
सडक धुलाम्मे छ
तर धुलोभन्दा बाक्लो छ—
क्रोध, अन्योल र बेहोसी।
कसैले नारा लगायो
कसैले आगो बाल्यो
कसैले ढुंगा उचाल्यो
तर कसैलाई थाहा छैन—
किन? केका लागि?
राजा चाहिन्छ रे!
तर कुन राजा?
त्यो, जसका महलभित्र
हाम्रो पसिनाले बनेका भर्या छन्?
कि त्यो, जसको इतिहास
जनताको आवाज कुल्चिने ईंटामा कोरिएको छ?
लोकतन्त्र चाहिन्न रे!
तर किन?
के तिमीले त्यो स्वच्छ शासन देख्यौ
जहाँ नेताहरूले
जनताको मुटु चिर्न छोडेका छन्?
यो देश तिमीहरूको हो
तर तिमीहरू नै यसको भुइँमा
आगो बाल्दैछौ
यो माटोमा रोप्नुपर्ने थियो भविष्य,
तर तिमीहरू यहाँ द्वेषका बीउ छर्दै छौ
के अब पनि बुझ्दैनौ?
देश परिवर्तन न त राजा फर्केर गर्छ
न त कुर्सी फेरेर
यो परिवर्तन तब मात्र आउँछ
जब तिमीहरूले चेतना बोक्छौ
अन्धो भई भीड होइन
बुद्धिले भिजेको नागरिक बन्छौ
अब निर्णय गर
यो देश जलाउने, कि बचाउने?
शिवपुरी-५, नुवाकोट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

