पराइको जमीनमा टेकेर
पराइकै रङ्गमा यौवन पोखेर
तिमी भन्छौ देशमा के छ ?
म भन्छु, देशमा सबथोक छ
जहाँ सुनखानीदेखि नूनखानी छ
जसको शिरमा विश्वलाई खिच्ने
हिमालको सुन्दर मुस्कान छ
जसको काखमा संसारकै प्यास मेट्ने
अथाह जलराशी छ
तर विदेशको तातो बगरमा टेकेर
तिमी भन्छौ देशमा के छ ?
म भन्छु देशमा सबथोक छ
जसको छातीमा
जडिबुटीको अनमोल भण्डार छ
जहाँ कलाकृतिको असङ्ख्य खजाना छ
जहाँ प्रकृतिको अनुपम रचना छ
जहाँ पंक्षीहरुको मधुरतम संगीत छ
तर निद्रासँग डलर साटेर
तिमी भन्छौ देशमा के छ ?
म भन्छु देशमा सबथोक छ
ए साथी !
के छैन र यहाँ
देशमा आफ्नोपनको सुवास छ
देशमा आफ्नै ढुक्ढुकी छ
स्वाभिमान र स्वतन्त्रता छ
देशमा ममताको गहिरो सञ्जाल छ
तर पराइको आदेश पर्खेर
तिमी भन्छौ देशमा के छ ?
म भन्छु, देशमा सबथोक छ
शान्तिको प्रकाश छर्ने
महान् आत्मा पनि यहीँ
ध्यानको विशाल गहिराइ यहीँ
ज्ञानको अजस्र स्रोत पनि यहीँ
विज्ञानको वीजवृक्ष पनि यहीँ
तर यान्त्रिकताको कुहिरोमा छोपिएर
तिमी भन्छौ देशमा के छ ?
म भन्छु, देशमा सबथोक छ
वीरताको अग्लो गाथा यहीँ
स्वाभिमानको उचाइ पनि यहीँ
संस्कृतिको अनुपम सुन्दरता यहीँ
धरतीको दिव्य शितलता यहीँ
यी सबै सबैलाई नजरअन्दाज गरेर
तिमी भन्छौ देशमा के छ ?
म भन्छु देशमा सबथोक छ ।