
बग्दै समयको बहाव
सुसेल्दै सुखका गीत,
ठोक्किदै दुःखका चट्टानहरूसँग
धमिल्याएर कहिले आफ्नै स्वरुप
सङ्लिएर फेरि खुसी मनझैँ
गन्तव्य खोज्दै अनवरत बगिरहने
जीवन एक नदी हो
पीर व्यथाको बादलु च्यादर ओढेर
निन्याउरो, अँध्यारो अनुहारमा
कहिले उत्सव र उल्लासमा उजेलिएको
स्निग्ध, छरिएको चम्किलो प्रकाशमा
जति उडे पनि कल्पनातीत छुन नसकिने
अनन्त, शून्यता
जीवन एक आकाश हो
अनिच्छित अङ्कु्रण भै माटोमा
खेल्दै पौँठेजोरी मौसमी प्रतिकूलतासँग
फुलाउँदै सुगन्धित, रङ्गीन सपनाका फूल
फलाउँदै पुस्तान्तरणको बीज
समेटेर सन्ततिलाई शीतलताको छहारीमा
कहिले झर्दै गरीवीको पतझड नाङ्गो आङ
एकदिन वृद्ध भै लडिजाने
जीवन एक रुख हो
ठिङ्ग उभिएर स्वाभिमानको अडान
छेकिदिएर लेकाली बस्तीमा चिसो सिरेटो
जमेर आफैँ बरु कठोरताको हिउँ
पग्लिएर फेरि करुणाको जलधारा
मेटाउँदै तिर्खा प्यासीहरूको
खेलाउँदै, नचाउँदै बैगुनी मानवलाई आफ्नो छातीमा
आफ्नै अस्तित्व मेटाउँदै
शिरमा टेक्न दिने
जीवन एक हिमाल हो
सिञ्चिएर जमिन बेपर्वाह झरीमा
उमारेर सजीवता पखेरी, समथरमा
हर्षित भएर बिछ्याउँदै हरियाली गलैँचा
एकदिन छाडेर अपनत्वको क्षेत्रफल
बग्दै अत्यासको पहिरो
कहिले उड्दै फुङ्ग धुलाम्मे आँधी
जीवन एक माटो हो
हिँड्दै अप्ठ्यारा उकाली ओराली
काट्दै अनगिन्ती भञ्ज्याङ देउराली
रमाउँदै कथित न्याना साथहरूमा
रुँदै कथित विछोडका आँशुहरूसँगै
बोकेर तीता मीठा अनुभवका झोली तुम्बा
चुपचाप अन्त्यहीन गोरेटोमा अघि बढेको
जीवन एक यात्रा हो
फरक परिवेश, फरक छन् भोगाई
फरक छन् यहाँ हर एकका परिभाषा
आत्तिएर विचलित बाँचिरहेकाको दृष्टि फरक
मात्तिएर अनियन्त्रित नाचिरहेकाको तर्क फरक
जानकार छु
भेटिँदैन जीवनको साझा परिभाषा
तथापि जुटिरहेछु म
एक शोधकार्यमा
आखिर जीवन के हो ?
सिरानचोक गा.पा.–४, गोरखा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

