
नाम्लो !
मजदुर, किसान, श्रमिक र गरीबवर्गको
परिचय, चिह्नारी अथवा आइडेन्टिटी !
कहिले काँधमा झुण्डिएर
कहिले थाप्लोमा पुगेर
यता उता कामको खोजमा
हिँडिरहन्छ, हिँडिरहन्छ
पुग्छ कहिले कम्मरमा
जमिन किन्ने
हेमानको सपना बोकेर
अनि
कहिलेकाहीँ
कम्मरमा हात लगाएर
पसिनासँग
परिश्रमको मीठो बास्नासित
नजरमा नजर जुधाएर
आँखा चिम्म नगरी
हेरिरहन्छ भित्रभित्रै
घर बनाउने योजना
त्यो उसको ठूलो उद्योगधन्दा
संसारमा सबैभन्दा विशाल पसल
राम्रो र भरपर्दो रेगुलर नोकरी
बर्कत र जवानी रहुन्जेलको
दीर्घम्यादी खेतीकिसान
कहिले कुनै सानो गाडीको
कहिले ठूलो र
कहिले लक्जरी
सौखिन गाडीको पर्खाइमा हुन्छ ऊ-
उसलाई थाहा छ !
आइरहन्छन्
यस्ता सुकिला काँक्राजस्ता भाटक यान
उसका सपना बोकेर
उसलाई सर्लक्कै याद छ
त्यो गाडी किन्नेले
उसको काम गर्न सक्दैन
अनि सके पनि गर्दैन
उसले यही नाम्लाबाट
सुन फलाउँछ, इज्जतको खेती गर्छ
अनि,
यसलाई बनाउने पोया पोयामा
नोटका नयाँ पुराना बिटा उमार्छ
अनि कल्पना गर्छ-
बाबा-आमाका चरचर फुटेका हातगोडा
दबाई किन्ने बिपना
नानीहरूका खाता-किताब ल्याउने योजना
अनि,
मनभरि आशा साँचेर
थकित ठूलो श्वास फेरेर
झल्ल्झली सम्झन्छ
बाबाको शिरको फाटेको टोपी
तुना चुँडिएको खाँडीको दौरा-
सात ठाउँ गाँसिएको
फाटेको सुरूवालको इँजार
कताकता आफूलाई
सानामा खुवाएर ठूलो पारेको बुबु देखिने
आमाको सिलाइ उद्रिएको चौबन्दी चोलो
तुन्दा तुन्दै गुजुल्टो परेको
धेरै वर्ष यसैमा सुतेको
सुतीको साडी
एक भारी माथि
एक भारी तल पु-याएर
खुइय्य्य गर्दै चिया पसलको अगाडि
घुटुक्क चियाको कल्पनामा थुक निल्दै
पर्खिरहन्छ अर्को गाडीको प्रतीक्षामा
फेरि घुम्छन् उसका मिहिन कल्पना-
चिसो ठिहीमा
गाई-बाख्रालाई घाँस काटेर
भकारो सोहोरेर
चरचरी फुटेका
रगत चुहुलान जस्ता
स्वास्नीका हात-गोडा र कुर्कुच्चाहरू
कति वर्ष देखि टाडिएको
अर्द्धाङ्गिनीसँगको सामीप्य
प्राणभन्दा प्यारी जीवनसङ्गिनीसित
बिताएका मधुर पल
किनकि ऊ पनि
मदन जस्तो
मुनालाई
सुनले झरिझुट्ट पारेर
पञ्चमी हाट भर्न जान चाहन्छ
देख्छ ऊ परबाट आएको
हेमानको मालगाडी
हतार हतार फ्याँक्छ
उसको नाम्लो
उसको नाम्लो उसको रिजर्भेसन हो
यसको विरूद्धमा
कोही पनि उठ्न सक्दैन
यसको अहिलेसम्म
डिलिमिटेसन भएको
कम से कम
मानव सभ्यतालाई थाहा छैन
हतार हतार दौडन्छ ऊ
ऊ सँगसँगै दौडन्छन्
उसका छोराछोरीको भविष्य
उसको कर्तव्य, आवश्यकता, दायित्व र जिम्मेवारी
एक छाक दाल,भात र डुकु
उसको यो औजार
टाटा, बिडला, अडानी र अम्बानीका
अनगन्ती कलकारखाना र
उद्योग-धन्दा अनि
जुकरवर्गको विश्वविख्यात
मोबाइल अभियान हो
उसको उद्योग र कलकारखानामा
परिश्रम छ, आत्मसम्मान छ
सन्तोक छ, निश्छल, निस्कपट र
निश्कलङ्क बोकेको
अथक दौडिरहने
दिनचर्या, दैनन्दिनी र समय हो
किनकि यसले
कहिल्यै थाकें भन्दैन
किन कि ऊ नाम्लो हो
परिश्रमी मजदुरको
सम्पूर्ण हो !
गान्तोक, सिक्किम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

