
टप्प झरेर भुइँमा
बजारिएपछि आँसु
खुब दुखेको थियो मन
र त बर्सिरहे नयनहरू
जिन्दगीको खुसीको अंश नै नबगुन्जेल
दुई दिशामा फर्किँदा
कटक्क भएको थियो मन
अहिले बिना पानीको खेत झैँ
ध्वाजा फाटेर चर्किरहेको छ
वर्षे झरीले सम्म सम्याउन नसक्ने गरी
एक पाइला दुई फर्किँदा नै हो
पूर्व र पश्चिम भएको
र त कहिल्यै भेट भएन
दुई ध्रुव जसरी
अस्तित्व मेटाउनलाई नै गरेको कोसिस
तिमी, तिमी बन्न नसक्नु
म, म नहुनु
दुबै मिल्दा हामी नहनु
हामीको पर्यायवाची शब्द के होला ?
विपरीत शब्द तिमी र म भए जस्तै
के फूलले काँडालाई प्रेम गर्नु पाप हो ?
या काँडाले फूललाई प्रेम गर्नु ?
के आकाशले धर्ती समेट्नु गलत हो ?
वा धर्तीले आकाश ओड्नु ?
यदि गङ्गालाई समुद्रमा मिसिनु हुँदैन भने
खोला एउटै दिशामा किन बग्छ ?
यी सबै गलत होइनन् भने
हामी किन तिमी र म छौँ ?
किन नयनहरू बगिरहे ?
किन चिरा परेको फाँट चिरै रह्यो ?
किन दुई धुव्रीय बनिरह्यौँ ?
तिमी र हामी किन बनिएन ?
स्याङ्जा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

