
आँखा भरि भरि भो
सम्झिने यो मुटुलाई जति सम्झाए नि अटेरी भो
आज फेरि त्रिशूलीका छालहरू आँखा भरि भरि भो
हिजै लाग्छ, वैशालु छाल छयापी खेलेको
डुब्दो सूर्जेलाई, अँजुलीमा उठाई हेरेको
आज डुबेको घाममा जिन्दगी नै डुबे सरि सरि भो
आज फेरि त्रिशूलीका छालहरू आँखा भरि भरि भो
दामनको हिउँ पनि कुर्दाकुर्दै पग्लियो भर्खरै
वसन्त आई तिम्रो नाम सोधी फर्कियो भर्खरै
बाँकी एउटै शून्य आकास त्यो नि झरी झरी भो
आज फेरि त्रिशूलीका छालहरू आँखा भरि भरि भो ।
वर्षामा रुझूँ कि फूलैको
रहर हुने अर्को भूलको, कस्तो आज भूल भो
वर्षाइ हावामा फूलैफूल, वर्षामा रुझुँ कि फूलैको
अतिथिको आभामा पग्लियो बिरानी
सुनौलो भयो घामले मनको आँगनी
सोचिनँ यति पारिलो हुन्छ, बैँशको पहिलो झुल्को
वर्षाइ हावामा फूलैफूल, वर्षामा रुझुँ कि फूलैको
ओठको लालीले गुनगुनायो केही
कानको झुम्काले फुस्फुसायो केही
यो गुदगुदी, यो काउकुती, कस्को होला झल्को
वर्षाइ हावामा फूलै फूल, वर्षामा रुझुँ कि फूलैको ।
सावन फेरि आई
सावन फेरि आई
बुँद ल्याई
बुँदसँग याद वर्षाई
कुन पानी सावनको
कुन पानी नयनको
नछुटिने गरी मिसाई
सावन फेरि आई
के सल्कियो उता बादल
आगो भो यता ढलपल
कुन धुँआ बादलको
कुन धुँआ गाजलको
नछुटिने गरी मिसाई
सावन फेरि आई
कालो भेषमा त्यो बादल
आउँछ संदेश बोकी शहर
कुन देशको हुलाकी त्यो
लिई आउँछ चिठी त्यो
झोलामा आफ्नो सजाई
सावन फेरि आई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

