
छिमेकको जंगलमा हात्ती मरेको भेटियो
मरेको हात्ती हेर्न मानिसको भिड लाग्यो
एक-दुईदिन रमिता भयो
फोटो खिच्न तँछाड मछाड भयो
सामाजिक सञ्जालमा तस्विर राखिए
हात्तीको दाँत (दाह्रा) काटिएका रहेछन्
पुच्छरको फुर्को पनि काटेर गायब रहेछ
दाह्रा पुच्छर कसले लगेछन् ?
कसैले भने, कान छेउमा गोली हानेको रहेछ
कसैले भने बिष ख्वाएको होला
होला कि नहोला, तर कसले गर्यो होला?
जे होस् हात्ती मरेको भेटियो
प्रशासनमा खबर पुग्यो
प्रहरी आयो, मरेको हात्तीलाई सुरक्षा दियो
घटनाको विवरण लिइयो, मुचुल्का उठाइयो
देख्ने, जान्ने, सुन्नेहरूको सहिछाप ठोकियो
जेसिबिी आयो, ठुलो खाल्डो खन्यो
मरेको हात्ती खाल्डोमा पुरियो
दाह्रा र पुच्छर काटिएको बिचरा
भीमकाय हात्तीको जिन्दगी सकियो
हात्ती आतंकमा परेकाहरू खुशी भए
हात्तीलाई माया गर्नेहरू रोए
‘दाह्रा र पुच्छर’ व्यापारी भित्रभित्रै रमाए
किनकि, बजारमा नयाँ ‘माल’ भित्रियो
किस्सा खत्तम ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

