रय, आहारा र जिउने आधार

मानव चेतनाले उच्चतम् फड्को मारिरहेको;
विज्ञान, प्रविधि र विकासले
कल्पनातीत् शिखर चुमिरहेको;
अनि जीवनको अस्तित्व र मानवबस्तीको विकल्प
नभोमण्डलमा खोजी भइरहेको युग हो भन्दैमा
कसरी गर्व गर्नु ?
जबकि
वनमै आश्रित र निर्भर छ- मानव-जातिको ठूलो हिस्सा
वनबासमै छन् बाहिर रमाउनै नसक्ने राउटे र वनकरियाहरू
जसरी रमाउन सक्दैनन् वनबाहिर वन्यजीवहरू
एकाङ्गी दृष्टिदोष भएकाहरूको लागि
काठदाउराको स्रोत मात्र हुन सक्छ वन
साँच्चिकै बुझ्नेहरूको लागि
बहुआयामिक छन् वनका आयामहरू
तसर्थ वन-
मूल पारिस्थितिकी हो विविध पारिस्थितिकीहरूको
जीवन्त सम्बन्ध हो सृष्टिका अवयवहरूको
अत्याज्य सहारा हो जीवन र जगतको
जीवनशक्ति हो जिवात्माहरूको
जैविक कारखाना हो-
निशुल्क प्राणवायु उत्पादन गर्ने
र कार्बनडाइअक्साइड शोषण गर्ने
भण्डार हो जैविक पिण्डको
तपोवन हो जाग्रत् चेतको-
जसको शितल छायामा
सिद्धार्थहरू बुद्धमा रुपान्तरण हुन सक्छन्
उद्गमस्थल हो सम्यक सोचबिचारको-
जसको पवित्र काखमा-
ऋषिमुनि, सर्जक र दार्शनिकहरू सिद्धपुरुष बन्न सक्छन्
तपोभूमि हो आत्मिक शान्तिको-
जसको सामिप्यतामा अलौकिक आनन्द प्राप्त हुन सक्छ
खानी हो प्रकृतिका अमूल्य रत्नहरूको-
जहाँबाट जैविक र अजैविक आभूषणहरू पैदा हुन सक्छन्
साझा घर हो प्रकृतिका अनुपम रचनाहरूको-
जहाँ असंख्य जीवहरू जीवनपर्यन्त रमाएर जिउन सक्छन्
त्यति मात्र कहाँ हो र ?
वास्तवमा वन-
सुरम्य बान्की हो जैविक विविधताको
साङ्गितिक सरगम हो प्रकृतिको
विम्ब प्रतिबिम्व हो-
अनुपम दृष्य र बिषम आकृतिहरूको
रङ्गीन छटा हो अवनीतलको
पॅूज हो अगणित गूढ रहस्यहरूको
दर्पण हो ऋतु परिवर्तनको
देवस्थल हो आस्थाका पुजारीहरूको
मौलिक सुगन्ध हो प्रकृतिको
सुमधुर गुन्जन हो ध्वनि-प्रतिध्वनिहरूको
हरितस्वर्ण हो धनदौलत् मणिमाणिक्यभन्दा अमूल्य
क्रीडास्थल र रङ्गमञ्च हो प्राणीजगतको
जीवन-ऊर्जा हो स्वस्थ तन र मनको
रङ्गीन परिवेश हो प्रणयसूत्रको
गोरेटो हो प्रेमिलयात्राको
अन्तर्क्रिया एवम् अन्तर्रनिर्भरता हो सम्बन्धहरूको
कॅुजी हो जलचक्र र जलप्रवाहको
प्रतिरोधक हो दैवी विपत्तिको
बिचरणस्थल हो उल्लासमय मनोविनोदको
पवित्रस्थल हो साधना र समाधिको
स्रोत हो जडिबुटी र ओखतीमूलोको
आधार हो अन्न उत्पादन र खाद्य सुरक्षाको
बैद्यखाना हो झाँक्री र बैद्यहरूको
आधारभूमि हो मानव सभ्यताको
प्रागैतिहासिकस्थल हो-
अक्षरकला, चित्रकला र प्रस्तरकलाको
पाठशाला हो रणकौशलताको
स्मारक र सङ्ग्रहालय हो-
पौराणिक, धार्मिक सांस्कृतिक र पुरातात्विक धरोहरहरूको
खुल्ला विश्वविद्यालय हो ज्ञान विज्ञानको

झट्ट हेर्दैमा-
गर्भभित्रका सबै कुरा कहॅा थाहा हुन्छ र ?
उस्तै लाग्ने सबै वृक्षहरू श्रीखण्ड कहाँ हुन्छन् र ?
आवरण र रुपको सुन्दरताको मोहनीमा लट्ठिॅदैमा
गुणको आयतन कसरी थाहा हुन्छ र ?
सबै मृग-जातिमा कस्तुरीको बिना कहाँ हुन्छ र ?
किञ्चित् सन्देह छैन-
जीवनको आधार हो वन, वनस्पति र वृक्ष
साँच्चिकै यिनको अस्तित्व नामेट भयो भने
के होला जीवजन्तु र मानव जीवनको अस्तित्व ?
प्रकृतिमा यी सबै मनुष्यविना बाँच्न सक्लान्
तर यी विना के मान्छे-जातिको अस्तित्व रहन सक्ला र ?
अफसोच !
यी सबैको सङ्कट र विनाशको कारक बनेको छ आज यो जाति
हानिरहेको छ आफ्नै खुट्टामा बन्चरो
ताकिरहेको छ आफ्नै शिरमाथि घन
उदेकलाग्दो छ-
वन विनाशको घडीको सुई
रफ्तारमा घुमिरहेको दृष्य
“विनाशकाले विपरीत बुद्धि” भनेझैँ
आँखामा पट्टि बाँधेका स्वार्थीहरू
तल्लीन छन् निर्लज्ज ढंगले वन विनाश र चरम दोहनमा
अझै पनि
आशा मरिसकेको छैन
चेतनाको चक्षु खुलेका सचेत जनहरू
जोडतोडले बढाउँदै छन् संरक्षण र व्यवस्थापनका पाइलाहरू
मनाउँदै छन् राष्ट्रिय अन्तर्राष्ट्रिय वन दिवश
फैल्याइरहेका छन् सचेतना अभियान
बुद्धले भनेझैँ “जब ब्युँझियो तब बिहानी”
जाग्दैछ आशा फेरि एकफेर
कालो बादलमाथि चाँदीको घेरा !

*****