
हो, यो युद्ध समाप्त हुनु पर्छ
जीत हारको यो क्षण
बिस्तारै खुशी अनि आनन्दको पर्याय बन्नु पर्छ
तिमीले टोकेको त्यो डाम
अनि तिम्रो त्यो तिखो नंग्राले चिथोरेको
त्यो घाउलाई
भयो बरु आलै छाड
प्राप्तिको होडमा
थिचिनु, लड़िनु कुनै प्रलय होइन
एउटा अविस्मरणीय क्षण
एउटा नितान्त एकान्तलापको क्षण
बन्द कोठाभित्र
ती मेच, झ्याल अनि ढोका मात्र न हो हाम्रो मिलनको
साक्षी
कतै ऐनाले जिस्काए पनि
यो पल, रोकिनु हुन्न
यो गाँसिनु हो, मासिनु होइन
मासु मासुसँग मिसिनु पर्छ
अनि श्वास श्वाससँग
अब यो पल हामीबीच सानो त्यान्द्रो पनि तेर्सिनु हुन्न
छाड ती लाजका स्मरणहरू
मुटुको स्पन्दन बढ्नु पर्छ
सुषुप्त ती चाहहरू
निश्चिन्त, निर्धक्क
बग्नु पर्छ
ओल्टाई पल्टाई
त्यो कुण्ठित मनको गाँठो खोलिनु पर्छ
एकआपसमा मिसिँदै
त्यो अदृस्य परिधि तोडिनु पर्छ
फगत एउटा अनिर्णित युद्ध न हो यो
तिमीले जित या मैले
यो एकान्त अब छिचोलिनु पर्छ
मायाको एउटा बीऊ मौलाउने मौका दिनुपर्छ ।
– – –
सियाटल, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

