
बाढी, पहिरो र भूकम्प गइरहन्छ नेपालमा
थिल्थिलो बनाइरहन्छ
भग्नावशेष
मरुभूमि
र
बगरहरूमा परिणत!
हामीले नदेखेको हो र!
कहिले सक्रिय राजतन्त्रको नाममा
भूकम्प जान्छ
र
स्तन्त्रता र आवाजहरू
खण्डहरमा परिणत हुन्छन्
कहिले जनयुद्धको बाढी पसेर
गाउँ सोत्तर हुन्छ
भका पुल बगाउँछ पहिरोले
बाटा ध्वस्त हुन्छन्
जनयुद्धका बाछिटाले
क्षतविक्षत र
अंगभंग भएर
विकास र सम्बन्धहरू
अस्तव्यस्त हुन्छन्
कहिले जनआन्दोलनका नाममा
रेलिङ भाँच्चिएर
सडक अवरुद्ध हुन्छन्
भूकम्प र बाढीहरू गइरहन्छन्
गणतन्त्रको नाममा नेपालमा!
फेरि भूकम्प र बाढी, पहिरो गएको छ
राजतन्त्र र गणतन्त्रको नाममा नेपालमा
कति जान्छ बाढी, पहिरो र भूकम्प नेपालमा
कहिले के नाममा, कहिले के नाममा
दुई विशाल पहाडहरूको बीचमा
नेपाली जनता, कहिले उता कहिले यता
स्याल‑हुइयाँहरूको बुर्कुसीसँग
बाढी, पहिरो र भूकम्पको चपेटामा
मिच्चिरहनुपर्ने यो कस्तो नियति?!?
क हिले रोकिन्छ यो बाढी, पहिरो र भूकम्प नेपालमा?!?
अब बन्द होस्
बाढी, पहिरो र भूकम्पको निहुँमा
मान्छे तर्साउने यो नाटक!
नजाने कयौं बाढी, पहिरो र भूकम्प गइसक्यो
वाग्मतीमा धेरै पानी बगिसक्यो
र,
धेरै अगाडि पुगिसकियो
अगाडि हेरौं
पछाडि नफर्कौं
लडिन्छ!
जसले जेसुकै भनोस्
म भन्छु,
“लोकतन्त्रको उपचार परिष्कृत लोकतन्त्र नै हो”
नजानु बाढी, पहिरो र भूकम्प गइसक्यो
अब बरू पुनर्संरचना/पुनःनिर्माणमा लागौं
अब पानी रोकिनुपर्छ
बाढी थामिनुपर्छ
आकाश खुल्नुपर्छ
धर्ती हाँस्नुपर्छ!
———————————————————-
अध्यक्ष- अनेसास केन्टकी च्याप्टर
हाल -लुइविल, केन्टकी, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

