
‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रूपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।
यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ७ पुस्तक – माधव काफ्लेको ‘अनागत अन्तरा’, बर्दघाट प्रज्ञा दर्पण, कैलासकुमार पाण्डेयको ‘एकलव्यको देशमा’, डा. हरिकुमार श्रेष्ठको ‘तरङ्ग’, उपमा आचार्यको ‘मातृवन्दना’, सत्र तारा, रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ ।
० ० ० ०
१. अनागत अन्तरा — माधव काफ्ले
उपन्यासकार, निबन्धकार माधव काफ्लेद्वारा लेखिएको गैरआख्यानात्म पुस्तक हो – “अनागत अन्तरा” । ‘लिगलिग कोट’ उहाँको पहिलो निबन्धसंग्रह हो भने ‘अनागत अन्तरा’ चौथो निबन्धसंग्रह हो ।
१ सय ४४ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘म आशा रोप्दैछु’, ‘बन्धन’, ‘डर’, ‘आइसल्यान्डको यात्रा’, ‘मृत मूर्च्छना’, ‘शैली, आकृति र विचार’, ‘स्वर्ग जाने सजिलो बाटो’, ‘उन्मुक्तिको बाटो’ आदि २३ वटा निबन्ध संग्रहित छन् । कहीँकतै अतीतमा हराउँदै कहीँकतै वर्तमानमा रमाउँदै लेखकले आफ्ना निबन्धमा सामाजिक, शैक्षिक, व्यावसायिक, राजनीतिक विषयहरूलाई मीठो र आकर्षित भाषाशैलीमा पस्केका छन् । जीवनसम्बन्धी विचारहरूलाई आफ्ना अनुभूतिद्वारा भावमय ढाँचामा प्रस्तुत गरेका छन् ।
‘फ्रेमको फोटो’ निबन्धमा काफ्ले लेख्छन्, “ रहर, जिज्ञासा र उल्लासमय उडान वयस्कमा मात्र होइन, बुद्ध र बालकमा पनि उत्तिकै हुनुपर्दछ । उडानले गन्तव्यको बाटो देखाउँछ र अलौकिक आकार देखाउँछ । आकारविमुख यात्राहरू सिसिफसका प्रयत्नमा अनुवाद भएका किम्बदन्तीहरू चारैतिर छ्यापछ्याप्ती छन् । कसले कहाँ, किन, कुन उमेरमा के गयो अथवा गर्नुपर्छ भन्ने कटमिरो शिक्षाको निर्देशित सीमा तालिकामा बेरिएर हिँड्नुभन्दा पनि सहज र स्वाभाविक रूपमा गतिशील हुन पाइताला चालिएन भने जीवन निरस, शुष्क र भोगाइ तम्तम्याइलो ऐंठनमा अनुवाद हुँदै जानेछ । त्यस्तो जीवन भित्तामा झुन्ड्याइएको फ्रेमको फोटाजस्तै त हो नि, होइन र ?”
‘कारोबार’ निबन्धमा काफ्ले यसरी मान्छेको वास्तविक प्रवृत्ति उल्लेख गर्छन् जसले पाठकको आँखा रसाउँछ र सचेत पनि गराउँछ, “दुई गाँस चेप्न नपाएर कतिको आँत सुकेको छ । कतिका झुप्रा ढलेका छन् । कतिको आङ च्यातिएको छ । कतिको ढाड खुस्किएको छ । कतिको पिँडौला बटारिएका छन् । कति थल्लिएका छन् । कति थिल्थिलिएका छन् । कतिको उठिबास भएको छ । कतिका सपना सुकेका छन् । कतिको मुख मोसिएको छ । कतिको भाग खोसिएको छ । कतिको गाँस लुटिएको छ । विगत भोगे पनि, वर्तमान र भविष्य नहुनेहरूको आर्तनादले परिवेश थर्किंदै गए पनि सबै मान्छे बेच्नमा नै तल्लीन छन् । मान्छे भजाउनमा नै तल्लीन छन् । मान्छे छक्याउनमा नै तल्लीन छन् र अदनाको आलो रगतले आचमनी गरेर जिजीविषाको वैतरणी तर्न लालायित हुँदै गइरहेका देखिंदैछन् ।’
पुस्तकलाई सुशील स्मृतिगृहले बजारमा ल्याएको हो ।
० ० ० ०
२. बर्दघाट प्रज्ञा दर्पण
बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित वार्षिक मुखपत्र पहिलो अंक हो – “बर्दघाट प्रज्ञा दर्पण” । यसमा बर्दघाट नगरपालिका अन्तर्गतको प्राज्ञिक संस्था बर्दघाट प्रज्ञा प्रतिष्ठानले एक वर्षको अवधिमा भए गरेका विविध गतिविधिहरू समाविष्ट छन् ।
पुस्तकका प्रधान सम्पादक डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ हुन् भने द्वय सम्पादक वामदेव अधिकारी र हुमनाथ आचार्य हुन् । १ सय ७३ पृष्ठमा आबद्ध यस पुस्तकलाई ३ खण्डमा विभाजित गरिएको छ ।
खण्ड – १ मा ३५ थान लेख तथा मुक्तकहरू, खण्ड – २ मा लुम्बिनी प्रदेशस्तरीय २७ थान प्रतियोगी कविता र खण्ड – ३ मा संस्थाको परिचय, संस्थाले गरेका कार्यहरू र तस्बिरहरू समावेश गरिएको छ ।
सम्पादकीयमा लेखिएको छ, “यसमा प्रतिष्ठानको सामान्य चिनारी एकातिर छ भने अर्कातिर विशेषतः महत्त्वपूर्ण केही गोष्ठीहरू, विविध विधा, प्रविधा वा उपविधाका रचनाहरूका साथै लुम्बिनी प्रदेशस्तरीय पूतियोगितात्मक कविगोष्ठीमा प्रतियोगिताका लागि छनोट भएका कविताहरू पनि समाविष्ट छन् । यसरी यो अंक मूलतः साहित्यिक बनेको छ । यसपटक यसको स्तर जे जस्तो भए तापनि हामी आगामी अंकहरूमा यसलाई अझ बढी पाठकीय आवश्यकता र रुचिका सामग्रीहरू समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”
शुभकामनामा शम्भुलाल श्रेष्ठ लेख्छन्, “नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषता रहेको मुलुक भएकाले हाम्रा स्थानीय क्षेत्रमा पनि यसको प्रभाव रहेको छ भन्दा कुनै अत्युक्ति नहोला । यो प्रतिष्ठान हाम्रा समाजमा भएका भाषा, कला, साहित्य, संगीत, संस्कृति, विज्ञान आदि क्षेत्रमा विशिष्टता आर्जन गरेका व्यक्तिहरूको खोज अनुसन्धान तथा प्रवर्द्धनका लागि निरन्तर रूपमा लागिपर्नेछ भन्ने कुरामा विश्वास लिएको छु । स्थानीय निकाय आफैमा स्थानीय सरकार भएकाले आफ्ना क्षेत्र भित्रका विविध महत्त्वका धरोहरहरूको संरक्षण र संवर्द्धन गर्दै यसको प्रचार र प्रसार गर्ने कुरामा बर्दघाट प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन जान्छ ।”
० ० ० ०
३. एकलव्यको देशमा — कैलासकुमार पाण्डेय
‘एकलव्यको देशमा
हरेका दिन काटिन्छ
शिष्यको बूढी औँला’
यो कवितांश शीर्षक र शीर्ष कविता ‘एकलव्यको देशमा’ उल्लेख गरिएको छ ।
कवि कैलाशकुमार पाण्डेयकृत कवितासंग्रह हो — “एकलव्यको देशमा” । यसमा ‘धरहरा’, ‘उहिलेको कुरा’, ‘वन राउत अर्थात् राउटे’, ‘सडकसँगको साइनो’, ‘मैले बिराएँ’, ‘पिङ’, ‘आकामाथि आलेख’, ‘एउटा बाढी’, ‘तिम्रो नजरमा’, ‘पाटनमा उभिएर हेर्दा’, ‘केही हाइकु’, ‘चार मुक्तक’ आदि ७२ थान कविता समावेश छन् ।
आफ्नै कुरामा लेखक लेख्छन्, “समयसँग सबै पराजित हुन्छन् । अर्जुनको युगमा कर्णको धनुविद्या कमजोर रह्यो । सधैँ कर्ण पराजित रहे । अर्जुनकै खातिर एकलव्यको औँला काटिएको थियो । समय जित्नेहरूका लागि मात्र हो । इतिहास विजेताकै लेखिन्छ । तर, प्रतिभा, परिश्रम, पराक्रम पराजितसँग पनि हुन्छ । बलियाको मात्र होइन, निर्धाका कुरा पनि सुनिनुपर्यो । गरिबसँग पनि विचार हुन्छ । मन–मस्तिष्क त सबैसँग हुन्छ । सीमान्त आवाजले समग्रतालाई चिनेको हुन्छ । लेख्दै गर्दा बुनिएका आकाश छुने रहर कल्पनामै छन् । केही शब्दमा उतारेको छु ।”
भूमिकामा डा. नवराज लम्साल लेख्छन्, “कैलाशजीका कविताले वर्तमानलाई पक्रेका छन् र स्थानीयताको रङलाई सुकोमल तरिकाले टपक्क टिपेका छन् । अर्मपर्म, ऐँचोपैँचो र सेउलीपातीका कथा, घरेलु द्वन्द्व र सामाजिक अन्यायका विषय छरपस्ट छन् । समाजका कथालाई कविताको बान्कीमा मज्जाले कस्न खोजेका छन् । कविले टिप्ने समाज नै हो र पढ्ने, बुझ्ने पनि समाज नै हो । समाज, समय र संवेदनाको त्रिवेणीमा इतिहास, भूगोल र संस्कृतिको आकृति देखिएन भने लेख्नु नामको लेख्नुको के अर्थ र ? कवि कैलाश यसतर्फ सचेत देखिन्छन् । यो उनको सुन्दर पक्ष हो ।”
सम्पादन हाउसद्वारा प्रकाशित, १ सय ७८ पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
० ० ० ०
४. तरङ्ग — डा. हरिकुमार श्रेष्ठ
कृषि विज्ञका रूपमा आफ्ना परिचय स्थापित गरिसकेका कवि तथा गजलकार डा. हरिकुमार श्रेष्ठकृत पुस्तक हो – “तरङ्ग” ।
८८ पृष्ठमा बुनिएको यस पुस्तकमा ७४ थान गजल संग्रहित छन् ।
“हालको जर्जर राजनीतिक अवस्था र भ्रष्ट्राचारको जालोबाट उन्मुक्ति पाउनु भनेको फलामको च्युरा चपाउनु जस्तै बनेको छ । यिनी बीउबिजन क्षेत्रमा अब्बल दर्जाकै मानिए तापनि मौकामा बीउबिजनको क्षेत्रमा अध्ययन र अनुभवै नभएकाले चौका हान्दा भने हाम्रो देशको कर्मचारी छनौट प्रक्रियाप्रति सन्तुष्ट छैनन् यिनी ।” सम्पादकीयमा लेखिएको छ, यिनका रुचिमा भ्रमण, प्राकृतिक संरक्षण, पत्रकारिता, कविता लेखन, गजललेखन, नियात्रा लेखन, अनुसन्धानात्मक काम र समाज सेवा पर्दछन् । विभिन्न पत्रिकामा प्रकाशित यिनका सयौं साहित्यिक लेख पाठकप्रिय बनेका पाइन्छ ।”
“…डा. श्रेष्ठका सिर्जना ‘सिकारु’का भन्दा माथि छन् र भविष्यमा ‘उत्कृष्टता’को यात्रामा छन् । यसमा किन पनि ढुक्क हुन सकिन्छ भने डा. श्रेष्ठ परिष्कारवादी, मिहिनेती र गुणी व्यक्ति हुनुहुन्छ आफैँमा ।” भूमिकामा घनेन्द्र ओझा प्रस्तुत गर्दछन्, “डा. श्रेष्ठले आफ्ना गजलमा सबै किसिमका विषयवस्तुलाई प्रस्तुत गर्नुभएको छ कतै प्रेमका बान्की छन्, कतै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृतिप्रति तीखो प्रहार छ, कतै मानवीय संवेदनामा आइरहेको ह्रासप्रतिको चिन्ता छ । वैश्विक हिंसा र अशान्तिका कारण सिर्जित भयको उजागर पनि भएको छ यस कृतिका गजलमा । यी यावत् विषयलाई गजलको संरचनामा, उचित लयमा, कलात्मक रूपले प्रस्तुत गर्ने उहाँको प्रयास प्रशंसनीय छ ।”
पुस्तकलाई अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले बजारमा ल्याएको हो र मूल्य १ सय ५० रुपियाँ रहेको छ ।
० ० ० ०
५. मातृवन्दना — उपमा आचार्य
विभिन्न साहित्यिक संघसंस्थाहरूसँग आबद्ध भई साहित्यको सेवा गरिरहने शिक्षिका तथा कवि उपमा आचार्यको पद्यात्मक अभिव्यक्ति हो – “मातृवन्दना” ।
राइटर्स इन्टरनेशनलबाट प्रकाशित पुस्तकमा ‘सेवा सही सुन्दर’, ‘विधाता’, ‘जन्मभूमि’, ‘बाबा हरायौ कता ?’, ‘उज्यालो’, ‘रहर’, ‘नृत्य गर्छिन् धरा रे !’, ‘भावना’लगायत ३६ थान कविता संग्रहित छन् । यसमा शार्दूलविक्रीडित, इन्द्रवज्रा, पञ्चचामर, भुजङ्गप्रयात आदि विभिन्न छन्दको प्रयोगमा धर्ती, देश र ईश्वरको वन्दना, मातृत्व र पितृत्वको जयगान गरिएको पाइन्छ ।
राष्ट्रकवि माधव घिमिरे लेख्छन्, “उपमा आचार्यको कविताशैली परिष्कृत छ । बढी वर्णनात्मक भईकन पनि घतिला र गतिला सूक्तिले शोभित छ । खासगरी नारी भैकन नारीसम्बन्धी कविता उदाहरणीय छन् । संग्रहका कविताहरू मध्ये एक श्लोक यस्तो छ–
मातृत्वले गर्वित पूज्य नारी
वीराङ्गना शक्ति अजेय नारी
हौं विश्वकै सृष्टिप्रवाह नारी
जागौँ, जगाऔं अब विश्व नारी ।।
यिनै शब्दका साथ कवि उपमाप्रति बधाई र शुभाशिष् प्रदान गर्दछु ।”
डा. रामप्रसाद ज्ञवाली लेख्छन्, “ मूलतः उपमाजीका यी कविताहरू भावुक आदर्शवादले भिजेर तयार पारिएका जननीभाव वा मातृत्वभावका कविता हुन् । वैचारिक रूपमा उहाँका कवितामा पाइने चिन्तनका सम्बन्धमा गम्भीर विमर्श गर्न सकिन्छ किनभने जुन चिन्तनलाई उहाँले आदर्श बनाउनु भएको छ, त्यही चिन्तन नै उहाँका पीडानुभूति र वेदनाका वैचारिक कारक हुन् । हाम्रो अनुवंश, संस्कार, परम्परित संस्कृति, धर्म र समाजले दिएको चेतनाका कारण यो कुरा बुझ्न त्यति सहज छैन तर बुझ्न नसकिने पनि होइन । बुझ्न खोज्नु–नखोज्नु स्रष्टाको व्यक्तिगत रुचि अरुचिको कुरा हो । यसमा स्रष्टा स्वतन्त्र हुन्छ । उपमाजी पनि स्वतन्त्र नै हुनुहुन्छ ।”
लक्ष्मीकुमार कोइराला लेख्छन्,
“मुस्कान दिव्य रसरङ्ग सुवास छाई
ब्रह्माण्ड–पुष्प ढकमक्क फुली रमाई
लोभ्याउँदा, भ्रमर कोकिल मत्त बन्छन्
गुञ्जाउँछन् सुकविता–तब जन्म लिन्छन्
मर्मज्ञ जो छ रससार चुमेर बोल्छ
साँचो खुला हृदयबाट रहस्य खोल्छ
दौडन्छ किन्तु सतही हलुका मिजास
के बुझ्छ त्यो ? गहकिलो कवि सूक्तिभाव !”
९० पृष्ठमा आधारित पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।
० ० ० ०
६. सत्र तारा (जीवन यात्रा)
विदविज्ञ तिलकप्रसाद लुइटेल र वरिष्ठ पत्रकार विनोद दाहाल वत्सद्वारा संकलन तथा सम्पादन गरिएको कृति हो — “सत्र तारा” ।
२ सय ६६ पृष्ठमा बुनिएको यस पुस्तकमा १७ जना लेखकका लेख समावेश छन् । जसमा ईश्वरचन्द्र बानियाँ, कल्पना खरेल, किरण आचार्य, कृष्णबहादुर भण्डारी, गङ्गा अभिलाषी, गङ्गाप्रसाद लुइटेल, जीवन सुवेदी, त्रिलोचन आचार्य, दुर्गादत्त गौतम, नारायण नेपाल, नेत्रबहादुर कुँवर, माधवलाल श्रेष्ठ, मिश्रादेवी कार्की, विष्णु गौतम, विष्णुप्रसाद पन्त, वेन ब्ल्याक, शशिकला वशिष्ठ हरू हुनुहुन्छ । यहाँ लेखकहरूले आआफ्नो जीवनका भोगाइहरूलाई रोचकीय शैलीमा समाजका निम्ति उदाहरणीय प्रस्तुतीकरण दिन जमर्को गरेका छन् ।
‘पाण्डुलिपि पाइयो’मा सम्झना शर्मा ढकाल लेख्छिन्, “…हरेक व्यक्तिको जीवनले आआफ्नो कथा बोकेको हुन्छ । त्यो जीवन कुनै ब्रह्मपुत्रमा हुर्केको छ भने कुनै टिस्टाको कलकल ध्वनिमा रमाएको छ । यसरी नै मेची, महाकाली, बागमती, गण्डकी, त्रिशूली आदिले सिञ्चित जीवनले आज धेरै उतार चढाव देखिसकेका छन् । तैपनि किञ्चित नआत्तिईकन अघि बढेका जीवनहरू आफ्ना अनुभवहरू र इच्छा, आकाङ्क्षालाई दायित्वले टेकेर पनि ढकमक्क फूलेको सुनाखरीझैँ कहीँ कतै हाँसिरहेका छन् । यस्ता प्रेरणादायी व्यक्तित्वहरूलाई एकै ठाउँ राखेर उहाँहरूका जीवनमा रचिएका कथाहरू छिचोल्ने प्रयास भएको छ ।”
“सङ्कलनमा कसैका जीवनमा आफ्नो प्रयास धेरै रहँदै एउटा मुकाममा पुगेको पाइन्छ भने कसैको जीवन अभिभावकप्रति सम्मानमा बोलेको देखिन्छ ।” सम्पादकीयमा लेखिएको छ, “प्राकृतिक पदार्थ र गतिविधि नै मानिसको ज्ञानका स्रोत हुन् । अभिभावकत्व भनेको कुनै पुरुषार्थ होइन, प्राकृतिक देन हो भन्न त सकिएला तर मानिसले पाएको ज्ञान र विज्ञानको स्रोत पनि प्रकृति नै हो । मानिसलाई विज्ञानले धेरै कुरा दियो तर ढाँट्नु छल्नु हुँदैन, अर्काको खोसेर खानु हुँदैन, जीवन भनेको कर्म गर्ने अवसर हो, निरन्तर कर्ममा लाग्नुपर्छ, हाम्रा कर्महरू अरूको अहित नगर्ने हुनुपर्छ भन्ने आमाबुबा कुनै स्रोतबाट मानिसले पाउँदैन । तिनको शिक्षालाई आत्मसात् गर्नेहरू नपढेकै भए पनि सज्जन छन् र पढेर पनि सज्जन छन् । यहाँ आफूप्रति आमाबुबाको देन पनि चर्चा भएको छ ।”
पुस्तकलाई सुखशान्ति मिडियाले प्रकाशनमा ल्याएको हो । यसको मूल्य ५ सय ५० रुपियाँ रहेको छ ।
० ० ० ०
७. सम्बन्धको दोबाटो — रविन्द्र केसी
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजीपि) तथा लेखक रविन्द्र केसीको पहिलो आख्यानात्मक कृति हो – “सम्बन्धको दोबाटो” ।
२ सय ४२ पृष्ठमा मौलाएको यस संग्रहमा प ‘क्यारिबियन फूल मारिया’, ‘आँसुको फूल’, ‘अपमानित कोख’, ‘डिपेन्डेन्ट भिसा’, ‘बरु डिर्भोस गरेको भए’, ‘यौवनको जालो’, ‘अर्को विवाह गर्नुस् ममी !’ लगायत २१ थान कथा संग्रहित छन् ।
‘कथागर्भ’मा रविन्द्र केसी उल्लेख गर्छन्, “जागिरकै क्रममा मैले जन्मेको माटो र आफ्ना प्रियजनहरूलाई छोडेर परदेशतिर भासिँदै गरेका युवाहरूका आँखाका विवश आँसु देखें । मानिसहरूको आत्मीयतामा आएका दरार र उजाडिँदै गरेका कैयौं घरहरू देखें । सबन्धहरूभित्रै मौलाउँदै गएको विरानोपन, सकस, उल्झन र छटपटीलाई नजिकबाट नियालेँ। सूचनाप्रविधिको विकाससँगै आएका विकृति र मानिसहरूका आत्मकेन्द्रित सोच, महत्त्वाकाङ्क्षा, लालसा र व्यभिचारहरू देखें । संस्कृति, परम्परा र प्रथाका नाममा हुने शोषण, विभेद र उत्पीडनका कुरूपताहरू देखें । बिचौलियापन र विकृत कार्यसंस्कृतिले न्यायविमुख भएका निमुखाहरूको कारुणिक अवस्था देखें । समयक्रममा मलाई तिनीहरूका बारेमा केही लेखौं जस्तो लाग्न थाल्यो र मैले आँसुले भिजेका तिनीहरूकै कथाहरू लेख्दै गएँ अनि तिनमा थोरै आफ्नो लेखकीय दृष्टिकोण पनि मिसाएँ ।”
पछिल्लो पृष्ठमा लेखिएको छ,
“यति धेरै किताब, यति धेरै लेखक, तैपनि किन लेखिन्छन्, नयाँ कथाहरू ? यसको उत्तर हो– रविन्द्र केसीको कथासङ्ग्रह सम्बन्धको दोबाटो । यी २१ कथाहरू सरल छन् र छन् सहज पनि । तर, यी कथामा हाम्रो समाजका व्यथाहरू नयाँ तवरले आएका छन् । यिनमा लेखकको फरक शैली र दर्शन छन् । सायद यस्तै कुराका लागि लेखिन्छन्, नयाँ कथाहरू ।” – बुद्धिसागर
“विघटित हुँदै गएको समाज र दुर्घटित हुँदै गएका सम्बन्धका कारण खोतल्ने क्रममा रविन्द्र केसीले यति छरितो र मनलाई स्पर्श गर्ने कथा लेख्नुहुन्छ भन्ने मैले चिताएको थिइनँ । यसअघि सम्झना हुने गरी उहाँका रचनाहरू पढेको छु जस्तो पनि लाग्दैन । तर, यो सङ्ग्रहका कथाहरू र यसभित्रका पात्र अनि तिनका नियतिहरू भने अब सधैं मेरो सम्झनामा रहिरहने छन् र मेरो मनलाई निचोरिरहने छन् । यसमा सङ्गृहीत असल कथाहरूले समयलाई सम्बोधन गरेका छन् ।” – नयनराज पाण्डे
“रविन्द्र केसी अनुभवजन्य तत्त्वले निर्माण भएका कथाकार हुन् । उनी जीवन भोगाइका सूक्ष्म विषयवस्तुमाथि कथा लेख्न रुचाउँछन् । उनका वाचाल पात्रहरू हामीले दैनिक जीवनमा भेटिरहेका आम मानिस हुन्। उनका कथा मानवीय संवेदना र भावनाले ओतप्रोत छन् । समाजका विकृति र विसङ्गति अनि मान्छेका विरोधाभासपूर्ण मनोभावलाई उद्घाटित गर्छन् । केसीका कथाहरू वर्तमानका जिउँदाजाग्दा तस्बिरहरू हुन् ।” – महेशविक्रम शाह
शिखा बुक्सबाट प्रकाशित पुस्तकको मूल्य ४ सय ७५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

