आँगनछेउ हल्लिँदै बस्ने फूलहरू
तिम्रो पाउ छुन आउलान्
स्पर्शमा मलाई सम्झिनू
हरिया पातका अँजुलीले तिम्रा औँलाहरूमा
आँशूजस्तो शीत चढाउन खोज्लान्
मेरो प्रीत सम्झिनू

पातको डिलैडिल बगेर झरी
फूलको अधरमा तप्पतप्प चुहिएला
चुहिरहेको पानीको धुनमा मलाई सम्झिनू
बस मनमनले सम्झिनू
तर ढोका खोल्ने बेला
जोरीपारीले सुन्नेगरी प्रिय भन्दै नबोलाउनू

घर छिरेपछि
कोठाको पूर्वीकुना देउताको मन्दिरमा
शिर झुकाउनू
बत्ती जलाउनू
तर मलाई जल नचढाउनू
मलाई बेठेगान भगवान् नबनाउनू

फगत बत्ती जलाउनू
बत्तीमा दुईवटा सेता बाती थप्नू
थोपाथोपा तेल थप्नू
बत्ती जलिरहे
खरानी बनिरहन्छ
खरानी उडिरहे
सम्झना घरभरि डुलिरहन्छ

तर मलाई बत्तीमा नदेख्नू
तिम्रो मन पोल्न सक्छ
धड्कन बढ्न सक्छ
तिम्रो मन पोल्यो भने
तिम्रो धड्कन बढ्यो भने
तिम्रा आँखा छोएर
मन शीतल पारिदिने ओठ हुनेछैन मसँग
हत्केलामा हत्केला राखेर
धड्कन शान्त पार्ने आकार हुनेछैन मसँग

मलाई
बस बत्तीबाट चुहेको
खरानीमा सम्झिनू
जो तिम्रो स्पर्शले फुर्र आकाशतिर उड्न सकोस्
तिमीले छोएको खुशियालीमा
घरभरिको बास्ना हुन सकोस्
छोराछोरी नातिनातिनाले
कुनै बहानाले छोए
उनीहरूको पैतालामा टाँसिन पाओस्
उनीहरूले टेक्दैटेक्दै घरभरि डुलाऊन्
सम्झनाको खरानी

कोठा छेउ झुन्डिएको
नीलो ओभरकोटमा मलाई नदेख्नू
किनकि मेरो आकार फेरिएको हुनेछ
ओभरकोटसँगैको पहेँलो सर्टले
तिमीलाई दुःखायो भने
तिनलाई लगेर
टिनको अँध्यारो डोनेसन बक्समा खसालिदिनू
जसको आकार रङ फेरि याद नहोस्
अनि
नमीठो सम्झनाको सियोले
तिमीलाई घोच्न नपाओस्

जीवनका
सम्झना
बिर्सना
तर्कना
सपना
जपना
घुस्सा

ठुस्सा
यस्तै त रहेछन् प्रिय
तिमीलाई दुखाएको भए
क्षमा दिनू
मलाई त मैले नै दुखाएको थिएँ
यसैले सधैँका लागि आफैँलाई माफ गरिदिएँ
प्रिय
बत्ती बाल्दै गर्नू
तेल थप्तै गर्नू
बस
सम्भव भए झरेको खरानीमा सम्झिनू

सुनसान रातमा
सम्झना भए
झ्यालको पर्दा खोल्नू र जूनलाई सोध्नू
दिनमा याद भए
नीलो आकाशमा परपरसम्म हेर्नू
साँझमा याद भए
आकाशभित्रै खस्न लागेको घामलाई
यस्सो हात हल्लाइदिनू
अरू केही नभए
समयको अन्तरालमा
तिमीले फेरिरहने सजिलो सासमा
एकपटक
मेरो सास पनि फेरिदिनू
जसले तिम्रो आयु लामो बनाओस्

अनि म नअस्ताउँदै एउटा कुरा भन्छु ल,
गल्तीमा क्षमा पाऊँ है प्रिय ?
रिसानीमा माफ पाऊँ है प्रिय ?