
एउटा प्राणी जन्मिन्छ
प्रकृतिको सुन्दर, कोमल
कोखमा चुनिन्छ
जीवनको भाव लयमा
समाहित हुँदै
दुःखसुख, रात र दिनको
प्रत्येक प्रहरबाट
ब्युँझेर
आफ्नै विगतका
आहट चिहाउँदै
भविष्यको निस्पट्ट अँध्यारोमा
जुनको आगमन खोज्दै
बिताइरहेको हुन्छ पूरै
जीवनचक्र
अस्तिभन्दा हिजो राम्रो
बनाउने चाहना
हिजोभन्दा आज राम्रो गर्ने चाहना
आज भन्दा भोलि अझै
सहज जीवन
बनाउने चाहनामा कतिखेर
आफ्नै उमेरको
सीमारेखा कटेर
लम्किरहेछ मृत्युरेखाको
घेरा नजिकसम्म
अराजकहरूको भिडबाट
निहत्था लखेटिएपछि
पापीहरूको हातबाट
मन्दिरको देवता
पुजिएपछि
अत्याचारी मानिसले
मानव सेवा आश्रम खोलेको देखेपछि
अश्लील नेतृत्वबाट
नियमहरूको
बिजारोपण भएपछि
भ्रष्टाचारीले देशको ढुकुटीकै
साँचो पाएको देखेपछि
निरीह मानव हुलले
इच्छामृत्युको चाहना
राखिरहेका छन्
राष्ट्र र राष्ट्रियताको रक्षक बनेका कर्मचारीले
हर बखत जनताको सेवा
गर्न झन्झट मानेपछि
देश र जनताको रक्षार्थ शपथ
लिएका एक हुल नीलो कोटधारीहरूबाट अराजक गतिविधि देखिएपछि
कलिला बालबालिकालाई
नैतिक शिक्षा र चेतनाको दियो बाल्न
स्कूल खोलेका एक हुल
अराजक संचालक र व्यवस्थापकको
कूटनैतिक चाल देखेपछि
कर्मचारीको रगतबाट आफ्नो संस्थाको
इतिहास लेख्ने
र वर्षौंपछि कर्मचारी नै नालायक बनाई,
पदबाट निकाला गर्ने कुटिल र हिंस्रक निजी संस्थाका
हाकिमले राष्ट्रिय समाजसेवीको
तक्मा धारण गरेको देखेपछि
उक्त देशका निरीह
जनताले आफ्नै इच्छाबाट
इच्छामृत्यु खोजिरहेछन्
विद्यालयको बेथिति
हस्पिटलको अराजकता
सत्ता र सदनको लुकामारी
कुर्सी र नेतृत्वको खिचातानी
धनीले ओढेको संस्कारको आडम्बरी खोल
असभ्यले राखेको सामाजिक मान्यता
रक्त पिपासुहरूले दिएको
आघातपूर्ण यातना गृह देखेपछि,
विवश शहरका
एक हुल मानवहरू
स्व-खुशीले इच्छापत्रमा
हस्ताक्षर संकलन गरिरहेछन्
आफ्नै जैविक अस्तित्वको अन्त्य गर्न ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

