नयाँ ज्ञान र विषयवस्तुसँग आफूलाई सधैं उन्नयन गराइरहन सक्ने विद्वान लेखकहरूमा ठूलो खुबी हुँदो रहेछ । १९ वटा निबन्धसंग्रह ‘निर्वाचित निबन्धावली’ पढेर मलाई त्यस्तै बोध भयो ।

‘निर्वाचित निबन्धावली’ का स्रष्टा डा. गोविन्दराज भट्टराईको विद्वता र नूतन चेतले जीवन र जगतका विभिन्न पक्षहरूको सूक्ष्म विश्लेषण गर्दै जीवनका लागि नयाँ ज्ञान र चेतना छरेको छ । आफ्नो जीवनको अमूल्य ३५ वर्ष त्रिभुवन विश्वविद्यालय सेवामा लगाइसकेर सेवा निवृत्त हुनु भएको प्राध्यापक डा. भट्टराई आफ्नो विषय अंग्रेजीको दिग्गज, नेपाली भाषा साहित्यका शिखर पुरुष तथा उत्तर आधुनिकवाद सिद्धान्तको प्रवर्तक हुनुहुन्छ ।

विश्व ग्रामीकरणले ठूलो क्रान्ति ल्याएको छ । विश्वभर समान प्रविधिको विस्तारले चलिआएको परम्पराको अन्त्य गरेको छ । साइबर संस्कृतिले देशहरू बीचको सीमारेखा भत्काएर नयाँ संस्कृतिहरू भित्र्याइरहेको छ । डायस्पोराले पनि परासंस्कृति ओसारिरहेका छन् । यसको प्रवाह वेगवान् छ । अब विश्व एक जस्तो हुँदैछ । अब स्थानीय तथा राष्ट्रिय परम्पराहरू जोगिइन सक्दैनन् । कसैले यसलाई पछ्याएर बस्दैन । अब कुनै पनि राष्ट्रको संस्कृति त्यस राष्ट्रको घेराभित्र मात्र छैन, त्यसैले साहित्य पनि छैन भन्ने लेखक यसैको अध्ययन गर्ने सिद्धान्तलाई उत्तर आधुनिकवाद बताउनु हुन्छ ।

निबन्धहरूमा समाजमा विद्यमान सोच, राजनीतिक स्वार्थ, छिमेकी राष्ट्र भारतको हामी प्रतिको कुटिलता, नेपालीहरूको डायास्पोरा बन्ने लहर, प्रविधिको विचित्रता, नेपाली भाषा र साहित्यको अवस्था, संस्कृतिको लोप जस्ता विविध विषयहरूमा लेखकको प्राज्ञिक मन्थन छ । यी विषयहरूसँग बग्दाबग्दै ती सँग जोडिएर आएका लेखकका विचारहरू महत्त्वपूर्ण छन् । मुख्य रूपले निबन्धहरू वैचारिकता प्रधान छन् । दैनिकीको कुरा गर्दागर्दै कुनै विषयमा प्रवेश गरेर त्यसमा आफ्नो दृष्टिकोण राख्नु, आफ्नो ज्ञान र अनुभवले प्रकाश पार्नु स्रष्टाको प्रमुख विशेषता रहेको छ । त्यस्तै भावनात्मक अभिव्यक्ति अर्को विशेषता छ । वैचारिकता र भावनात्मक संयोजनले निबन्धहरू अब्बल बनेका छन् ।

शुरूका दुई निबन्ध “३५ वर्षको निर्वासन पश्चात्” र “गुप्तदानले खाइरहेको एक प्राध्यापकको जुनी” पढेर म आश्चर्यचकित भएँ र अभिभूत पनि । आश्चर्य यस निम्ति लाग्यो कि यति सफल व्यक्तित्वको पछि त्यत्रो संघर्षको इतिहास रहेछ र अभिभूत यस निम्ति भएँ कि यस्ता रचनात्मक निबन्ध शायदै लेखिन्छन् ।

पहिलो निबन्धको पहिलो अनुच्छेदले नै मलाई स्रष्टाप्रति सहस्र नमन गर्न लगायो । म पनि घर छोडेर बाहिर बसेकोले होला हरफहरूले चसक्क छोयो मलाई । यी भावमा डुब्दै-उत्रँदै गरिरहें ।

“परिवार छोडेर टाढा बस्नु नै निर्वासन होला । कहिलेकाहीं परदेशी भई झोला भिरेर त्यता पुग्थे । अब म आफ्नो गुँडमा नफर्किन पनि स्वतन्त्र छु । धेरै चराहरू सदाका लागि उडिसके,” (पृष्ठ १) ।

जागिरमा बाँधिएको मान्छेको लागि स्वतन्त्रताको महत्त्व यो निबन्धले राम्ररी बताइदियो । यस्तो शायद कोही र कुनै चीजले बताउन सक्दैन थियो । नियमित ढर्रामा बाँधिएको हुन्छ जीवन जो कसैको पनि ! सेवा निवृत्त भएर स्वतन्त्र हुने दिन आउँदाआउँदै आफू पूर्ण रूपले स्वस्थ र स्फूर्त रही काम गर्न नसकिने दिनहरू आउने हुन् कि, अब एउटा झोलामा चक, डस्टर र किताब भिरेर कक्षामा पस्न नपाउँदा स्वतन्त्र हुँदाहुँदै कतै आफ्नो परिचय नै पो गुम्ने हो कि, रस निकालिएको उखुको खोस्टा कोलबाट हुत्तिएर पर पुगे जस्तो हुने हो कि जस्ता उदेकलाग्दा भावहरू स्रष्टाको मनमा उब्जिएका छन्, जसले पाठकको हृदयमा पनि संवेदना जगाउँछन् ।

‘गुप्तदानले खाइरहेको एक प्राध्यापकको जुनी’मा धेरै किसिमका गुप्तदानहरूको रहस्य छ । यसमा प्राध्यापकको समय कसरी गुप्तदानमा लिप्त हुँदो रहेछ र हाम्रो देशको शिक्षण प्रक्रियामा लुकेर गर्नुपर्ने मूल्याङ्कन कर्मले कस्ता समस्याहरूलाई निम्त्याएका छन्, यी सबै छर्लङ्ग भएर प्रस्तुतिमा आएका छन् ।

“पोहोर भन्दा राम्रो लेखेको कसरी बिग्रियो भन्दै आउँछन् विद्यार्थी । त्यो हामीकहाँ आएको छैन भनेर उम्किन्छु, तर दशा ग्रहहरू वर्षैपिच्छे चक्रीय प्रणालीमा घुम्छन् ।” (पृष्ठ १५)

“रातभर अवैध सामान सिमाना कटाउनेको झैं कापी कर्म गर्नेहरूको पनि नित्य मुटु कामिरहेको हुन्छ ।” (पृष्ठ १९) ।

शिक्षाले नै जीवनमा उज्यालो ल्याउँछ, शिक्षाले नै समाजलाई सुसंस्कृत र सभ्य बनाउँछ, शिक्षा नै जीवनदर्शन हो भन्नुहुने लेखक जस्तोसुकै परिस्थितिमा पनि आफ्नै लक्ष्यलाई निरन्तरता दिनुपर्छ, व्यर्थमा समय नष्ट गर्नु हुँदैन भन्नेमा दृढ हुनुहुन्छ । कोरोना कालमा भय र त्रासको सँघारमा जीवन खेप्न परेको बेला पनि कत्ति नडगमगाई सिर्जनामै लीन हुनुभएको त निर्वाचित निबन्धावलीले अवगत गराएकै छ । मृत्युको भयले घेरेको समयमा पनि जीवन हुन्छ भनी बोध गराउनु हुने सर्जक अरूलाई पनि सिर्जनामा लाग्न यसरी प्रेरित गर्नु हुन्छ । “कोरोनादेखि डगडगी कामेर बस्ने होइन, समय नाश गर्ने होइन । लेखिराख्नोस् तपाईं गए पनि अरूले पढ्नेछन्, समयले पढ्नेछ । जीवन छोड्ने बेला कुनै असन्तुष्टि नरहोस् “।(पृष्ठ ५४, ५५)

कोरोना महाव्याधिले प्रलयको संकेत गरिरहेको थियो । सन् २०१९ को प्रारम्भमा चाइनामा प्रथम पटक देखा परेको कोरोना जीवाणु मान्छेसँगै हवाईजहाज चढेर हिंड्यो र छिट्टै विश्वव्यापी रूपमा फैलियो । यसले मच्चाएको ताण्डव एउटा विश्वयुद्ध भन्दा कम थिएन । अरू, परमाणु र मिसाइल बिनाको शान्त र सम्भ्रान्त यस विश्वयुद्धमा कतिले मृत्युवरण गरे । कोरोना जगत् उतार्न सफल भएका निबन्धहरूमा ‘महाकालसित एक छोटो संवाद’, ‘कारोनाकालमा भोगिएका नियतिहरू’, ‘कोरोना कालमा गरिएको ईश्वर वार्ता’, ‘मृत्युले घेरेको बेलामा कोरोना चिन्तन’, ‘सिर्जनाको भावावेग र कारोनाकालको दैनिकी’, ‘कोरोनाकालको अन्त्यमा उत्पादित केही भ्रान्तिहरू’ हुन् । यस निबन्धहरूमा कोरोनाको उत्पत्तिको बारेमा काढिएका अडकलहरू, कोरोना सम्बन्धी समाचार, दिनदिनै संक्रमित र मर्नेहरूको संख्या, कोरोना कालमा मान्छेले खेप्नु परेको नियति र सास्तीहरू, कोरोना सम्बन्धी फैलाइएका भ्रान्तिहरू समेटिएका छन् ।

‘तिनीहरू कसरी अन्धकारमा हाम्फाल्छन्’ निबन्धमा नेपाली युवा-युवतीको जमात दिनहुँ विदेशिरहेकोमा लेखकको चिन्ता छ । ती शिक्षित र योग्य भएपछि किन विदेशतिरै हाम्फाल्न खोज्छन् ? अनुपम सौन्दर्यले सजिएको आफ्नो देशले तिनीहरूलाई किन रोक्न सक्दैन ? सुख दुःख यही गर्न खोजेको भए हुन्थ्यो । नेपालीहरू विभिन्न उद्देश्यले विदेशिने गरेको धेरै अघिदेखि नै रहेछ । सन् १९१५ मा प्रथम विश्वयुद्धमा भाग लिन पश्चिमी एशियाका युद्ध मैदानमा पठाइएका फौजीहरूमा २ लाख नेपाली युवा थिए भन्ने थाहा पाएर म अवाक् रहें । विदेशमा रगत र पसिना बगाउने पनि यिनै नेपाली, विदेशमा दुःख पाउने पनि यिनै नेपाली ।

यस्तो अवस्थामा लेखकको आक्रोश शान्त र शालीन रूपमा यसरी व्यक्त भएको छ : “विश्वबजार छ चम्केको । राष्ट्रले केही बेच्न सक्दैन केवल युवा छन् भर्भराउँदा ५०० वर्षअघिका अफ्रिकी दास झै सरकारले तिनैलाई जहाजमा हाल्छ पठाउँछ किनभने ग्लोबलाइजेशन छ सर्वत्र एकाम्मे । यता शासन पोलिट ब्युरोमा बस्नेहरूले एउटा मन्त्र सिकाएका छन् विश्वका मजदुर एक हौ ।” (पृष्ठ ७०)

समयको महत्त्व, पुस्तकको महत्त्व, जीवनको महत्त्व बुझ्नुभएको सर्जकको हरेक दिन पुस्तक पढ्ने र लेख्ने दौडमा बित्छ । समय, पुस्तक र जीवनको मेल होस् त यस्तो जहाँ फुत्कँदो समयको वेगलाई पुस्तक पढाइको वेगले चुनौती दिइरहेको हुन्छ । अचानक एउटै पुस्तकले पनि जीवन बदलिदिन्छ, एउटा सानो पुस्तकले पनि यता लाग भनेर सङ्केत गर्न सक्छ भन्ने उहाँको जीवन पुस्तकसँगै बितेको छ । यति पुस्तक पढिसक्छु, यति लेखिसक्छु भन्ने दौडमा उहाँको हरेक दिन जर्मनीको धावा छ । समयका साधक उहाँको लागि प्रतिपल महत्वको छ । तृष्णा हरघडी सिर्जनाको छ । नित्यको कुदाइ जीवनको अभिलाषा भेट्नको लागि छ, सपनालाई छुनको लागि छ, तर यो धावामा जीवन छ भन्ने अनुभूति पनि हुँदैन ।

“जीवन छ भन्छन्

छैन कि क्या हो

छुन खोज्छु आफ्नै हातले

कत्रो वेगवान् गतिमा

कुदेको छ यो दिनभरि

एक प्रकाश वर्ष पुगेसरी“ ।

(जर्मनीको धावा, पृष्ठ ४७)

सधैं तपस्यामै लीन भइरहे पनि देश र विश्वमा के भइरहेको छ, उहाँलाई सब थाहा हुन्छ । स्रष्टाको तीक्ष्ण बुद्धि र सोचले नभेटेको केही छैन । निबन्धहरूमा कतै माओवादी द्वन्द्व कालमा देशभित्र बढेको अराजकताको स्मरण छ, कतै भूकम्पले गराएको अकल्पनीय क्षतिको, कतै भारतको नाकाबन्दीले सिर्जिएको अभावको, कतै देशभित्रका राजनीतिक पार्टीहरूको आन्दोलनको, कतै देशभित्रका विभिन्न नेताहरूको करतुतको, कतै विश्व र विश्वका अनि हाम्रा लेखक, साहित्यकार तथा सम्बन्धित अरू व्यक्तित्वको । ‘नाकाबन्दीको प्रशंसामा समर्पित केही शब्द’ र ‘केले धुमिल पार्दैछ त्यो अटल हार्दिकता’मा छिमेकी राष्ट्र भारतको कुटिल नीतिले लेखक हृदय अत्यन्त दुखेको बुझ्न सकिन्छ ।

“आँगनमै लाप्पा छ मूर्ख गोठालाहरूको

यस्तो बेला गुलेली नताक व्याधाहरू हो

त्यो लिपुलेकमा जिउँदै छन् हाम्रा वीरहरू

हाम्रो मुटुमै पनि लाग्न सक्छ

तिम्रो पनि मुटुमै लाग्न सक्छ ।”

(मुटुमै लाग्न सक्छ, पृष्ठ १६९)

त्यस्तै ईश्वरको विषयमा पनि स्रष्टाको चिन्तन छ । धर्म, जाति र संस्कृति अनुसार ईश्वर फरक छन्, फरक ईश्वरमा मान्छेहरूको फरक धारणा, फरक आराधना पूजनका फरक शैली छन्, यी आश्चर्य लाग्दा छन् । यस्तोमा उहाँ भन्नुहुन्छ, “ईश्वर भन्ने तत्त्वले उत्पन्न विवाद सुल्झाउन पट्टि लाग्ने मन छैन । मनमा अनेक संशय लिएर हिंड्नु नै ठीक होला । जगतको एक विशेषता हो भ्रान्ति, रहस्य, सन्देह, अनिश्चितता अनि अँध्यारो र उज्यालो मिसिएको स्थिति“(पृष्ठ ८९) । ज्ञानले, अनुभवले, संघर्षले खारिनुभएको स्रष्टाको यो भनाइ अर्थपूर्ण लाग्दछ ।

कोरोनाले भौतिक क्रियाकलापहरू बन्द भएको बेला साइबर प्रविधिको भरपूर प्रयोग भयो । अन्तर्राष्ट्रिय भाषा साहित्यका वेबिनार, विद्यालय र विश्वविद्यालका कक्षाहरू सबै यसैका माध्यमबाट हुन थाले । त्यही समयदेखि हाम्रो देशमा पनि अनलाइन कक्षाको सभ्यता स्थापित भयो । कुनै पनि समस्याले क्रान्ति ल्याउँछ । तर लेखकको ध्यानाकर्षण एउटै कुरामा छ, यसले पुराना मूल्यमान्यता र संस्कृतिको विश्वलोप हुँदैछ । जसले देख्यो उसको मनमा रह्यो, आउने पुस्ताका लागि देखाउने केही रहने छैन । विश्व झन्झन् परिष्कृत हुँदैछ । मान्छेको अवसानसँग उसका लागि सबै कुरा सिद्धिए जस्तै प्रविधिको यस दौडमा भावी पुस्ताको लागि पुरानो संस्कृति सकिएको हुनेछ । यो एउटा बिरोधाभाषपूर्ण अवस्था छ, यसलाई राम्रो भन्ने वा नराम्रो ? लेखकको तर्क, सोच र विचारमा यस्ता धेरै प्रश्नहरू उब्जिएका छन् जसको उत्तर भेटिएको छैन ।

लेखकको सग्लो हृदय आफ्नो परिवार, बन्धु, इष्टमित्र प्रति अनुगृहीत छ । सबैको साथ, सहयोग र प्रेमले आह्लादित छ । आफ्नो जीवनसाथी जसको माया, सहयोग, भरोसा र सम्पूर्ण रेखदेखमा उहाँ निस्फिक्री भएर वाङ्मयी कर्ममा लागिरहन हुन्छ । उहाँलाई उपचारको क्रममा दिल्ली लैजान लाग्दा आफू विराटनगरबाट समयमा काठमाडौं आइपुग्न नसक्दा स्रष्टाको हृदय अत्यन्त संवेदनशील बनेको छ । त्यो शून्य घरमा आफू एक्लै बस्नुपर्दा उद्वेलित भएको मनको बह ‘उनलाई बिदा गर्ने बेलामा आइपुग्न सकिनँ’ निबन्धमा पढी नसक्नुको छ । कसैको मायाले उहाँ जस्तो तपस्वी साधकको मन पनि कत्ति विभोर हुनसक्दो रहेछ, यो बुझ्न सकिन्छ । मनमा भारी अप्ठेरो परेको बेला यसरी सम्झाउनुहुन्छ आफूलाई । “जीवन जहाँ छ, मृत्यु पनि त्यहीं छ । हामीले गर्ने ता केही छैन, न केही टार्ने छ, सबै गरिहेर्ने मात्रै ।” (पृष्ठ ३५)

जीवन, जगत् र परिस्थितिउपर स्रष्टाको अन्तर्बोधले चेतनाको आलोक छरेको छ, त्यसैले स्रष्टा यस समयको युगचेतक हुनुहुन्छ भने उहाँको निर्वाचित निबन्धावली समयको यस कालखण्डको द्योतक हो । यस्ता शिखर पुरुषको युगमा हामी हुनु र उहाँलाई पढ्न पाउनु हाम्रो सौभाग्यको कुरा हो । उहाँलाई समयले पनि पढिरहने छ । यस्ता मूर्धन्य विद्वान डा.गोविन्दराज भट्टराईको पुस्तकमा म साधारण साहित्य अनुरागीले आफ्नो प्रतिक्रिया राख्दा त्रुटि भएको भए क्षमा याचना सहित ।