
हरियो कागज
त्यसमाथि पनि कालो, सेतो, रातो
बुट्टा भरिएको
अलिकति कडा, अलिकति नरम
वास्ना झन् छुट्टै किसिमको
सबैको शौक निक्कै
चाहे त्यो बच्चा, वृद्ध र
अपाङ्ग किन नहोस् ?
सबै लालची छन्
सबै भोगी छन्
म त झन् कति कति !
थाहा छैन
पैसो किन सबैको यति प्यारो ?
यो देख्दा लाग्छ–
म पनि एक पटक पैसो बनिदिउँ
तर, मिथ्यामा मात्र सीमित
मलाई पनि पैसो कमाउन
ठूलो धोको छ
किनकि यहाँ
पैसोले नै आफ्नो बिरानो
चिनिदो रहेछ
पैसोकै रूप हेरी नातागोता
जोडिदो रहेछ
आज पश्चाताप गर्दैछु
किन जोडे मैले त्यस्तो नाता ?
जुन नातामा–
बानी, व्यवहार र विचार हेरिँदैन
मात्र हेरिदो रहेछ त पैसो
मात्र हेरिदो रहेछ त धन सम्पत्ति
मात्र हेरिदो रहेछ त–
महङ्गा महङ्गा घर गाडी
मात्र पैसो
म त एक अबोध मानव
मलाई के थाहा ?
साथी बनाउन पनि पैसो चाहिन्छ भनेर
गुन्द्रुक अनि ढिँडो खान पल्किएको मलाई
थाहै भएन त्यो भन्दा पनि
अझ मीठो मीठो खाना खान
पाइन्छ भनेर
तर, पैसो अवरोधी भई जन्मिन्थ्यो
मलाई याद छ
महिनौँसम्म बाबाको च्यात्तिएको कोटको गोजीमा
मात्र पच्चीस पैसोले बास गरेको !
त्यो बीचमा
कति बाधा अडचन आए
कति दुःख वेदना आए
कति कष्टपूर्ण जीवन थियो
कयौँ छाक गुजार्नै गाह्रो
ए ! पैसो
नरूवा न ए ! मेरो आमा र बाबालाई
नरूवा न ए ! मेरी बहिनी र दिदीलाई
बरु जति रुवाउनु छ
जति दुःख दिनु छ मेरा–
आमा, बाबा, दिदी र बहिनीलाई
त्यो भन्दा दश गुणा बढी मलाई रूवा
त्यो भन्दा दश गुणा बढी मलाई दुःख दे
किनकि
आमा बाबाको आँशू
र दिदी बहिनीको चित्कारले
मेरो मन निक्कै भारी हुन्छ
आत्मघात गर्न तम्सिन्छु
तर सक्दिनँ
म भ्रममा रहेछु
मान्छेको पढ्ने, खेल्ने
रमाउने, डुल्ने
सबै जन्मसिद्ध नैसर्गिक अधिकार हुन् भनेर
र त्यहीको जवाफ अहिले पाएँ
मुख्य न्यायाधीश त पैसो पो रहेछ
मलाई चाहिँदैन पैसो
तर पनि कमाउनु छ
किनकि, बाबाको पुरानो धोद्रो
स्टकोट फेर्नु छ
आमाको च्यात्तिएको
चोलीमा टल्ली हाल्नु छ
दिदीको मैलो पटुकीलाई चम्किलो नहुँदासम्म
धुनु छ
बहिनीलाई मीठो मिठाई खुवाई
खुशी पार्नु छ
म पैसोको भोगी हुँ
मलाई आफूले सोचेभन्दा पनि धेरै
पैसो कमाउनु छ
पैसो त्यति होस्
जति पैसो घरमा अटाउँदै नअटाओस्
बाटो, समुद्र, पहाड सबै ढाकिदिओस्
आमा, बाबा र दिदी बहिनीको
सबै चोटमा मलम लगाइदिओस्
अनि म
त्यो सबै खुशीको ज्वालालाई
नजिकैदेखि नियालिरहेको होस्
र मैले मनमनै सोचिरहेको होस्–
वास्तवमा जिन्दगी त
पैसोमा पो रहेछ
०००
आठविस न.पा.-६, दैलेख



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

