
म
ठेगाना हराएको जङ्गे पिल्लर
पूर्व मेचीदेखि पश्चिम कालीसम्म
उभिएको छु
अडिग भएर हिमालजस्तै
देशको बलियो सीमा रक्षक भएर
वीर भएर, बहादुर भएर
बाढीमा डुबेर, भेलमा तैरिएर
पहिरोले पुरिएर
पूर्खाको वीरत्व रक्षाका लागि
निडर उभिएको
म जङ्गे पिल्लर
म हतियार बिनाको सीमा रक्षक
अपमान भएर
बेकाम भएर
बेवास्ता गरिएको
मानचित्रमा चेपिएको
व्यवहारमा हेपिएको
लत्याइएको, लान्छित गरिएको
कसैको गन्तीमा नपरेको
सुरक्षाले रक्षा नगरेको
प्रत्येक दिन गायब हुने
म जङ्गे पिल्लर हुँ
मलाई कालापानीको आँगनमा
मादल बजाएर नाचेको हेर्ने रहर छ
सुस्ताको चौरमा भेला भएर
बनभोज खाएको हेर्ने रहर छ
लिम्पिया भञ्ज्याङमा लामो श्वास तान्दै
नेपालको झण्डा फर्फराएको हेर्ने रहर छ
म अवाक छु
बन्दुकको घेराभित्र
म दमित छु
बैरीको पञ्जाभित्र
मलाई सुम्सुम्याए देश चलमलाउँछ
मलाई उठाए देश उठ्छ
म सीमारेखाको रक्तनली हुँ
मलाई धमिरा लाग्न नदेउ
मलाई दब्न नदेउ
म पूर्खाको गौरव हुँ
म तिम्रो सम्पदा हुँ
परिचय हुँ
म सिङ्गो देश हुँ
म जङ्गे पिल्लर हुँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

