एउटा चिहान छ
जो भर्खरै गादिएको जस्तो आलो माटो छरपस्ट छन्
हतारमा पुरिएको जस्तो, नमिलाइएको
ढुङ्गा र दुई चार थान नबिझाउने काँडाहरू देखिन्छन्

यो आलो चिहान कुनै समुदायको भित्रको हो भनौँ आसपासमा कुनै चिहानका भग्नावशेष छैनन्

कुनै संस्कार परम्परा अनुसारको चिहान भए
आलो चिहानमाथि फहराइरहेको हुनुपर्थ्यो सेतो ध्वजा
त्यो पनि छैन

हुन सक्छ, यो आलो चिहान एउटा कुनै नाबालिगको अनुहार
जो यौनप्यासीले तिर्खा मेट्दामेट्दै सास रोकिएपछि
यतै छोडिदिएर हिँडेको होस्

हुन सक्छ कुनै घनघोर जंगलबीच
सडक किनारमा हिँडिरहेको
एक मजदुर, जो गाडी दुर्घटनाले सास छोडेर
हतारमा गाडिदिएको होवोस् र
बेपत्तै भागेको चालक
र हुन सक्छ, कुनै शिक्षक जो देश पढाउँदा पढाउँदै
अज्ञात समूहको शिकार भएर
यही चिहानमा दबिएको होस्

यो पनि हुनसक्छ कि
एउटा राष्ट्रसेवक कर्मचारी
देशको सेवा गर्दागर्दै पर्यो होला
जहाँ विधिशास्त्र भाँच्न नमान्दा
पर्यो होला कुनै सन्कीको ऐँजेरुमा
र आएको हो कि यो आलो चिहान

कसको होला त्यस्तो चिना नभेटिने गरी
पुरिएको बेखबर अज्ञात चिहान
त्यो देशको नागरिक थियो कि अनागरिक
कुन वर्णको थियो होला
कुन उमेरको थियो होला

उसको कुनै देश छ भने आउला कंकाल खोज्न
कुनै आफ्ना छन् भने आउलान् प्रश्न सोध्न
र सरकार छ भने पाउनेछ न्याय
भेटिएला पहिचान
अनि मुस्कराउनेछ अज्ञात चिहान !

~~~~~~~~~~~~©~~~~~~~~~~~~
रुन्टीगढी ७, रोल्पा