
अर्को एउटा केश झर्यो, मृत्यु अझै नजिक सर्यो
उमेरले डाँडै काट्यो, जवानीले सागर तर्यो
जन्म दिने गाउँले बिर्स्यो, कर्म दिने ठाउँले बिर्स्यो
सम्झाउने रुमाल सरी, मुहार भरी चाउरी पर्यो
अर्को एउटा…
फुर्ति त्यागी थकान रोज्यो, नयनले चश्मा खोज्यो
समयले सबथोक हर्यो, जिन्दगीले नाटक गर्यो
अर्को एउटा…
हल्ल्यो दाँत, गल्यो आँत, ननिदाई बित्छन् रात
कदमलाई लौरी साथ नपाउँदा यात्रा टर्यो
अर्को एउटा…
तेल सुक्दै दियो बल्यो, खुसी रोप्दा दुःख फल्यो
जिन्दगीको रङ उड्दा, रहर चरी भुईंमै झर्यो
अर्को एउटा…
बुढेशकालको जन्मदिन, वर्षैपिच्छे आउँछ किन
बिर्सुँ भन्दा सम्झाई मर्यो, यो फेसबुकले गर्नु गर्यो
अर्को एउटा… ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
