बाउको बाउले रोपेको वरपीपलको जोडी भन्थे
जो मेरो घर मास्तिरको चौपारोमा छ
बाह्रैमास झ्वाम्म!

सिजन सिजनमा चराहरूको आवतजावत भइरहन्छ
खासगरी वसन्तऋतुमा अझ बेसी
रुख भएपछि
चराहरूको गुँड त भैहाल्ने भइगयो
तर एउटा गुँड केही वर्षदेखि रित्तो छ
विरक्त गुँड
सजिलै अन्दाज गर्न सकिन्छ गुँड किन रित्तै छ
वसन्तऋतुमा नै रित्तो
या त सम्बन्धविच्छेदपछि
या त विछोडपछि
त्यस्तो रित्तै भएको हुनसक्छ गुँडमा
बरा! रित्तो भएपनि गुँड छोडीगए पीपलको अँगालोमा

तिमीलाई थाहा छ ?
प्रेममा यो रित्तो गुँड भनेको याद रहेछ
त्यो पनि वसन्तऋतुमा गुँड रित्तै छ
जो तिमीले मेरो हृदयको कापहरूमा छोडेका थियौ
यस्तै रित्तो गुँड
जहाँ रिक्त याद मात्रै छ
प्रेम छैन
खास अझ वसन्त ऋतुमा पनि हृदयको गुँड रित्तै छ ।