
तिमी, एक नारी
शक्तिका ससाना फुसफुसाहटसँग जन्मिएकी
रुप, धैर्यता र सहनशीलताको महिमा गरिँदै
तिमीलाई भनेका थिए, “तिमी सुन्दर छौ, सहनशील छौ, देवी समान छौ ।”
जति-जति हुर्किदै गयौ
तिमीले बुझ्दै गयौ
तिम्रो मनले चुपचाप सोध्न थाल्यो
तिम्रो स्वतन्त्रता कहाँ छ ?
कोसँग छ तिम्रो स्वतन्त्रता ?
कसले थामेको छ तिमीलाई बाँध्ने चाबी?
तिम्रा आमाबाबु तिमीलाई रेखदेख गर्छन्
समाजको डरले आँखामा चस्मा लगाएर
यदि तिमीले प्रेम गर्यौ भने,
उनीहरूको इज्जत कहाँ पुग्छ भनी डराउँछन्
तिमी सधैं शर्तमा बाँधिन्छ्यौ,
तिमीलाई बारम्बार पाठ पढाइन्छ—
तिमीले चाल्ने हरेक पाइला घर हल्लाउन सक्छ रे
सानो गल्तीले बाबुआमाको इज्जत डुब्छ रे
तर किन ?
तिमी मनमनै सोध्छ्यौ—
तिम्रो स्वतन्त्रता कहाँ छ?
किन तिमी फुलझैं स्वतन्त्र रूपमा फक्रिन सक्दिनौ?
कसले बाँधेको छ तिम्रो स्वतन्त्रता—समाज, या तिम्रो परिवार?
तिमी हुर्किदै गयौ, युवती भयौ,
तर तिमीले सपनाहरू देख्न नपाउँदै, पखेटा काटियो
तिमीले लगाउने कपडा चरित्रको मुद्दा बन्यो,
तिमीले गर्ने हरेक निर्णय—अदृश्य नजरले हेर्यो
किन तिम्रो स्वतन्त्रता तिम्रो कपडासँगै बाँधिएको छ?
तिम्रो स्वतन्त्रता कहाँ छ?
जब तिम्रा साथीहरू विवाह बन्धनमा बाँधिन्छन्
नयाँ घर बनाउँछन्, आफ्नो जिन्दगी सजाउँछन्
तिमीमा असुरक्षाको घर बन्छ
कसैले केही नबोली तिमीलाई सोध्छ—
“तिमी कहिले बिहे गर्दैछ्यौ?”
“के तिमीले योजना बनायौ?”
तिम्रो परिवारको इज्जत तिम्रो विवाहमा जोडिएको छ
किन तिमीलाई स्वतन्त्र निर्णय गर्न दिइँदैन?
तिम्रो स्वतन्त्रता कहाँ छ?
तिमी प्रेममा पर्छ्यौ,
तर डर सधैं तिमीसँगै हुन्छ
यदि तिमीले प्रेमीलाई गुमायौ भने
के तिमी सजिलै अर्को सम्बन्ध गाँस्न सक्छ्यौ?
तिम्रो इज्जत कसले रक्षा गर्छ?
तिमीमाथि आरोपहरू लाग्छन्
तर त्यो व्यक्ति स्वतन्त्रताका साथ हिँड्छ
उसलाई न त डर छ, न त इज्जतको भारी
किन तिमीले इज्जतको भारी बोकेर आफूलाई थिच्छ्यौ?
तिम्रो स्वतन्त्रता कहाँ छ?
जब तिमी विवाह गर्छ्यौ
असुरक्षा र डर अझै बढ्छ
तिम्रो अतीत तिमीलाई पछ्याउँछ
तिमीले हरेक कुरा देखाउनुपर्छ
तिम्रा हरेक संवाद र सन्देश खोल्नुपर्छ
किन तिमीलाई सधैं प्रमाणित गर्नुपर्ने हुन्छ?
तिम्रो स्वतन्त्रता कहाँ छ?
तिमी जागिर खोज्न जान्छ्यौ
पहिलो प्रश्न आउँछ—“विवाहित कि अविवाहित?”
तिमीले अविवाहित भन्यौ भने, अचम्मको नजरमा हेर्छन्
तिमी जागिर गर्छ्यौ
सहकर्मीहरूको विवाह र प्रेमका रमाइला कथाहरू सुन्छ्यौ
तर तिमी मौन रहन्छ्यौ
किन तिमीलाई निर्णय गर्न दिइँदैन ?
तिम्रो स्वतन्त्रता कहाँ छ?
प्रिय नारी,
तिमी सधैं साङ्लामा बाँधिएकी छौ
तर समय बदलिँदै छ
अब तिमीलाई कसैले रोक्न सक्दैन
सपना देख्न र खुला आकाशमा उड्न
तिमी स्वतन्त्र छौ
तिमीले निर्णय गर्न पाउनु तिम्रो अधिकार हो
तिम्रा सपनाहरू ब्यूँझाऊ
आफ्नो शक्ति बटुल
तिमी कैदी होइनौ
तिमी स्वतन्त्र जन्मेकी हौ
तिम्रो स्वतन्त्रता तिम्रै हातमा छ—
यसलाई गर्वका साथ समात
तिमीले यो संसार जित्न सक्छ्यौ
तिम्रो स्वतन्त्रता तिमीभित्रै छ—
त्यसलाई खोज
तिमी स्वतन्त्र छौ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
