‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ७ पुस्तक – प्रा.डा. कपिल लामिछानेको ‘मन्त्रीको मुस्कान’, प्रीति आत्रेय ज्ञवालीको ‘चुटुक्क’, श्रीओम श्रेष्ठ ‘रोदन’को ‘अर्थहीन अर्थहरू’, नारायण मरासिनीको ‘बिहेको निम्तो’, प्रा.डा. विष्णुराज आत्रेयको ‘पतञ्जलि’, राजेश खनालको ‘घुरको धुवाँ’, गोविन्द गिरी प्रेरणाको ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ ।

= = = =

१. मन्त्रीको मुस्कान – प्रा.डा. कपिल लामिछाने

प्राध्यापक तथा कथाकार प्रा.डा. कपिल लामिछानेकृत छैटौँ लघुकथासंग्रह हो – “मन्त्रीको मुस्कान” ।

यसमा ‘पिँजडा, बाघको विजय, ईश्वरको पुनर्जन्म, थाल, फर्सीको झाल, रेस्टुरेन्ट, मन्त्रीको मुस्कान, श्री तीन, हन्तकाली, भर, आँखा, मौनी, सत्यवान्, अर्की सावित्री, आगलागी, मास्क’ लगायत ५४ थान लघुकथा संग्रहित छन् । लामिछानेको मीठो र सरल भाषाशैलीमा लघुकथाहरू देशको, समाजको, राजनीतिको आवाज बन्न पुगेको छ । थोरै शब्दमा खँदिलो बन्न सफल भएको छ उक्त संग्रह ।

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा प्रा.डा. दयाराम श्रेष्ठ लेख्छन्, “कपिल लामिछाने समकालीन राष्ट्रिय परिवेशबाट आभ्यान्तरिक रूपले प्रभावित एक चेतनशील कथा – स्रष्टा हुन् । उनले समाजभित्रका विकृति र विसङ्गतिहरूको यथार्थ अङ्कन गरेर तिनलाई आख्यानीकरण गरेका छन् । यसका साथै उनले केही वर्षअघि देशमा सम्पन्न भएको दशबर्से द्वन्द्वबाट उत्पन्न भएका कारुणिक संवेदना र अनुभूतिहरूलाई पनि आफ्ना कथाको विषय बनाएका छन् । उनी व्यङ्ग्य विधानमा प्रवीण भएकैले उनका लघुकथाहरू प्रभावकारी भएका छन् ।”

पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा डा. पुष्करराज भट्ट लेख्छन्, “नेपाली लघुकथा लेखनका क्षेत्रमा कपिल लामिछाने अग्रणी लेखकको रूपमा मानिन्छन् । – उनका लघुकथामा सामाजिक विषमताको विरोधका साथै राजनीतिक अव्यवस्थाप्रति व्यङ्ग्य गरिएको पाइन्छ । लामिछानेको लेखनमा प्रमुख पक्षका रूपमा निरङ्कुशतन्त्रविरोधी चेतना रहेको छ ।”

लघुकथनमा कपिल लामिछाने उल्लेख गर्छन्, “लघुकथा आख्यानको एक लघुतम भेद हो । यसमा न्यूनतम आख्यान हुन्छ । यो छोटो हुन्छ। छोटो भईकन पनि आफैँमा पूर्ण हुन्छ र यसले पाठकमा विशेष प्रभाव पार्दछ । यसको गति तीव्र हुन्छ । यसमा भनाइ खँदिलो र चोटिलो हुन्छ । पात्र कम। घटना न्यूनतम । कथानक अकस्मात् आरम्भ भई हठात् अन्त्य हुन्छ । यस्तो आख्यान दायाँ बायाँ नलागी सोझै अगाडि बढ्छ र एक्कासि अन्त्य हुन्छ – झिलिक्क बिजुली चम्के जस्तो । यसको आकार परिमित भए पनि प्रभाव अपरिमित हुन्छ । पढेर सक्दा पाठक घोरिन थाल्छ । यी लघुकथा यस्तै भए कि भएनन् । पारखीबाट पारख हुने नै छ ।”

पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । ९७ पृष्ठमा आधारित यस पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।

० ० ० ०

२. चुटुक्क – प्रीति आत्रेय ज्ञवाली

बहुभाषिक कवि प्रीति आत्रेय ज्ञवालीको दोस्रो पुस्तक हो – “चुटुक्क” । उहाँको पहिलो पुस्तक ‘अनुभूतिको इन्द्रेनी’ कवितासंग्रह प्रकाशित छ ।

“चुटुक्क” मुक्तकसंग्रहमा विभिन्न विषय र क्षेत्रका ३ सय ६ थान मुक्तक संग्रहित छन् ।

शुभकामनामा डा. कौशिला रिसाल लेख्छन्, “मुक्तककार प्रीति आत्रेय ज्ञवालीको चुटुक्क मुक्तकसंग्रहमा विषयगत विविधता पाइन्छ । मुक्तकले मानव स्वभाव, सम्बन्ध, मानवीय कमजोरी, नारीको समस्या, मातृत्व, राष्ट्रप्रतिको माया, विदेशी भूमिको बसाइले निम्त्याएको निराशा, आदि भाव सम्प्रेषण गरेका छन् ।”

भूमिकामा डा. सीता सुवेदी पन्थी लेख्छिन्, “जीवनजगत्सँग सम्बन्धित विविध विषयका अतिरिक्त सूक्ष्म दार्शनिक चेतनाका साथ वर्तमानका कुरूप यथार्थहरू पनि मुक्तकमा आएका छन् । सरल र सरस काव्यप्रवाहका माध्यमबाट स्वाभाविक तथा आदर्श प्रीति आत्रेय ज्ञवाली जीवनशैली र सुसभ्य समाज निर्माणका लागि मार्गदर्शन गर्नु कविको प्रमुख विशेषता रहेको देखिन्छ ।”

“प्रीतिले नेपाललाई गुराँस र डाँफेको देश भनेर सगौरव परिचित गराएकी छन् भने सिर्जना चोरी गरेर सर्जक बन्नेहरूलाई समेत व्यङ्ग्यात्मक झटारो हानेकी छन् ।” डा. रेणुका सोलु लेख्छिन्, “शक्तिको आडमा नेपालको न्यायालय बिकेका कुरा, स्वार्थका कारण स्वाभिमानको शिर झुकेका कुरा पनि उनका मुक्तकका विषय बनेर आएका छन् । समग्रमा भन्दा मुक्तककार प्रीतिको मुक्तकहरूमा सरल शब्दचयन र मीठो भाषाशैली प्रयोग भएको हुनाले भुइँमान्छेदेखि विद्वानसमुदाय समेतलाई रसस्वादन गर्न सहज हुनेछ ।”

पुस्तकको बाहिरी पृष्ठमा विजय ध्वज थापा, ‘उहाँको मुक्तकसङ्ग्रहभित्रका मुक्तकहरू सरसरती पढ्दा धेरै जसो यथार्थ चित्रणसहितका चोटिला र चाख लाग्ने खालका छन् । वास्तविक जीवनमा घट्ने घटनादेखि समाजको वास्तविक चित्रण गरिएका छन् । ठाउँ ठाउँमा विकृति र विसङ्गतिप्रति तीखा बाण प्रहार गर्न चुक्नुभएको छैन । यसरी समाज, संस्कृति, भूगोल, परिवेश, नीति, विकृति, जीवनमा आइपर्ने घटना, राजनीति सबैलाई आफ्नो मुक्तकसङ्ग्रहभित्र अटाउन सफल हुनुभएको छ। उहाँका मुक्तकहरू परिपक्व छन् ।’

“यस सङ्ग्रहमा समान, राष्ट्र, मानवीय संवेदना, प्रेम, राजनीति, अध्यात्म, जीवन र जगतलगायतका विविध सन्दर्भलाई प्रस्तुत गरिएको छ । अत्यन्तै सरल ढङ्गबाट सिर्जना गरिएका मुक्तकहरू यस सङ्ग्रहमा स‌ंग्रहित छन् । आफूले बाचेको अनुभव गरेको समान र आफूले भोगेको परिवेशलाई नै स्रष्टाले आफ्ना रचनामा प्रस्तुत गर्ने हो ।” यादव भट्टराई लेख्छन्, “यस सङ्ग्रहमा पनि मुक्तकाष्टा प्रीति आत्रेय ज्ञवालीद्वारा नेपाली समाजमा देखेभोगेका आफ्ना अनुभूति र परिवेशलाई नै सुन्दर ढङ्गबाट अभिव्यक्त गरिएको छ। समाजका विसङ्गति, विकृति र बेथितिहरूमाथि आक्रोश व्यक्त गरिएको छ ।”

मदन प्रसाद नेपालद्वारा प्रकाशित, १ सय २ पृष्ठमा बुनिएको यस पुस्तकको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।

० ० ० ०

३. अर्थहीन अर्थहरू – श्रीओम श्रेष्ठ ‘रोदन’

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’कृत निबन्धसंग्रह हो – “अर्थहीन अर्थहरू” ।

उत्तमशान्ति पुरस्कार २०५५ बाट पुरस्कृत “अर्थहीन अर्थहरू” निबन्धसंग्रहको दोस्रो संस्करण अहिले बजारमा आएको छ ।

१ सय २८ पृष्ठमा मौलाएको यस संग्रहमा ‘ठीक भएकै हो त !’, ‘भनौँ कि नभनौँ’, ‘निम्ताहरूको जुलुस’, ‘रङ्गीन जिजीविषा’, ‘शीर्षकको प्रतीक्षामा’, ‘यो बाहिर निस्कने बेला होइन’, ‘अनभिज्ञ छु अहिलेसम्म’, ‘जे छु ठीकै छु’ लगायत २१ थान निबन्ध समावेश छन् ।

श्रीओम श्रेष्ठ ‘रोदन’ उल्लेख गर्छन्, “अहिले ‘अर्थहीन अर्थहरू’ को दोस्रो संस्करमा त्यही समयमा लेखिएका चारवटा निबन्धहरू थप गरेको छु । पहिलेका केही शीर्षकलाई परिवर्तन गरिएको छ । निबन्धमा प्रयोग भएका पहिलेकै भाषा, शैलीमा कुनै परिमार्जन गरिएको छैन ।”

“श्रीओम श्रेष्ठ ’रोदन’ का निबन्ध निकै खिरिला र भरिला छन् – सरल, सहज, आडम्बरहीन । शब्दका झरिझुट्ट गहना र फोस्रो सिँगार-पटार होइन, प्रकृतिको स्वच्छताजस्तै गाउँको सरलता र मानिसको आत्मीयता छ । नभनेजस्तो भनेर मनग्गे भनिदिने सीप, ससाना कुरा गरेर दुःखको सत्य उप्काउने शैली, आफैभित्र रुमल्लिएर बाहिरको यथार्थ छुने कला, क्यै होइनजस्तो लाग्ने भइकन पनि केके भनिदिएको ध्वनिभित्र कति बिब्लेटाँहरू उम्रन्छन्, विषमताहरू उप्किन्छन्, कटुताहरू धोइन्छन् । ती सबै दुःखाइ, भोगाइ र वर्तमानप्रति नै संवेदित हुन आमन्त्रित गर्छन् ।” भूमिकामा कृष्णचन्द्रसिंह प्रधान लेख्छन्, “स्वच्छन्दतापूर्वक लेखिने आत्मनिष्ठताभित्र निबन्धको यात्राले बेग्लै आनन्द दिन्छ । त्यसकारण नियमभित्र होइन, क्रमिकताभित्र होइन, उठान र टुङ्ग्याइको समरसताभित्र होइन, जे भन्न चाहेका हुन् त्यसको सोझो अर्थ्याइमा पनि होइन, नङ्ग्याइमा पनि होइन- चक्रपथको घुम्ती लाग्यो र केही फन्को मारेर त्यस ठाउँमा पुग्ने प्रयत्न गर्छन् जो यात्राको गन्तव्य हो । अलिकता सङ्केत, अलिकता लाक्षणिकता, अलिअलि बिम्बकीय जलप लागेको आस्वादन तारा जडिएको रातको आकाशझैँ तिखारिन्छ । यताउति पोखिएको कवितात्मक सहजताले मीठो मात्रै होइन, सशक्त र सार्थक तुल्याइदिएको छ ।”

माधवलाल कर्माचार्य लेख्छन्, “यी केही पङ्क्तिमा यस्तै अनुभूतिगम्य अभिव्यञ्जना रहेका छन् – उदाहरण स्वरूप : श्रीओमका निबन्धहरू अलिकति कवितात्मक, अलिकति कथात्मक, अलिकति चिन्तनशील, अलिकति जनजीवनको अनुभूतिको ग्रहणशील, अलिकति प्रेरकशील, अलिकति आफूले ठम्याएको कुरालाई प्रतिस्थापन गर्ने अन्तरअभिलाषा, अलिकति आत्मप्रकाशनशील अनि अलि बढी एकलापको सङ्ग्रह बनेको छ ‘अर्थहीन अर्थहरू’ ।”

प्रा. डा. शैलेन्दुप्रकाश नेपाल लेख्छन्, “सूत्रात्मक कथनका माध्यमले समसामयिकताको स्पर्श गर्नु श्रीओमको निबन्धगत वैशिष्ट्य हो । व्यङ्ग्यात्मकताले उनका निबन्धमा उल्लेख्य स्थान ओगटेको पाइन्छ । उनको विचार प्रवाह भने विश्रृङ्खलित छन् । उनका निबन्ध पढ्दै जाँदा कतैकतै शङ्कर लामिछानेको शैलीको सम्झना हुन्छ ।”

पुस्तकलाई लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले प्रकाशनमा ल्याएको हो र यसको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

० ० ० ०

४. बिहेको निम्तो – नारायण मिरासिनी

कवि तथा कथाकार नारायण मिरासिनीको कथासंग्रह हो – “बिहेको निम्तो” ।

संग्रहमा ‘कमरेडको डायरी’, ‘अनिदो रात’, ‘प्रोफेसर साहेबको कार्यपत्र’, ‘बाटामा भेटिएकी युवती’, ‘प्रोफेसर भीमबहादुर’, ‘कथाकारको कथा’, ‘बिहेको निम्तो’, ‘प्रमुख अतिथिको मूल्य’, ‘समृद्धि’, ‘सूचना’, ‘औँठी बेरुवाको’, ‘फुर्के’, ‘बाँसुरीको धुन’, ‘अध्यक्षको घर’, ‘छोराको कमाइ’ गरी १५ थान कथा समाविष्ट छन् । संग्रहित कथाहरू सामान्यभन्दा फरक छन् । यसमा लेखकले मीठो, सरल र आकर्षित भाषाशैलीद्वारा पात्रहरूलाई जीवन्त तुल्याएका छन् । प्रशंसनीय कथाहरूले पाठकलाई तानी नै रहन्छ ।

“गण्डकी साहित्य सङ्गममा लामो समयदेखि क्रियाशील रहँदै कविता, मुक्तक, खण्डकाव्य र लघुकथा सङ्ग्रह प्रकाशन गरिसकेका मरासिनी यस पटक कथाकारका रूपमा उपस्थित भएका छन् । संग्रहभित्रका कथाहरूले समकालीन नेपाली समाजका आडम्बर, विडम्बना र विसङ्गति अनि राजनीतिमा आएको स्खलन र मूल्यहीनतालाई प्रथम पुरुष दृष्टिबिन्दुका माध्यमद्वारा प्रस्तुत गरिएको छ ।” प्रकाशकीयमा डा. कृष्णराज अधिकारी लेख्छन्, “राजनीतिक-सामाजिक परिवेशलाई आफ्नो जीवन भोगाइको सापेक्षतामा प्रस्तुत गरिएका यी कथाहरूले सामाजिक यथार्थलाई उजागर गर्दै त्यसप्रतिको आलोचनात्मक दृष्टिकोण अघि सारेका छन् । यहाँका कथाहरू पढ्दा कतिपयलाई आफ्नै कथा पढेजस्तो अनुभूति हुन्छ । यसैले यो कथासंग्रहले पाठकहरूको मन जित्न सफल हुनेछ भन्ने हामीलाई लागेको छ ।”

“मैले मेरो परिवेशमा जे देखें, जे भोगें त्यसैलाई कथाको रूप दिएको हूँ । वर्तमानबाट असन्तुष्ट भएकै कारण मैले कथा लेखेको हुँ । वर्तमान तुवाँलो हटेर उज्यालो भविष्य देख्न पाइयोस् भन्ने कामनाका साथ सिर्जित यी कथामा मैले यथासम्भव वर्तमानलाई नै प्रस्तुत गर्दै सुन्दर भविष्य खोज्ने प्रयत्न गरेको छु ।” आफ्नो कुरामा नारायण मरासिनी लेख्छन्, “प्रथम पुरुष दृष्टिविन्दुमा सहज लागेकाले कतिपय कथामा ’म’ पात्रको उपयोग गरेको छु । जतिसक्दो इमानदार बन्न सकूँ र पात्रहरूमाथि न्याय गर्न सकूँ भन्ने कथा लेखनको अभीष्ट हो । म बाँचेका परिवेशमा मानिसहरू कम र अमानिसहरू बढी छन् । यी कथाहरू मार्फत मैले अमानिसहरूको भीडमा मानिस खोज्ने प्रयत्न गरेको छु ।”

पुस्तकलाई गण्डकी साहित्य सङ्गम, पोखराले बजारमा ल्याएको हो । १ सय १४ पृष्ठमा आधारित यसको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

० ० ० ०

५. पतञ्जलि – प्रा.डा. विष्णुराज आत्रेय

संस्कृत-नेपाली-अवधि साहित्यकार प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित उपन्यास हो – “पतञ्जलि” ।

प्रस्तुत खोजपूर्ण उपन्यास १५ भागमा विभाजित छ । २ सय १० मा आबद्ध यस पुस्तकमा महान् व्यक्तित्वहरूको शुभकामना सहित पुस्तकबारे गरिएका समालोचना पनि समाविष्ट छन् । सम्बन्धित तस्बिरहरूको समावेशले पुस्तक आकर्षित हुन पुगेको छ ।

“पतञ्जलि उपन्यास समाजमा अहिलेको प्रचलित अरू प्रेमपरक वा संयोगान्त-वियोगान्त कथा भएका सामाजिक ऐतिहासिक वा पौराणिक शैलीको उपन्यासभन्दा पृथक् धारको उपन्यास हो । यसमा तथ्यहरू दिइएका छन् । पाठकलाई झकझोर पारेर तत्काल उफार्ने आपात रमणीय कथामा भन्दा लेखकको ध्यान पतञ्जलिलाई परिचय दिने पौराणिक र ऐतिहासिक तन्तुतिर तानिन्छ ।” ‘पतञ्जलि उपन्यास – एक ऐतिहासिक आवेदनमा’मा मुकुन्द शर्मा चालिसे लेख्छन्, “पुराणहरूका रहस्यमय तथ्य उधिन्न यो लागिपर्छ । पाठकले धैर्य गर्नुपर्छ । अलि बेर पछि यी तन्तुहरू मिल्दै जान्छन् र कथा झिमरुक नदी झैँ प्रवाहित हुन्छ । प्रसङ्गानुसार यहाँ श्रीराम विश्वामित्र पनि आउँछन्, चन्द्रगुप्तमौर्य पनि आउँछन् साथै सम्राट् अशोक र उनकी पुत्री चारुमती पनि यहीँ देखा पर्छन् । यहीँ बौद्ध आख्यान पनि जोडिन्छन्, उता कश्यप ऋषिका आख्यान यता चिना कुण्डली देखाउने र केराका घरी र दहीका ठेका लिएर विवाहका लागि हिँड्ने नेपाली चलन यही उपन्यासमा पाइन्छ । यहाँ नित्यं वर्धस्व, मुक्तये हरिं भजति, आज्ञा गुरुणामविचारणीया, शुभास्ते पन्थानः सन्तु जस्ता संस्कृत सूक्ति छन् । संस्कृत शब्दका नेपाली रूप आढक्किका- ढकिया, माणिका-मउनी, किञ्जल्किका-किस्ती, मञ्चिका-मचिया, व्यजन-वेना यहीँ पाइन्छन् ।”

“यसमा त मुलुकभित्रै धेरै पहिले देखि रहेका भएका चलेका र परम्परागत रूपमा गुरु शिष्यका माध्यमले चलिआएका संस्कृत वाङ्मयका धेरै विषयवस्तुलाई समेटिएको छ । यति सानो आकार प्रकारको (१४० पृष्ठ) उपन्यासमा चारै वेद (यजु, साम र अथर्व) देखि लिएर वेदाङ्गका रूपमा वर्णित व्याकरण शास्त्र, पूर्वीय दर्शनमा प्रसिद्ध सांख्य दर्शन, योगदर्शन, आयुर्वेद विषयमा प्रसिद्ध चरक संहिता जस्ता ग्रन्थहरूको प्रणयन जस्ता कुरालाई सविस्तार एवं सकारण खुलाइएको छ ।” मेरो बुझाइमा डा. लक्ष्मीकान्त पन्थी लेख्छन्, “शेषनागका रूपमा परिचित पतञ्जलि मुनि आर्यावर्तक्षेत्र भित्र पर्ने यही हाम्रो नेपालभित्र आएर अवतीर्ण हुन्छन् । यसका लागि उनी आफैले आफ्ना बुवाआमा बन्नका लागि योग्य पात्रका रूपमा चरक आत्रेय उनकी श्रीमती बनेकी महिला गोणिकालाई ठम्याउँछन् र उनीहरूलाई छुट्टाछुट्टै पहिले नै दर्शन दिएर सुसूचित गर्छन् । अनि पछि यथासमयमा उनीहरूका घरमा जन्म लिन्छन् । बढेका बालकको समयमा नै संस्कार कर्महरू गरिन्छन् । उनलाई गुरुगृहको विद्याध्ययनका लागि पठाउने काम हुन्छ र उनी अनेक शास्त्र पढेका प्रतिभाशाली विद्वान हुन्छन् ।”

शितगंगा नगरपालिका अर्घाखाँचीद्वारा प्रकाशित यसको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

० ० ० ०

६. घुरको धुवाँ – राजेश खनाल

साहित्यिक पत्रकार तथा रेडियोकर्मी राजेश खनालकृत संस्मरणसंग्रह हो – “घुरको धुवाँ” ।

१ सय ४० पृष्ठमा फैलिएको यस संग्रहमा ‘डिबियाको उज्यालोमा पुस्तक’, ‘सीता बिँडी खाइरहेकी छिन् !’, ‘सुन्दर मामाका सुन्दर स्मृति !’, ‘न्यारोगेज नोस्टाल्जिया !’, ‘तिर्सनामा सुकेको रोटी’, ‘विस्मृतिको गर्तमा छोपिएको स्मृति’, ‘घुरको धुवाँ’, ‘अन्धडको टिकुला’, ‘त्यो शुक्रबारे ’लकडाउन’’, ‘भलुवाहीदेखि भलुवाहीसम्म’, ‘भोरहरवी भजनको शोले सनक’, ‘बाईजी नाचको झट्का’, ‘जन्मभूमिमा अन्तिम शिविर’, ‘तिर्न नसकेको त्यो पाँच रुपैयाँ’, ‘वानर बनेर उफ्रिँदा !’, ‘मुरही कचरीले थकान मार्दा’, ‘साथी हो, आज परोर पाकेको छ !’, ‘कुर्थी दालको बास्ना र साइँला मामा’  १८ थान निबन्ध समावेश छन् ।

“देशको भावनात्मक ऐक्यबद्धताको लागि एक-अर्काको परिस्थिति र संस्कृतिसित परिचय प्राप्त गर्नु, परस्पर अन्तर-सांस्कृतिक सम्बन्ध स्थापित गर्नु र एकअर्काका सांस्कृतिक घटकलाई सम्मान गर्नु आवश्यक छ । नेपालको अखण्डता र भावनात्मक एकतासम्बन्धी चेतनाको संवर्द्धनमा ’घुरको धुवाँ एउटा महत्त्वपूर्ण योगदान हो ।” भूमिकामा डा. राजेन्द्र विमल लेख्छन्, “यस कृतिमा ’पनपियाइ’, ’जुम’, ’डगहर’ जस्ता बग्रेल्ती प्रयुक्त मैथिली शब्दहरूले मधेसको सिङ्गो परिवेशलाई साकार पार्न सहयोग गरेका छन्, मधेसको माटोको सुगन्ध फिंजाएका छन्, नेपाली शब्दकोशमा ती शब्दहरूको प्रविष्टिको प्रच्छन्न प्रस्ताव अगाडि सारेका छन्, नेपाली भाषाको विकासमा नयाँ दृष्टि तथा नौलो आयाम थपेका छन् ।”

“अहो, यो कुरा मैले किन लेखिन हुँला – जुनै प्रसङ्ग पढ्यो, यस्तै लाग्छ । अनि आफैप्रति चुकचुकाउँदै राजेशजीप्रति ईर्ष्यालु हुन्छु । शायद मभित्रको यही भाव लेखकको सबैभन्दा ठूलो प्रभाव र सफलता हो ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा धीरेन्द्र प्रमर्षि लेख्छन्, “संग्रहको प्रमुख वैशिष्ट्य यसको आञ्चलिकता हो । निबन्धहरूमा मिथिला-मधेशको सोच शैली, संवेदनाको सुन्दर समन्वय पाइन्छ । कुनै कुशल लोककलाकारले कोरेजस्तो – अल्हड र आकर्षक । कतिपय लेखकले आफ्ना सृजनालाई व्याप्ति दिन कनी-कनी आञ्चलिक बनाएको पनि देखिन्छ । तर राजेशजीको सृजनाको जग नै आञ्चलिकतामा ठडिएको छ । कृत्रिमताबाट सर्वधा मुक्त- शुद्ध, सात्विक, स्वाभाविक । साँच्चै भन्ने हो भने धेरैजसो मैथिली कृतिहरूमा समेत मिथिलाको जनजीवन र चिन्तनको यो यति गहन स्वत्व र स्वाद पाउन गाह्रो हुन्छ । यस अर्थमा यसलाई नेपाली ढाँचामा लेखिएको मैथिली कृति भन्दा पनि फरक पर्दैन ।”

प्रकाशकीयमा किरण थापा लेख्छन्, “पुस्तकको एउटा खण्डमा लेखकले रामलीला हेरिरहँदा बीचको मध्यान्तरमा मञ्चको पछाडि सीताको भूमिकामा रहेका पात्रले (जो वास्तवमा पुरुष हुन्छन्) बिडी खाइरहेको दृश्य देख्दा अचानक उनको बालसुलभ मन मस्तिष्क आफैंमा चकित र विस्मृत भएको र यसलाई ‘सीता बिँडी खाइरहेकी छिन्’ शीर्षकमा आत्मानुभूति हुने गरी बडो स्वाभाविक रूपमा प्रस्तुत गरेका छन् ।”

पुस्तकलाई कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले प्रकाशनमा ल्याएको हो र यसको मूल्य ३ सय रुपियाँ रहेको छ ।

० ० ० ०

७. बिसौँ शताब्दीको अद्वितीय खेल – गोविन्द गिरी प्रेरणा

नेपाली साहित्यका बहुविधाका वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाकृत आख्यानात्मक कृति हो – “बिसौँ शताब्दीको अद्वितीय खेल” ।

९४ पृष्ठमा बुनिएको ‘बिसौँ शताब्दीको अद्वितीय खेल’मा ‘दन्त्यकथा’, ‘किला’, ‘पुस्तागत’, ‘अन्ततः’, ‘सुधार’, ‘सदामाको कोसेली’, ‘जन्म जन्मान्तर’, ‘न्याय’, ‘माथि’, ‘चरा र मनुष्य’, ‘पुस्तक समीक्षा’, ‘बगरेलाई स्वर्ग’, ‘लकडाउनमा सामूहिक आत्महत्या’, ‘भोक र तिर्खा’, ‘कविताको मौसम’, ‘खल्ती’ लगायत ५० वटा लघुकथा संग्रहित छन् ।

“लघुकथा सिर्जनाको संग्रह पहिलो भए पनि नेपाली लघुकथाको उन्नयनमा उहाँको योगदान चालीसको दशकदेखि नै भएको थियो । वि.सं. २०४२ मा । उहाँले आफ्नो सम्पादनमा ‘नेपाली लघुकथा’ नामक पत्रिकाको प्रकाशन गर्नुभएको थियो । पत्रिकाको प्रकाशन भने चार अङ्क मात्र हुन सकेको थियो ।” प्रकाशकीयमा श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्छन्, “नेपाली समाजमा भएका राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विचलनलाई यस संग्रहका लघुकथाहरूले चित्रण गरेका छन् । समाजमा व्याप्त विकृति र विसङ्गतिमाथि गतिलो व्यङ्ग प्रहार गरिएकाले लघुकथाहरू पाठकको भावना अनुकूलको बन्न सकेको छ । नेपाली लघुकथाको उन्नयनमा यस संग्रहको प्रकाशनले अघिल्लो अङ्कमा सङ्ख्या थप्ने काम मात्र नभएर महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरामा विश्वास गर्न सकिन्छ ।”

“पतिदंश र मुसाज्यूको मृत्युले कसलाई आनन्दको सागरमा डुबुल्की मार्न रोक्न सक्छ ? यी दुवैमा शिष्ट र मर्यादित मानवीय यौनाचारको मिठो स्वाद छ । खोजी गद्यमा कविता (Poem in prose) को शैलीमा लेखिएको दार्शनिक प्रजातिको आख्यान हो । न्याय वर्गद्वन्द्वको राम्रो उदाहरण बनेको छ । र मृत्युबोधमा इषत् विसङ्गतिबोधको छनक छ ।” भूमिकामा डा. दयाराम श्रेष्ठ लेख्छन्, “छ्यासमिसे रङ सङ्गृहीत कतिपय लघुकथाहरूका रूपसज्जा वा आवरण-शैली विविधता पाइनु त कथा, लघुकथा र लामा कथाका स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखाइ-सीपमा पाइन्छ नै; जस्तो रूपकात्मक (Metaphorical) प्रस्तुति मिथकीय रूप स्वैरकल्पनाको चास्नी र अभिधात्मक अभिव्यक्तिका साथै अन्योक्तिमूलक जस्ता सौन्दर्य घटकको सुन्दर प्रदर्शनले गर्दा नै उनका लघुकथाहरू रूपवान् मौनता बन्न सकेको कुरोमा लामो बहस गर्नु आवश्यक छैन । कतैकतै उनले हाम्रै पौरस्त्य वाङ्मयकै कृष्णचरित्रको कथा र स्वस्थानीकथाको प्रविधिलाई आधुनिकीकरण गरेर भिन्न विषय बनाएको प्रसङ्ग साँच्चै नै मज्जाको भएको छ ।”

पुस्तकलाई नेपाल स्रष्टा समाजले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।