कवि हुनु भनेको सारा दुख र बेथितिको आगोमा जल्नुरहेछ । कवि हुनु भनेको आगोको लप्कामा छट्पटिएको कविलाई गैरकविहरूले नबुझ्नु पनि कविहरूको अर्का एउटा दुख रहेछ ।

यहाँ कुनै गणतान्त्रिक नेताले ठगको लाइसेन्स बोकेर राज्यलाई नै ठग्न शुरु गर्छ,…दुख जति कविलाई । यहाँ कुनै स्वप्नील क्रान्तिकारीले भ्रम न्यानो फैलाउँदै तस्करसँग हात मिलाउँछ,…दुख जति कविलाई । यहाँ कुनै राष्ट्रवादी नेताले सिमानाको किल्लामा सौदाबाजी गर्छ,… दुख जति  कविलाई । यहाँ कुनै भोका मानिस भोकभोकै सडकमा सुत्छ,…दुख जति कविलाई ।

साला ! दुई किलो बराबरको टाउकोमा सारा बोझहरू अटाइदिने कवि हुनु भनेको बलेको आगोमा जल्नुरहेछ, जलेको मैनबत्ती जस्तै बल्दाबल्दै निभ्नुरहेछ ।

कुनै राष्ट्रिय दैनिकको पेपर पढ्यो भने भरररर हेडलाईन शुरु हुन्छ…’ठग/चोरी/डकैती/हत्या/हिंसा/बलात्कार/भ्रष्टाचार/दाउपेच/सत्तामोह/आगमन/बहिर्गमन/प्रवेश/निषेध/अदालती मुद्दा … इत्यादि ।

===

सम्पादक ज्यू ,

यस्तै यस्तै हो त देशको प्रगतिको समाचार ?

देश दुर्तगतिमा विकसित भइरहेको कहिले पढ्ने तपाईंको समाचारपत्रमा ? ठाउँठाउँमा उद्योग/कलकारखानाहरू खोलिएको, विदेशिएका सारा कामदारहरू स्वदेश मै फर्किरहेको खुसी कहिले पढ्ने तपाईंको समाचारपत्रमा ?  सम्पादक महोदय ! कस्सम भा तपाईंका अखबारहरूले हर दिन हाम्रो निधार मुजामुजा बनाइदिन्छ ।

त्यसो त उठ्छन् बेलाबेला अनेकन मुद्दाहरू मकैमा  फुला भएर । सिर्फ् उठ्नेहरूलाई उठाउन उठ्छन् ।

तब उठिसकेकाहरू झनै माथि पुग्छन् । त्यहाँ पुग्दासम्म भटटटट … आगोको रापमा उफ्रिरहेका मकैका फुलाहरू उनीहरूका भोजन भइसकेर हराइसक्छ । नेताज्यू , दोस्रो मुद्दा सोच्दै हुनुहुन्छ । यता बाँकी यथावत रहन्छ भुइँ मान्छेहरूका सदाबहार दुख । त्यही दुखलाई कविहरूले बोल्छन् । जस्तो कवि सिन्धु पौडेलको यो आवाज —

हामीलाई असाध्यै भोक लागेको छ 

अहिले तिमी रोटी देऊ 

पछि तिमीलाई भोट दिऊँला ! 

बहिरा छन् तिनीहरु । तिनीहरु अन्धा छन् । बहिरोजस्ता  अन्धोजस्ता तर तिनीहरुका आवाज बन्दा छैनन् । आवाजमा मोहनीमन्त्र छ । भाङ खाएको जोगीजस्तो भुइँमान्छेहरूलाई लठ्ठ बनाउँछन् । त्यसकारण हरबखत केवल आश्वासन बाँढ्नेहरूले सुन्नैपर्नेगरी, देख्नैपर्नेगरी अक्षरको बम पड्काउनैपर्ने आवस्यकता पनि हो आजका कविहरूको ।

===

कवि सिन्धु पौडेलका कविताहरू पढ्दै गर्दा कहिले मभित्र हराइरहेको लाटो रिस एक्कासि फर्केर आइरहेजस्तो । कहिले मभित्रको म गुलाफको बगैँचामा रोमान्चित भइरहेजस्तो । कहिले म भित्रको म आँसुको तलाउमा खसिरहेजस्तो । कहिले मभित्र देशप्रेमको भावनाले ओतप्रोत शिर ठाडो आकाशतिर उक्लिरहेजस्तो । कहिले मभित्र गद्दारहरूप्रतिको घृणाले खुइय..,  सुस्केराहरू सुसेलिरहेजस्तो । कवि उद्देलित मन यस्तै यस्तै अनुभूत गरिरहेछु । तर यो कविताको हरफसम्म आइपुग्दा सबै-सबै उत्तेजनाहरू सकिएर रित्तोरित्तो भएको छु म यतिखेर ।  र, झट्ट सम्झिन्छु , … भर्खरै जन्मेका बचेराहरू गुँडमा छाडेर माउचरी भोका बचेराहरूको आहारा खोज्न कतै टाढा जंगलजंगल उडिरहेको । यदी चारो खोज्दाखोज्दै भौँतारिरहेको चरीलाई ब्याधाको निशाना लागेर फ्याट्ट प्राण भुइँमा खसेमा के हुन्छ ? चरी जस्तै दाँज्छु असङ्ख्य सिन्धुहरूलाई यहाँ…

आँखाहरू अहिलेसम्म ओभाएका छैनन् 

छुट्ने बेला झरेका आँसुले 

भिजेका नानीका नयनहरू 

मेरै बाटोमा छन् 

=== 

इजराइल र प्यालेस्टाइन दुई मुलुकबीच यसअघि भएका  पटकौँपटकको युद्धबाट हालसम्म कति हजार निहत्था मानिसहरूले फगत ज्यान गुमाए होलान् ? ती विध्वंस युद्धको स्मरण गर्दा मात्रै पनि मुटु थर्थराउँछ । झन् नजिकैबाट भयङ्कर बमबारूदको बिस्फोट, यत्रतत्र छरिएका लास, गुहारगुहार गरिरहेको चीत्कार देख्ने-भोग्नेहरूलाई कस्तो दर्दनाक पीडा हुँदो हो ? उफ् !

सन् २०२२ को युद्धमा निर्दयीहरूले गाजा क्षेत्रको एक स्कुलमै बम खसाल्यो । कसुर के थियो ती नानीहरूको नरसंहार गरी स्कुलमै चिहान खन्नुपर्ने ? धूवैधूवाँ इजरायलको सहरछेउ बगिरहेको त्यो रक्तिम समुद्रमा क्षतविक्षत लासहरू, शिशु, किताब, स्कुलका झोला र कलिला सपनाहरू कहिले डुबिरहेको कहिले उत्रिरहेको नजिकैबाट देख्ने हर कोही संवेदनशील मानिसहरूको हृदय करुणाले कति विघ्न हल्लिँदो हो ? ठीक त्यही भीषण युद्धकै बेलामा ज्यान हत्केलामा राखेर इजरायलमै रोजगारी गर्ने सिन्धु पौडेलसित कति कति अनुभूतिहरू हुन् जो हामीले थाहा नपाएका । तर त्यसबखत ‘बंकरभित्र लुकेर ज्यान जोगाएको’ कुरा फेसबूक स्टाटस मै साझा गरेकी थिइनँ सिन्धुले । उनले आफ्नो अनुभूति अर्का हरफमा यसरी लेख्छिन्…

दिनहुँ पड्किरहने गोलाबारुद सहँदै 

बंकरमा लुकेर पैसा टिप्दैछु म 

नानीहरूका लागि 

भोलिको उज्यालो किन्न 

……………

………….. !

 

पृथ्वीको विशाल क्षेत्रफललाई स्यानो एउटा मोबाइलको स्क्रीनमा कैद गरिरहेको समय हो आजको युग । विश्वको कुनाकाप्चा जहाँ-जहाँ कविहरू पुग्छन् , उनीहरू आफ्ना अनुभूतिहरूलाई शब्दमा रुपान्तरण गर्छन् । जस्तो मजदुरीका लागि अरब पुगेको कविले अरबका कुरा लेख्छ । कोरिया/जापान/अमेरिका/इजरायल या जहाँसुकै मुलुकमा पुगेको होस् एउटा मजदुर लेखकले त्यहाँ देखिरहेको, त्यहाँ भोगिरहेको समस्या लेख्छ । पीडा लेख्छ । यसकारणै त साहित्यमा यथार्थवादी सिर्जनाहरूले पाठकहरूलाई तरङ्गित गराउँछ । जस्तो सिन्धु पौडेलको ‘बंकरभित्र लुकेर’ कवितामा विक्षिप्त भएँ म ।

===

अन्त्यमा, सबै कविता पढेपछि …

‘मृत सागरको उचाइबाट’ सिन्धु पौडेलकृत कवितासंग्रहमा, लामाछोटा गरी पैँतीसवटा कविताहरू संग्रहित रहेछन् । विषयको विविधता, समसामयिक मुद्दाको उठान, कहिँ आशा, कहिँ चरम निराशाहरू छन् । यिनको लेखनशैलीमा एकरुपता छ तर नवीनता छैन । वैचारिक दृष्टि छ । भाव गाम्भीर्यता छ ।  देशको चिन्ता छ । विदेशको पीडा छ । आशा छ । भरोसा छ । नायक छ ।  खलनायक छ । कवितामा हुनुपर्ने पुग्दो मरमसला भएर पनि कहीँ चर्को छ । कहीँ नुन नपुगेको अलिनुअलिनु जस्तो छ । यद्यपि ! तर कुनै सुपरिचित कविको कविताकृति पढिरहेको आभास हुन्छ सिन्धु पौडेलका कविताहरू पढ्दैगर्दा । खैर् ! उनको यो प्रथम उपस्थिति मै यसखालको सचेतता र विविधताले अनुमान गर्न सकिन्छ कि कवि सिन्धु पौडेल प्रसस्त अनुभव र साधनाबाट निखारिएकी एक उज्ज्वल कवि हुन् ।