साँझको बेला उकालो चढ्दा चिरबिर आवाज
सुमधुर आवाज बिगार्ने अहो यो हाम्रो समाज
अनमोल सुन्दर प्रकृति देख्दा भोक तिर्खा बिर्सन्छु
प्रकृतिलाई साथी बनाई रमाउन चाहन्छु

चाहेर मात्रै नहुने रैछ बिग्रेको बाटोमा
सबैको साथले हरित बन्थ्यो प्यारो यो माटोमा
गाडीको धुवाँ उद्योगधन्दा वायुमा प्रदूषण
फोहरले गर्दा गन्धले गर्दा कटक्क खाने मन

भ्रष्टाचारी नै भेटिन्छन् आज असल मानिस खोई ?
अमेरिका र जापान हेरी बस्नुप-या छ रोई
धेरै छन् यता सम्पदाहरू देशलाई सिँगार्ने
पार्टीका धेरै पापिष्ट नेता देशलाई बिगार्ने

फोहोर ढल नफालौँ हाम्रा सुन्दर खोलामा
रुख रोपेर आयु बढाऔैँ यो हाम्रो चोलामा
जहाँ पाए त्यहीँ नफालौँ कुहिने नकुहिने फोहोर
पूरा गरौँ है स्वच्छ नेपाल बनाउने रहर

सबैले जुटाऔँ स्वच्छ नेपाल बनाउन परिश्रम
एकता भए सफा हुने छ हट्ने छ प्रदूषण
सम्पदापूर्ण स्विजरल्यान्ड जस्तै बनाऔँ नेपाल
तराई गर्मी पहाड ठिक्क चिसो छ हिमाल

मिलेर खटौँ नेपाली हामी तीन करोड एक भई
प्रकृति रहे सबथोक बन्छ हुँदैन अन्त गई
नगरौँ अल्छी अब त जागौँ बनाऔँ स्वच्छ देश
नहोऊँ पराइ विदेशमा हराइ बिर्सेर भाषा भेष ।

डियरवाक सिफल स्कुल
काठमाडौँ