धेरै हाँस्दा पनि ऊ
धेरै रुनु पर्ने गरी
केही हुने हो कि भनेर डराउँछु

धेरै रुँदा पनि ऊ
अब हाँसो
आँशूको पहिरोमा पुरिएर
हराउँछ कि भनेर डराउँछु

हिंड्दै नहिंड्दा ऊ
कहीँ पनि पुग्दैन कि भनेर डराउँछु

जोडले हिंड्दा ऊ
हलुङ्गेरी
हावामा उसैले फुकेका
बबलहरू झैं
ऊ उडिजान्छ कि भनेर डराउँछु

सरासर भान्सामा ल्याउँ
बजारलाई
जीवनको आवरणमा
त्यसले
मन्द मृत्युको समेत
कारोबार गरिरहेको हुन्छ
भन्ने बुझ्दैन कि भनेर डराउँछु

नगराउँ साक्षात्कार
बजारसँग उसलाई
उसको अतृप्त उत्सुकता
अँधेरोमा
डोरिएर जान्छ कि भनेर डराउँछु

धेरै बोल्दा उसले
कसैलाई घोच्ने गरी
मुखबाट
भाला नै फ्याँक्छ कि भनेर डराउँछु

बोल्दै नबोल्दा ऊ
भित्रभित्रै जलेर
आफैँले
आफैँलाई पोल्छ कि भनेर डराउँछु

किताबमा मात्रै
घोप्टे पर्दा ऊ
पेचिलो बन्दै गएको वर्तमान
र नीलिम आकाशको गहिराईमा
कावा खाइरहेका कौवाहरू
हेर्न छुटाउँछ कि भनेर डराउँछु

पढ्दै पढेन भने
वर्तमानमा सादृश्य भएको
बडेमानको
स्वतन्त्रताको हिमालयमुनि
उहिले उहिले
क्रान्तिवीरहरूको रगतको
टेथिस सागर थियो भन्ने
थाहै नपाई मर्छ कि भनेर डराउँछु

धेरै नाच्यो भने
आफन्तले उसको भविष्यको
बेसी नै चिन्ता गर्लान् कि भनेर डराउँछु

नाच्दै नाचेन भने
आफन्तहरु नाच्लान् भनेर डराउँदिन
बरु कोहीकोही आफन्तहरु
टाउको र पुच्छर दुवैतिरबाट
हिंड्ने प्राणी हुन्छन्
भन्ने बुझेन कि भनेर डराउँछु

फेरि
यसरी
डरैडरमा
हुर्काएको छोराछोरी
डराएरै
आततायी दिवारहरूसँग
विद्रोह गर्दैन कि
नवीनतम् दासताको फर्मभित्र
आफ्नै अचेतनाको वजनले थिचिएको
अकालको कालसँग अपरिचित
कुखुरा जस्तो
आफ्नै ऐय्यासीको
दुर्गन्धित विष्टामा लत्पतिएर
कुरुप अस्तित्व बाँच्ने पो हो कि
भनेर पनि डराउँछु

के नडराउन सम्भव छ ?

धनगढी-१४, कैलाली