एकातिर,
सत्ताका स्थायी दुर्व्यसनीहरूको
कोलाहल
शहर छिचोलेर गाउँ छिरिसकेछ
जनता र देशका “पहरेदारहरू”
भुतभुतेमा परेर पिल्सिएझैं
छटपटाई रहेछन्
तिनीहरूका सत्ता थामी दिएका जनता
यिनै व्याधाहरूको मुतको न्यानोमा
फेरि एकछिन रमाउन नपाउँदै
टुट्छन्, फुट्छन्, चुडिन्छन्
तिनका सपनाहरूको माखे साङ्लो
यिनै अघोरीहरू चुडाउँछन्
र फेरि
जिब्रो फड्कार्दै
आँगन, आँगन
चोक, चोक
मन्दिर, मन्दिर धाउँछन्
सपनाको रङ्गीन संसार उभ्याउँछन्
अनेकन् योजनाहरूका, अनेकन् आश्वासनहरूका
नगराहरू बजाउँछन्, ढोलकहरू पिट्छन्
यिनका प्रहशनहरूमा
फेरि शहर चुक्छ, गाउँ चुक्छ
समाज चुक्छ
भुईँ मान्छेहरू, गरीवहरू, किसानहरू, भूमिहीनहरू
सिमान्तकृतहरू, बौध्दिकहरू, कुलीनहरू
साराका सारा लठ्ठिन्छन्, साराका सारा भुल्छन्
अनि,
आफ्नै तोक आदेशमा
सत्ताको चास्नीमा औंला चोप्नेहरू
अझ
मुख, शरीरै डुबाउने पात्रहरूको
प्रहशनको मूक दर्शक बनेर
ताली बजाउँछन् –
“एकदिनमा पन्ध्र हजारको दरले युवाहरू देश छोडिरहेछन्”,
समाचार आउँछ, हरेक दिन
एक नेता चिच्याउँछन् – झोला ठूलो सिलाउन पर्छ
उत्तर, दक्षिण, पूर्व, पश्चिम सबैतिर थाप्नु पर्छ
सबैतिर माग्नु पर्छ, धक फुकाएर माग्नु पर्छ-
सबै कठपुलतीहरू एकै लयमा ताली ठोक्छन् गडगडाहट गर्छन्
वाही वाही गर्छन्,
एकजना “ठूला” मुखिया भूगोलको अर्को कुनाबाट
शङ्खघोष गर्छन् –
तिम्रा सत्ताका आसनहरूका निम्ति मेरा जनताका रासनहरू
लुटिएका छन्, खबरदार !-
म छट्पटिन्छु आफैँलाई प्रश्न गर्दै –
यो राष्ट्र कहाँ उभिएको छ ?
हामी कहाँ उभिएका छौं ?
अर्कोतिर
सत्ता रापको बिछोडमा छटपटिएका
केही थान कुलीनहरू, अभिजात्यहरू
र तिनका आसेपासेहरूको बेचैनीमा
केही बुख्याचाहरू
“समुन्नत” देश देखिरहेछन्
त्यसैभित्र “एकता” र “राष्ट्रवाद”
घनिभूत भएको लेखिरहेछन्
शायद, त्यही भङ्गालोमा
आफ्ना कर्तुतहरू बगाउने
एकाङ्की मन्त्र जपी रहेछन्
रातो दिन, साँझ बिहान
जनता तिनभित्र छिपेका
भोगका, लालचका प्रहशनहरू देख्दैनन्
बरु तिनमा उज्याला किरणहरू देख्छन्
आशाको महान मूल देख्छन्
सारा मुक्तिका आधारहरू देख्छन्
धर्म, संस्कार, अनि मान प्रतिष्ठाको
“पुनर्आगमन” देख्छन्
तिनका व्यभिचारहरू बिर्सिएर
तिनका आवरणहरूमा स्वच्छताका
आधुनिक त्यागीहरू देख्छन्
क्षणभरमै इतिहासका कुरुप पानाहरू
विस्मृत हुन्छन्
शायद इतिहास
अर्को एक अध्येताको पर्खाइमा
भग्नावशेषमा लीन भएको छ
या समयको दुष्चक्रभित्र विलिन
भएको छ
अनि,
ब्वाँसाहरुको बथानमा
तिनका रजगजहरूमा
फ्याउराहरूको नश्ल मिसिन्छ
र
ब्वाँसाहरू फ्याउरा या फ्याउराहरू
ब्वाँसा बन्छन्
एक अर्कामा घुलित हुन्छन्
अन्तरघुलित हुन्छन्
एउटै रङ, एउटै पहिरनमा
र एउटै चालमा हिँड्छन्
एउटै ढालमा हिँड्छन्
अनि फेरि अर्को एक पटक
देश, जनता र समृध्दि
फेरि अर्को कथा बन्छ
फेरि अर्को व्यथा बन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

