फुल्दै गरेको फूल ओइलाउँला कि फूलिरहन्छ होला, सुगन्ध छर्दै
नङ्ग गाडेर फक्रन लागेको कोपिला बीचमै झर्ला कि फक्रिएला ?
प्रेम गर्छु तिमीलाई भन्दै, आँसु झार्नेहरू
कति पलसम्म रोलान् ?
घृणा गर्छु तँलाई भन्नेहरू, थुङ्गे फूल लिएर श्रद्धाञ्जलि दिन आउँछन् कि आउँदैनन् ?
फूल बनाउनेहरूले फेरि, कोपिलालाई फुल्न दिने छन् कि छैनन्?
गीत हौ तिमी भन्नेहरूले, कुन गीत गाउँछन् होला ?
प्यास हौ भन्नेहरूलाई, फेरी तिर्खा लाग्ला कि नलाग्ला?
तिर्खा लागे, तिर्खा कुन पीयूषले मेट्लान् ?
कस्तो होला म मरेको दिन ?

हिउँफूल हौ भन्नेहरू, अरूलाई हिउँफूल देख्लान् ?
या
मरुभूमिको आगोको कोइला?
औंशीको जुनेली हौ भन्नेहरूले
जूनकीरी खोज्लान् कि अनायासै औंशीलाई भोग्लान्?
कस्तो होला म मरेको दिन?
धर्ती फाटिएला ?
कि चिरा मात्रै पर्ला?
आकाशले बर्सिन सक्ला?
न्याउली रून्छ कि रुँदैन होला
हावाले दिशा परिवर्तन गर्नेछ या वहन छोड्नेछ र?
नदी कसरी बग्दछ होला ?
घाँम उदाउँछ कि अस्ताउँछ म मरेको दिन?
जूनले एक्लो महसुस गर्ला कि म मरेको दिन,
मलाई काखी च्यापेर राख्ला आफूसँगै छातिमा टाँसेर?
कस्तो होला म मरेको दिन?
*****

स्याङ्जा