
लार्क्यालहरूले तर मार्दा,
तिर्कीहरू, खै कता?
राम्ररी सुन्दैछौ के त?
अस्ति भेटेको सुनको मालिक
जिउंदै मान्छे पोलेर बनाइएका
ईंटा बोक्दैछ यतै कतै,
नयाँ फेरेका ‘ब्रेक शु’ चेक गर,
सुन पो छ कि कतै!
हरे! सपना पनि कस्ता?
मनको लड्डू घिउसँग खाने,
एकछापे भोट हालेको,
ख्याल भएन, मरी जाने
तै पनि आशा मारेको छैन,
सुन सवैलाई बाँड्ने सुन्दैछु,
मेरो पनि भागमा पर्ला नि,
कनिकुथी हिसाब गुन्दैछु!
अर्को मनले फेरि सोच्छु,
ढिका ढिकै बाँड्छन् कि?
कि भागमा पर्ने ढिका बराबर
सुन कनेक्ट आइपिएस?
गोदामका गोदाम भेटिएको,
सुन पक्कै निक्कै छ,
ठूलैभाग पाउनेमा दुईमत छैन,
मेरो पनि मन ढुक्कै छ!
विद्वान भन्छन्, देश डुब्दैछ,
हैन हैन! केहि भएकै छैन,
आईपिओ खोलेर त हेर,
हामीसंग पैसा कति छ?
शहरको हल्लीखल्ली यस्तै,
भित्री कुरो अर्कै छ,
महिनैपिच्छे नयाँ नाटकहरू,
यहाँ राम-रमिता छ!
‘नै’ नभएको नैतिकता,
‘मा’ नभएको मानवता,
बोकेर हिड्नेहरूसँग,
खोज्दैछौं इमान्दारिता?
भूलभूलैयामा पार्नेहरू
कि पर्नेहरू निरीह?
अत्यासलाग्दा क्षण,
सुन्ने कसले विरह?
सानो बच्चा तोते बोल्छ
‘ईतिंग सुगल? नो पापा’
तर, नढाँटी भन्ने हो भने,
यहाँ सबै सबै नै ईटिंग
सत्य आफ्नो ठाउँमा छ,
सबैले भन्ने चैं ‘नो पापा’,
तैं चुप मैं चुप, यहाँ यस्तै छ,
नाटक सकियो, पर्दा झ्याप्प!
यस्तै अत्यासलाग्दा क्षण,
कसले सुन्ने हाम्रो विरह?
अती भयो हाम्रो निरीहता!
अब त ब्यूँझौं, उठौं, जागौं,
वरिपरि हेरेर, बिचार गरेर,
अनि, आफै गमेर भनौं त,
भूलभूलैयामा पार्ने उनीहरू,
कि पर्ने हामीहरू निरीह?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

