
हामी गर्व गर्दछौँ
हाम्रो देश सगरमाथाको देश हो
हामी गर्व साथ भन्छौँ
सीता जन्मेको देश
बुद्ध जन्मेको देश
परशुराम जन्मेको देश
जलस्रोतको धनी देश
प्राकृतिको सुन्दर मनोरम देश
जे जे मा हामी गर्व गर्दछौँ
ती कसैले आफ्नो भन्छ
हाम्रो हकदाबीमा लगतकट्टी गराउन खोज्छ
उसको स्वर ठूलो छ
ऊ जोरले गर्जन सक्छ
उसको बोली बिक्छ
हामी नून माग्न जान्छौँ
नून बेचेको गुन मान्छौँ
हात जोडेर फर्कन्छौँ
ऊ भन्छ
आया ऊँट पहाड के नीचे
पराधीन कहिले पनि भएनौँ भनी
छाती चौडा त गर्छौं
तर यस्तो परिस्थिति देखिन्छ कुनै बेला
शिर निहुराएर
मुख लुकाएर
हिँड्नु पर्ने अवस्था आउँछ
नालापानीको वीरताको कथा
इतिहासका पानामा मात्र रह्यो
हामीसँग कालापानीको निरीहता मात्र छ
हामीसँग सुस्ता मिचेको देखिन्छ
हामी जनकपुरको देश भन्छौँ
ऊ सीता भारतमा जन्मिन् भन्छ
हामी एला र श्यामाको संगममा
परशुरामतीर्थ छ भन्छौँ
ऊ अरुणाञ्चलमा देखाउँछ
हामी बुद्धको देशका भनी भन्दै गर्दा
ऊ कपिलवस्तु आफ्नो सीमाभित्र देखाउँछ
दक्षिणतिर मात्र होइन
उत्तरतिरको पनि त्यही हो
कयौँ ठाउँ बिस्तार बिस्तार आफ्नोमा पार्दैछ
उहिले एक पटक
सगरमाथा मेरो हो भन्न भ्याएको थियो
हाम्रा हरेक सम्पदामा
उत्तर दक्षिणले गिद्धे दृष्टि लगाउँदैछन्
हाम्रो सीमाको चार किल्लामा
अरुकै रजगज छ
हाम्रो भूमिमाथि अरुको सरोकार किन?
कसैले यहाँको पानी हेरेको छ
कसैले यहाँको खानी हेरेको छ
हिमाल, पहाड, तराई ताकेको छ
हाम्रो राष्ट्रियतामाथि धावा बोल्दा
चुप लागेर बस्ने होइन
हाम्रो अस्मितामाथि कसैले प्रहार गर्छ भने
त्यो सह्य हुँदैन
चाहे जस्तोसुकै मूल्य चुकाउन परे पनि
एक मुठी श्वास रहुन्जेल
देशका लागि लडिनेछ
पश्चिम किल्ला काकड़ा र पूर्वको टिष्टासम्म
हाम्रा पुर्खाले जितेको हो भन्न छोड्दैनौँ
हामी कहिले पनि पराधीन भएनौँ
गर्वका साथ भन्छौँ
यो देश राजा जनकको देश हो
यो देश माता सीता जन्मेको देश हो
यो देश शान्तिका अग्रदूत बुद्धको देश हो
यो देश परशुरामजी जन्मेको देश हो
यो देश विश्वको शिर सगरमाथाको देश हो ।
परशुराम १२ डडेल्धुरा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

