
(६) स्त्रीवादी फ्रिडा
स्त्रीहरूको अनुभवलाई चित्रकलामार्फत अभिव्यक्त गरेकी फ्रिडा सन् १९७० पूर्व धेरैका लागि अपरिचित थिइन्। कलाका इतिहासकारहरू र राजनैतिक-सामाजिक अभियन्ताहरूले उनका चित्रकलालाई दोस्रो विश्वयुद्धपछि पता लगाए । यसपछि मात्र उनी विश्वभरिका कलाकार र स्त्रीवादीहरूका नजरमा परिन्। अमेरिकामा रहेका मेक्सिकाली-अमेरिकीहरूको चिकानौ (Chikaano) आन्दोलनको त उनी प्रतीक नै बनिन् भने उनका चित्रकलाले उनलाई स्त्रीवादीको रूपमा स्थापित गर्यो। जति दुःख पाए पनि जीवनप्रतिको उनको गहिरो मोह र आशाले गर्दा उनी स्त्रीवादीहरू र तेस्रोलिङ्गीहरूका (LGBTQ) आदर्श र प्रतीक बनिन्।
उनका पछिल्ला चित्रहरूमा मेक्सिकाली संस्कृतिका हिस्सा बनेका हिंसा र मृत्युहरू पनि पाइन्छ। मेक्सिकाली लोकगीतका लोकप्रिय स्त्री चरित्रहरूले पनि उनका चित्रहरूमा ठाउँ पाएका छन्। यी चित्रहरूमा ती स्त्री चरित्रहरूका दुःख, दुर्भाग्य र समाजले गरेको उनीहरूको मूल्याङ्कन चित्रित छन्। उनका चित्रहरुमा लैङ्गिकता, लैङ्गिक भेदभाव, स्त्रीत्व, सांस्कृतिक पहिचान, राजनीतिजस्ता विषयहरूले प्रमुखता पाएका छन् । कलाविद्हरू र कला-इतिहासकारहरूले फ़्रिडालाई बीसौँ शताब्दीको एक महत्त्वपूर्ण चित्रकार मानेका छन्।
सन् १९८४ सम्म फ़्रिडा र उनका चित्रहरूले यति ख्याति पाए कि मेक्सिकाली सरकारले उनका चित्रहरूलाई राष्ट्रिय सांस्कृतिक सम्पदा घोषणा गर्यो । त्यसपछि उनका चित्रहरू मेक्सिको बाहिर लैजान प्रतिबन्ध लगायो। उनी र उनका चित्रहरू त पछि कतिसम्म लोकप्रिय भए भने मेक्सिको बाहिर रहेका उनको एउटा चित्र असी लाख अमेरिकी डलरमा बिक्री भयो। उनका चित्रको यस हदको लोकप्रियतालाई फ़्रिडामानिया (Fridaamania) सम्म भनियो। अहिले त फ्रिडा कालौ नामक एउटा फेसन ब्राण्ड पनि उत्तिकै लोकप्रिय बनेको छ ।
प्रस्तुत कविता फ्रिडा र उनका पति डिएगोको सम्बन्ध बिग्रेपछि लेखिएको हो । प्रस्तुत कविता फ्रिडाको उत्कृष्ट कविता हो। सम्भवतः यो एक उत्कृष्ट नारीवादी कविता पनि हो। यो कवितामा उनले आफ्ना पतिप्रति न कुनै आक्रोश पोखेकी छन्, न पुरुषप्रधान समाजप्रति कुनै असन्तुष्टि। उनी न मेक्सिकाली समाजलाई गाली गर्छिन्, न पुरुषहरूको सत्तालाई चुनौती दिन्छिन्। उनी महिला अधिकारको कुरा पनि गर्दिनन्, न महिला मुक्तिको कुरा उठाउँछिन् । उनी आफ्ना पतिलाई कुनै सल्लाह पनि दिन्नन् । उनलाई आफ्नो जिन्दगी मात्र बाँच्नु छ, त्यसैले उनी कविताको अन्त्यमा भन्छिन्, ‘किनकि यदि मैले तिमीसित मागेमा मलाई यिनीहरू कहिल्यै चाहिने छैन ।’ र यसैमा व्यक्त छ स्त्रीको इच्छा, शक्ति, भविष्य । ठूलो नारा, भाषण, चुनौती, सल्लाह नदिएरै उनी सम्बन्धलाई अन्त्य गर्न चाहन्छिन् । उनी तिक्तता बढाएर र विवाद गरेर बहुमूल्य समय लम्ब्याउन चाहन्नन् । उनका लागि अर्को जिन्दगी महत्त्वपूर्ण छ । जुन जिन्दगी अप्रिय रह्यो, त्यसलाई सोच्दै , धिक्कार्दै उनी न पछुताउन चाहन्छिन्, न पुरुषलाई सुध्रिन सल्लाह दिन्छिन्। उनीसित यो सबका लागि समय छैन। उनी अतितलाई कोट्याउन चाहन्नन्। यो कविताको अन्त्यले जोसुकैलाई पनि भित्रबाट शक्तिशाली बनाउँछ।
प्रिय डिएगो,
म तिमीलाई भन्ने छैन कि
मेरो गालामा म्वाइ खाऊ ।
मलाई लागे पनि कि तिमीले गल्ती गरेका छौ
म तिमीलाई क्षमा माग भन्ने छैन ।
जब मलाई तिम्रो अँगालो सबैभन्दा धेरै आवश्यक पर्नेछ
त्यतिबेला पनि मलाई अँगालो हाल भन्ने छैन,
झूटो नै भए पनि
म कति राम्री छु भन
भनेर म तिमीलाई सोध्ने छैन,
न त मेरा लागि केही प्रिय कुराहरू लेख नै भन्नेछु ।
तिम्रा दिनहरू कसरी बित्दैछन् भनेर बताउनलाई
वा म नहुँदा तिमीलाई सुन्ने भयो कि भएन बताउनलाई
मलाई भेट्न आऊ पनि भन्ने छैन ।
मैले तिम्रालागि जे गर्छु
त्यसका लागि मलाई धन्यवाद देऊ भनेर पनि भन्ने छैन,
न त जतिबेला म हतास हुन्छु
त्यतिबेला मेरो सुर्ता गर भन्नेछु,
अझै मुख्य कुरा चाहिँ- म तिमीलाई भन्नेछैन
मैले गर्ने निर्णयहरूमा मलाई सघाउन ।
मसित आफ्नो हजारौँ कथाहरू हुँदाहुँदै तिमीलाई सुनाउन
म तिमीलाई यति पनि भन्ने छैन कि मेरो कुरा सुन,
म तिमीलाई केही गर पनि भन्ने छैन,
न त मसित सधैँ रहू भन्नेछु ।
किनकि यदि मैले तिमीसित मागेमा
मलाई यिनीहरू कहिल्यै चाहिने छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

