
केही झुण्ड
टपरटुइयाँ स्यालहरू
हुइँया मच्याउँदैछन्
कुर्लदैछन्, उफ्रिदैछन्
बोकेर कथित नायक ब्वाँसाको अस्थिपन्जर
उत्खनन् गरेर चिहानबाट
र
तत्पर छन्, उत्सुक छन्
गर्नलाई अबीरजात्रा र रथारोहण
आफ्ना अधिपति
स्वामी, सर्वस्व
यस्तो लाग्दैछ
भूमण्डल भर
स्थापित भई पो सकेछ कि?
स्यालहरूको साम्राज्य ।१।
तिखारेका आफ्ना दाह्रा र नङ्ग्रालाई
छोपेर छोपाएर नकाव र पञ्जाहरूले
गराउँदै देवत्वकरण
शहरका गल्लीहरूमा
गाउँका चौतारीहरूमा
डाँडापाखा, जंगलदेखि महलका बार्दलीहरूमा
गुञ्जाउँदैछ कर्कश जयजयकारको धुन
र
देखाउँदैछ सत्तामोहको निर्लज्ज नाच ।२।
सुनेको छु
स्यालहरू मृत्यु माग्न शहर पस्छन् रे
अलि बेसी खरानी घस्छन् रे
बाख्राका पिठ्युँ कन्याइदिन्छन् रे
जुम्रा र किर्ना मार्दिएजस्तो गर्छन् रे
र
ओइलाउन लागेपछि घाम
देखिन छाडेपछि पर परका रूखहरू
त्यही बाख्रोको घिँच्रो निमोठेर
मनाउँछन् रे रगतको होली
र महाउत्सवको उत्सर्ग ।३।
कमजोर बनाउँदा दैलो
र
नलगाउँदा गजबार
स्यालहरू गाउँ पस्न सक्छन्
बाख्रा र कुखुराका बथानमा घुस्न सक्छन्
पाडापाडीमाथि वितण्डा मच्चाउन सक्छन्
त्यसैले
होशियार
सबै मुखियाहरू
अब शास्त्र र शस्त्र लिएर उठ्नुपर्छ
एउटै थलोमा एक भई जुट्नु पर्छ
र
लखेट्नु पर्छ स्यालका बथानलाई र कटाउँनु पर्छ डाँडो
कुल्चिएर यिनका कथित नवावको टाउको
मिल्काउनु पर्छ मुर्कुटाको बस्तीमा
ताकि
घरी घरी गुणगानको गीता नगाइरहून् आधुनिक सञ्जयहरू
र
नसुनाइरहून् वीरताको कृत्रिम महाभारत ।४।
तिलोत्तमा, रूपन्देही



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

