
तिमी जन्मियौ, स्वतन्त्रताको गहना पहिरिएर
नवजीवनको स्वागतमा समयले
तिमीलाई काखमा लिएको थियो
तर पहिलो साससँगै
त्यही समयले तिम्रो यात्राको गणना शुरू गर्यो
“यति दिनकी भयौ, यति महिनाकी भयौ”
अनि वर्षहरूले अंकको जालोमा तिमीलाई बाँध्न थाले
यो समय जसले मुटुको ढुकढुकीलाई पनि
संख्या बनाउन खोज्छ
जसले जीवनलाई स-साना अङ्कहरूमा
कैद गर्न खोज्छ
सानो हुँदा
अंकहरू तिमीलाई सधैँ साथी जस्तो लाग्थ्यो
“तिमी ठूलो देखिन्छ्यौ” भन्ने शब्दहरूले
तिम्रो सानो मनमा गर्वको फूल फुलाउँथ्यो
किनकि ठूलो हुनु भनेको
आफ्नो जीत, आफ्नै महत्त्वको पुष्टिलाई साक्षी बनाउनु थियो
तिमी शक्तिशाली महसूस गर्थ्यौं
विजयको झण्डा आफैँले उडाएको आभास हुन्थ्यो
तर त्यो उमेर तिम्रो मुठ्ठीबाट
एकदिन पत्तै नपाई उड्न थाल्यो
बिस्तारै,
शरीरका हरेक भित्तामा परिवर्तन टाँसिन थाल्यो
तिम्रो स्वर फरक भयो,
तिम्रा नजरमा अनगिन्ती प्रश्नहरूका झिल्का उठ्न थाल्यो
तिमी झनै आफैँलाई मन पराउन थाल्यौ
ऐनाले साक्षी भएर भन्छ
“तिमी सुन्दर छौ,”
“तिमी अद्भुत छौ,”
तिमी संसार जित्न सक्छु भन्ने हुटहुटी लिएर अघि बढ्न थाल्यौ
तर यो कस्तो उमेर ?
जहाँ तिमी यो समय
कहिल्यै सकियोस् भनेर चाहँदैनौ
तर यो समय
सारङ्गीको धुनजस्तै पत्तै नपाई टुटिसकेको हुँदो रहेछ
तिम्रो सोचेभन्दा अघि
समाजले प्रश्नको बाढी ल्याइदिन्छ
“के हासिल गर्यौ ?”
“किन सपना अधुरा छन् ?”
“किन बाटो बिरायौ ?”
यी प्रश्नहरूले तिमीलाई कठघरामा उभ्याउँछन्
समाजका आँखाहरू
न्यायाधीशका काँडा बनेर
तिमीलाई घोच्न थाल्छन्
ऐनामा हेर्दा तिम्रो छालामा
संघर्षका धर्सा कोरिएका हुन्छन्
तर ती धर्साहरू
तिम्रा जीवनका विजयकथा हुन्
संघर्षका नमीठा रंगहरू हुन्
समाजले ती रेखाहरू बुझ्दैन
अनि तिमी ती कुरा
कसरी भनौँ भन्ने उल्झनमा थुनिन्छ्यौ
एक्लोपनले तिमीलाई छोप्न थाल्छ
तिमी छटपटिन्छ्यौ
किनकि तिमी महिला हौ
“किन तिमीले विवाह गरिनौ ?”
“किन बच्चा जन्माइनौ ?”
“यो उमेरमा यस्तो पहिरन किन ?”
समाजको स्वर तिमीलाई हरेक कोणबाट
मुल्याङ्कन गर्न थाल्छ
जसरी शीतले वसन्तलाई रोक्न खोज्छ,
त्यसरी नै परम्पराका चक्रहरूले
तिमीलाई जकड्न खोज्छ
तर के उमेरले सुन्दरताको सीमा कोर्छ ?
के सपना देख्नका लागि
युवावस्थाको जरुरत पर्छ ?
समाजले ठान्छ,
बुढ्यौली भनेको सपनाको अन्त्य हो
आशाका जरा काट्ने समय हो
तर समय त बहने नदी हो
जहाँ पत्करको पातले पनि
वसन्तको गीत गाउन सक्छ
के पत्करले वसन्तलाई हराउन सक्छ ?
के वृद्धावस्थामा
सपनाका बीउ रोप्न रोक लगाइन्छ ?
आजको बालक भोलिको पिता बन्छ
भोलिको पिता पर्सि वृद्ध हुन्छ
यो समयको चक्र
कसैका लागि रोकिँदैन
उमेर त केवल एउटा अंक हो
तर यसको महत्त्व तिमीले
कसरी हेर्छौ भन्नेमा निर्भर गर्छ
तर यो उमेर पनि
कहिलेकाहीँ त आफैँमा अजीब छ
तिमीभन्दा साना तिमीलाई “पुरानो” भन्छन्
तिमीभन्दा ठूला “आलोकाँचो” भन्दै हाँस्छन्
समारोहमा
कसैले सानालाई हेर्छन्
कसैले ठूलालाई
तर तिमी बीचमा उभिन्छ्यौ
समाजको आँखा झेल्दै
तर उमेर त फूल हो
जसले हरेक ऋतुमा
आफ्नो रङ र सुवास बोकेको हुन्छ
यो त समयको संगीत हो
जहाँ हरेक क्षणले
नयाँ आशाको धुन गुञ्जायमान गराउँछ
समाजले भन्ला
“मर्ने बेलामा हरियो काँक्रो ?”
तर समयसँग उमेरको सन्धि छैन
कसैले समय रोक्न सक्छ ?
कसैले सपना छेक्न सक्छ ?
खुसी बटुल, अनुभूतिका रङ सँगाल
उमेरलाई ठूलो बनाउँदै नगइराख
यो त केवल संख्या हो
अनि तिमीले लेख्ने कथा भने
तिम्रो आत्माको उत्साह हो
सपनाको बीउ आज रोप
जसले हरेक ऋतुमा
तिमीलाई हरियाली देओस्
किनकि उमेरको मोल समयको आँखाले गर्दैन
तिम्रो कर्म, तिम्रो सपना, र
तिम्रो दृष्टिकोणले मात्र गर्छ
तसर्थ,
यो कस्तो उमेर भनेर
समाजको प्रश्नलाई थाम्दै
जीवनलाई कविताजस्तै बाँध
किनकि अन्ततः
उमेर त केवल एउटा संख्या हो
तिमी त जीवनको सम्पूर्ण संगीत हौ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

