
म, मसँग अनि मप्रति
मेरा क्रियाकलाप
मेरो व्यवहार
र मेरो आनीबानी
जे–जे तिमीलाई प्रिय लाग्थे
जे–जे तिमी मन पराउँथ्यौ
जे–जेसँग तिमी आशक्त थियौ
यो धर्ती उही
यो आकाश उही
म उही, तिमी उही
मलाई लाग्छ म उस्तै
तिमीलाई पनि लाग्दो हो तिमी उस्तै
तर खै तिमी कस्तो ?
तिमी फेरियौ वा म नै फेरिएँ ।
बेथा उही, पीडा उही छ
सुनिदिने तिमी छैनौ
कसलाई सुनाउनु छ र
यो मनको पीडा
यो मनको चित्कार
कोही छैन
जसले सुनिदेओस्, बुझिदेओस्
सम्झाइदेओस्, बुझाइदेओस्
मेरा कमजोरीहरूलाई औँल्याइदेओस्
अनि
समाप्त गरिदेओस् म भित्रको कमजोरीलाई
म भित्रको अन्धकारलाई
म भित्रको विद्रोहलाई
तर अहँ तिमी छैनौ
मेरो खुशी छैन
मौलाइरहेछ म भित्रको विद्रोही भावना
मौलाइरहेछ म भित्रको पीडा
चलिरहेछ मन भित्र आँधी
थाहा छैन कहिलेसम्म रहन्छ
थाहा छैन कहिले विस्फोट हुन्छ
वा यत्तिकै विलिन हुन्छ
र विलिन बनाउनेछ
म भित्रको म ।
कञ्चनपुर
(हालः जापान)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

