
पूर्वी नेपालको पथरी शनिश्चरे–२, मोरङमा जन्मिएका उपन्यासकार जीवन जीवन्त कविता, समालोचना र आख्यान विधामा कलम चलाउने स्रष्टा हुन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत जीवन जीवन्तले एम.ए., एम.एड, एम. फिल र पिएच.डी तहसम्मको औपचारिक शिक्षा पूरा गरेका छन् ।
एक दशकभन्दा लामो समयदेखि खोज, अनुसन्धान र लेखनकार्य गर्दै आएका ऊनका सैद्धान्तिक आधार : प्रायोगिक विश्लेषण (समालोचना, २०७५), अधिआख्यान : सिद्धान्त र विश्लेषण (समालोचना, २०६९), उत्तर आधुनिक साहित्य : सिद्धान्त र विश्लेषण (सहलेखन समालोचना (२०६९) र उपन्यास विमर्श (समालोचनासंग्रह सम्पादन, २०८०) कृति प्रकाशित छन् । यसका साथै ऊनको विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यपुस्तकहरू पनि प्रकाशित छन् । जीवनको अस्तित्व निरन्तर कर्ममा हुन्छ भन्ने मूल जीवनदर्शन आत्मसात् गरी नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि कलम चलाउने उनै जीवन जीवन्तको पहिलो औपन्यासिक कृति हो – ‘चरैवेति’ ।
यस उपन्यासले नेपाली उपन्यास परम्परामा नयाँ विषय र शैली थपेको छ । आजभन्दा करिब छ दशक अघिको पूर्वी नेपालको सामान्य जनताका आर्थिक, सामाजिक तथा सांस्कृतिक यथार्थलाई यस उपन्यासले प्रस्तुत गरेको छ । उपन्यासको कथावस्तु शुरू हुनु अगि सर्जकको सरगम शीर्षकमा लेखकले आफ्ना भनाइ राखेका छन् भने उपन्यासको कथावस्तु सकिएपछि इसाई समाजको वास्तविक चित्र शीर्षकमा किरण सिंजाली मगरको छोटो भूमिका सहित शुभकामना मन्तव्य राखिएको छ ।
उपन्यासलाई विभिन्न शीर्षक राखी १२ भागमा खण्डीकरण गरिएको छ । जसमा उपन्यासको पहिलो खण्ड (आकस्मिकता) देखि दसौँ खण्ड (विश्राम) सम्म र उपन्यासको अन्तिम खण्ड (अन्त्यअघि) मा म पात्रको जीवन यथार्थ घटनाको चित्रण गरिएको छ । विश्राम पछि र अन्त्य अघिको बीचका कथावस्तुलाई म पात्रको पिता बुबा पात्रको डायरीको रूपमा प्रस्तुत गरिएको छ । जहाँ मिति समेत उल्लेख गरिएको बुबा पात्रको २७ ओटा डायरी टिपोट रहेको छ । यस खण्डमा नेपालमा बढ्दो धर्मपरिवर्तनको विषयलाई खरो रूपमा उठाइएको छ । साथै पूर्वीय हिन्दूशास्त्र वेद, उपनिषद्, किराँतशास्त्र मुन्धुम, पाश्चात्य इसाई धर्मशास्त्र बाइबलमा रहेको ज्ञान र दर्शनलाई भौतिकवादी दृष्टिकोणबाट तुलनात्मक रूपमा व्याख्या विश्लेषण गरिएको छ ।
नेपालमा २०२१ पछि ३६ सम्म पहाडबाट तराईतर्फ बसाइँ सर्ने क्रम तीव्र गतिमा भएको देखिन्छ । यसको मूलकारण आधारभूत आवश्यकताको परिपूर्ति नै हो । पहाडमा खान–लाउनकै अभाव हुन थालेपछि जीविकोपार्जनका लागि आफ्नो पुर्खाको थातथलो छोडेर धेरै मानिसहरू तराईमा बसाइँ सर्न थालेको कुरालाई यस उपन्यासमा बुबा पात्रले – आफ्नो जहानपरिवारलाई लिएर तराई झरेको कथामार्फत प्रस्तुत गरिएको छ : ‘‘हामीले पनि झण्डै सात बिघा जति जमिन ओगटेका रहेछौँ । हामीले जङ्गल फाँडेर खेतबारी बनाएको त्यो जमिन निकै राम्रो थियो’’ (पृ.८०) । उपन्यासको यस प्रसङ्गले २०२१ को दशकतिर तराईमा जमीन किन्न नपर्ने र जङ्गल फाँडेर आफ्नो जग्गा जोड्ने व्यवस्था रहेको बुझाउँछ ।
यस्तै पूर्वी नेपालमा लिम्बु जातिहरू अत्यन्त शक्तिशाली भएका, अङ्ग्रेजहरूसँग पनि नदबी बसेका, पृथ्वीनारायण शाहले पनि युद्धमा जित्न नसकेका, उक्त क्षेत्रमा रणबहादुर शाहले किपट व्यवस्था लागु गरेका, राणाहरू र राजा महेन्द्रले पनि किपट क्षेत्रको समस्यालाई उचित व्यवस्थापन गर्न नसकेका र २०२१ को भूमिसुधारपछि किपट जग्गालाई रैकर बनाइएको जस्ता इतिहासको विषयलाई स्पष्ट रूपमा उल्लेख गरिएको हुनाले यो उपन्यास पूर्वी नेपालको एक ऐतिहासिक दस्ताबेजसमेत बन्न पुगेको छ ।

जीवन जीवन्त
प्रस्तुत उपन्यासले धार्मिक अन्धविश्वास र रुढीवादी मान्यताले निम्त्याएको सामाजिक समस्यालाई यथार्थ रूपमा चित्रण गरेको छ । यसको कथानकको आरम्भ बुबा पात्र आफ्ना दुई छोरी बिरामी पर्दा अस्पताल लैजानुको सट्टा कूलपुजा गर्ने, देवतालाई धूप, अछेतापाती चढाउने, धामीझाँक्री लगाएर कुखुराको भोग दिई देवीदेवता बुझाउने, भूत मन्साउने जस्ता धार्मिक रुढीवादी व्यवहारमा अलमलिन्छन् । जसकारण समयमा नै सही औषधी उपचार नपाएर दुई छोरीहरूले अकालमै मृत्युवरण गर्छन् ।
सँगसँगै कथानकमा द्वन्द्वको सिर्जना हुन्छ र सङ्घर्ष विकास शुरू हुन्छ । बुबा पात्रमा बाह्य र आन्तरिक दुवै प्रकारको द्वन्द्व क्रमशः विकसित हुँदै गएको छ । आफूले सबैभन्दा बढी पुजाअर्चना गर्ने गरेको र भक्तिभाव राखेको देवताले नै आफ्नी दुई ओटी छोरीलाई बचाउन नसकेपछि बुबा पात्र देवीदेवताबाट विमुख भई आफूले पुज्दै आएको ढुङ्गालाई देवता मान्दिनँ भन्दै देवता फाल्न पुग्छन् ।
यो ऊनको आन्तरिक मानसिक द्वन्द्वको परिणीत हो तर यसैका कारण बाह्य सङ्घर्षको पनि विकास हुन पुग्छ । आफ्ना पिता पुर्खाले मान्दै आएको देवताको अपमान गरेको आरोपमा दाजुभाइबिच खटपट-मनमुटाव हुन्छ । ऊनका दाजुभाइले बुबा पात्रलाई विदेशी धर्म मान्न थालेको अर्थात् बाइबले बनेको मिथ्या आरोप लगाउँछन् । पहाडमा अहोरात्र काम गर्दा पनि हातमुख जोड्न धौधौ परेको अवस्था, दुई छोरीको वियोगको पीडामा परेको बेला दाजुभाइले लगाएको झुटा आरोप सहन नसकी बुबा पात्र परिवार लिएर बसाइँ सर्छ । यो कथानकमा सङ्घर्ष विकासको एउटा महत्त्वपूर्ण चरण रहेको छ ।
कथानक विकासका क्रममा मुख्य पात्र बुबा बारम्बार नियतिको सिकार बन्न पुगेको छ । उसको द्वन्द्व परिवार, समाज, प्रहरी प्रशासन र चर्चसँग यथाप्रसङ्गमा हुन्छ । यसले उपन्यासको सङ्घर्ष विकासलाई स्वाभाविक गतिमा अघि बढाउँछ ।
साम्लिङ्गेको घरमा राति धामी राखेको समयमा येशुको भजन गाएको दोषमा प्रहरीप्रशासनले बुबा पात्रलाई जबरजस्ती इसाई भएको आरोप लगाउनु, घिमिरेको घरमा मण्डली बनाउँदा ऊ घिमिरे थरको कथित दलित भएको खुल्नु र समाजबाट तिरस्कृत हुनु, तिहारमा येशुका नाममा देउसी खेल्दा प्रहरी खोरमा पर्नु, दमकको चर्चमा बुबा पात्र तिरस्कृत हुनु आदि सङ्घर्षविकास महत्त्वपूर्ण चरण रहेका छन् । यसले गर्दा उपन्यासमा द्वन्द्वको गति एकपछि अर्को नयाँ रूपमा विकसित हुँदै गएको छ । एउटा द्वन्द्वपछि अर्को द्वन्द्वको स्वाभाविक विकासले गर्दा पाठकमा कौतूहलको राम्रो सिर्जना गर्न यो सफल छ ।
आफूले मान्दै आएको हिन्दू धर्म र विश्वासमा पारिवारिक बेमेल, आर्थिक अभाव, सामाजिक अपहेलना र राजनैतिक दमन तथा प्रशासनिक ज्यादतीका कारण दरार उत्पन्न भएपछि मुक्तिको मार्ग खोज्दै इसाई बन्न पुगेका बुबा पात्रले त्यहाँ पनि विभिन्न किसिमका रुढीवादी मान्यता, धार्मिक अन्धता र वैचारिक विरोधाभास भेट्टाउँछन् । जसकारण बाइबल शास्त्र र इसाई देवतामाथि अनेक प्रश्नचिह्न खडा हुन्छ ।
पूर्वीय र पाश्चात्य धर्म, दर्शनका ज्ञाताका रूपमा खडा गरिएका मास्टर काइला पात्रले बाइबल, वेदलगायत कुनै पनि शास्त्रलाई धार्मिक अन्धभक्ति र आस्थाको भावले नहेरी ती शास्त्रहरूलाई भौतिकवादी तथा वैज्ञानिक दृष्टिले अध्ययन गरे मात्रै वास्तविकताको नजिक पुगिन्छ भन्ने बुझाएपछि बुबा पात्रको ज्ञानको ढोका खुल्छ । भौतिकवादको चश्मा लगाएर हेर्दा पूर्वीयशास्त्र वेद, उपनिषद्, मुन्धुम आदिमा भन्दा पाश्चात्य शास्त्र बाइबलमा रुढीवाद, विरोधाभास, ज्ञान र दर्शनको सङ्कट बढी देखेपछि बुबा पात्रले कुनै पनि शास्त्रलाई वा धर्मदर्शनलाई राम्ररी नबुझी त्यसमा हामफाल्न नहुने अनुभूत गर्छन् । ऊनमा धेरै ज्ञान प्राप्त गर्ने ज्ञानको भोक जाग्छ । फेरि आफ्नै जन्मभूमिमा फर्किएर परिवारलाई त्यहाँ व्यवस्थापन गरी आफू नयाँ ज्ञानको खोजीमा निस्कन्छन् । त्यसपछि सम्पूर्ण द्वन्द्व र सङ्घर्षको पनि अन्त्य हुन्छ ।
‘चरैवेति’ उपन्यासमा धर्मान्तरण–धर्मपरिवर्तनको विषयलाई सशक्त रूपमा उठाइएको छ । उपन्यास पढ्दै जाँदा कुनै व्यक्ति आफ्नो खोले मान्दै आएको धर्म छोडेर अर्को धर्ममा किन लाग्छन् त ! भन्ने कुरा प्रष्ट रूपमा बुझ्न सकिन्छ । उपन्यासमा धर्म परिवर्तनको मूल कारण हिन्दूधर्ममा रहेको जातव्यवस्था, छुवाछुत तथा जातीय विभेद नै हो भन्ने कुरालाई एउटै धर्मसंस्कार र संस्कृति मानेको भए तापनि सधैँ अपमानित भएका, अछुत र अपवित्र तुल्याइएका र मान्छे भएर मान्छेले झैं बाँच्न नदिइएका दलित पात्रहरूको कथामार्फत प्रष्ट पारिएको छ ।
हिन्दूधर्म मान्दा सधैं अछुत र अपवित्र हुनुपर्ने पीडाबाट उन्मुक्ति प्राप्त गरी सम्मानपूर्वक बाँच्न पाउने आश बोकेर माइला विश्वकर्मा, सोम सार्की, घिमिरे जस्ता दलित पात्रहरूले धर्मपरिवर्तन गरेका छन् । आफ्नो धर्म संस्कृतिभित्र रहेका खराब पक्षविरुद्ध सङ्घर्ष गरेर आफ्नो अस्तित्व जोगाउनुको सट्टा जातव्यवस्था नभएको धर्म खोजी धर्मपरिवर्तन गर्नु सजिलो बाटो भए तापनि वास्तविक समस्याको समाधान भने नभएको विचार उपन्यासमा आएको छ ।
उपन्यासमा धर्मान्तरण गरेर इसाई बन्नुको दोस्रो कारण आर्थिक लोभलालच भएको बताइएको छ । नेपाल एक गरीबीको रेखामुनि रहेको देश हो । यहाँका अधिकांश मानिस बिहान बेलुकाको छाक टार्नै नसक्ने स्थितिमा रहेका छन् । यस अवस्थाको फाइदा उठाउँदै पश्चिमा इसाई मिसनरीहरू नेपालमा आएका छन् । उनीहरूले धर्मको नाममा गरीब नेपालीहरूलाई आर्थिक सहायता पनि गर्छन्, तसर्थ सजिलै हातमुख जोड्ने खर्च धान्न छुवाछुत र जातीय विभेद नभएका बौद्ध धर्मालम्बी र किराँत धार्मालम्बीहरू आफ्नो त्रिपिटक र मुन्धुम छोडेर बाइबल समाउन पुग्ने गरेको तितो यथार्थलाई यस उपन्यासका छथरे, साम्लिङे, ठूलेराई आइते तामाङ जस्ता पात्र मार्फत प्रस्तुत गरिएको छ ।
पञ्चायत कालमा नेपाल हिन्दूराज्य घोषित थियो र नेपालमा इसाई, मुस्लिम जस्ता धर्म प्रचार गर्न रोक लगाइएको थियो । धर्म प्रचार गर्नेलाई प्रहरी प्रशासनले धरपकड गरी हदै सम्मको शारीरिक र मानसिक यातना दिने गर्थ्यो । व्यक्तिगत स्वार्थ पूर्ति गर्न तथा वैयक्तिक रिसइबी रहेका व्यक्तिसँग बदला लिन पनि ती मानिसहरू कसैलाई धर्म परिवर्तन र प्रचार गरेको आरोप लगाउँथे र प्रहरी कार्यालयमा उजुरी गर्थे ।
त्यसवेला उसलाई पुर्खाको धर्मबाट च्युत गरिन्थ्यो र समाजमा अपहेलना सहनुपर्थ्यो । तसर्थ कुनै व्यक्तिले नचाहँदा नचाहँदै पनि नीच सोचभएका मानिस, प्रशासन र राज्यको अमानवीय व्यवहारका कारण ऊ धर्म परिवर्तन गर्न वा अर्को धर्मको सहारा लिन बाध्य हुन्थ्यो भन्ने तीतो यथार्थलाई बुवा पात्रले आफ्नै बुबा र भाइहरूबाट पाएको तिरस्कार र बहिस्कार, बाइबले भन्ने झुटा आरोप र प्रहरीप्रशासनले हिरासतमा गरेको अमानवीय व्यवहार जस्ता घटनामार्फत उपन्यासमा प्रस्तुत गरिएको छ ।
यस उपन्यासमा बाल मनोविज्ञानको प्रयोग गरिएको छ । उपन्यासको केन्द्रीय पात्रको बाल्यकालमा आफ्ना दिदीबहिनी सँगको प्रेम, उनीहरूसँगको मृत्युको वियोगको पीडा, आफ्ना दौंतरीसँग छुट्नु पर्दाको पीडा, नयाँ ठाउँमा जाँदाको बाल्यालिन उत्साह आदि जस्ता बाल्यकालीन अनुभूतिलाई उपन्यासमा कलात्मक रूपमा बालपात्र मार्फत प्रस्तुत गरिएको छ ।
यस्तै बुबा पात्रका आफ्नै कान्छा भाइ र बुबाले कुनै अन्य जातकी एउटी स्त्रीसँग नाजायज सम्बन्ध राखेको कुरा बुबा पात्रले थाहा पाएपछि आफ्नो अनैतिक कार्यलाई छुपाउन आफ्नै छोरा र दाइमाथि पनि अति नै तुच्छ, अमानवीय र निकृष्ट व्यवहार गरेको देखाई उपन्यासकारले वर्तमान युगमा मानिसमा हराउँदै गएको सत्य, न्याय, नैतिकता र मानवीय भावलाई औँल्याएका छन् । धार्मिक अन्धभक्ति, पारिवारिक कलह र बेमेलले मानिसमा छाएको निराशा, घृणा, तिक्तता र दुःखपूर्ण जीवनकथालाई उपन्यासले देखाएको छ ।
पूर्वी नेपालको मिक्लाजुङ, रतुवाखोला, किपट क्षेत्र, इलामको सेरोफेरोमा बोलिने भाषिकागत लबज आदिलाई यस उपन्यासमा जस्ताको तस्तै विभिन्न पात्रमार्फत प्रस्तुत गरिएको छ :
“आहो ! मास्टर साब, जैमसी ! परमेश्वरको इच्छाले आज ठिक्क ट्याम्मा नै तपाईसँग भेट भयो हौ । यी ठुल्दाजु आफैं विश्वासी भएर पनि परमेश्वरमाथि प्रश्न गरिरानुभाछ । तपाईंले सम्जाइ दिनु परो (पृ.१२२) ।’’
यस्ता भाषिकागत स्वाद र त्यहाँका दलित, तामाङ, राई, लिम्बु आदि जातजातिको मौलिक कार्यव्यवहारलाई यथार्थ रूपमा प्रस्तुत गरिएको हुँदा यो उपन्यास आञ्चलिकताको प्रयोगका दृष्टि पनि उत्कृष्ट रहेको छ ।
उपन्यासमा प्रयुक्त शैलीको कुरा गर्दा बुबा पात्रले आफ्ना जीवनका अनुभूतिहरू र बाइबलशास्त्र अध्ययन गर्दैगर्दा देखिएको ज्ञानको सङ्कटको प्रस्तुति गर्ने डायरी लेखन शैलीमा रहेको छ । उक्त डायरी भर्खरै पढलेख गर्न सिक्दै गरेका बुबा पात्रले निकै समय अगि नै लेखेको भनिएको छ तर त्यहाँ प्रयुक्त भाषा उच्च कोटिको, मानक र परिष्कृत छ । लेखकले उक्त डायरीको भाषा परिष्कृत नगरी तत्कालीन समयमा ग्रामीण जनजीवनमा प्रचलित कथ्य प्रधान भाषालाई नै प्रस्तुत गरेको भए अझ राम्रो हुन्थ्यो ।
उपन्यासमा कतै कतै साधारण गाउँले पात्र, औपचारिक शिक्षा हासिल गर्न नपाएको पात्रले आफ्नो अनुभूति प्रस्तुत गरेको ठाउँमा उक्त पात्रमार्फत लेखकले आफ्नो समालोचकीयपन प्रस्तुत गर्न पुगेका छन् :
‘‘प्रकृतिको सिर्जनालाई मान्छेको भाषाले नाम दिन्छ । त्यसै नामले फेरि मान्छेको पहिचान बनाएर प्रकृतिले पैँचो फिर्ता गर्छ । प्रकृतिले कसैको गुनलाई बैगुन गर्दैन । बैगुनी बन्ने विशेषता मान्छे मात्रको सभ्यताको निजी आर्जन हो (१८५) ।’’
यो लेखकको समालोचकीय विचार हो । यस्ता विचार उपन्यासमा धेरै ठाउँमा आएका छन् । भर्खरै कखरा सिक्दै गरेका बुबा पात्रमार्फत प्रस्तुत यस्ता विचार पात्रानुकूल सुहाएको देखिंदैन ।
अन्त्यमा : पूर्वीय हिन्दू र पाश्चात्य इसाई धर्म, संस्कृति, जीवनशैली र दर्शनको व्यापक मन्थन गरी लेखिएको चरैवेति उपन्यासले कुनै पनि धर्मको विरोध गरेको छैन । बरु ती शास्त्रहरूको मूल्य बढाएको छ । पूर्वीय र पाश्चात्य शास्त्रहरूलाई ईश्वरीय सत्ता, धार्मिक अन्धविश्वासपूर्ण भक्तिभावले नहेरी प्रकृतिको रक्षा गर्ने भौतिकवादी तथा वैज्ञानिक दृष्टिबाट व्याख्या गरिनुपर्ने मूल विचार यस उपन्यासको रहेको छ ।
उपन्यासकारले आफ्नो मुखपात्र मास्टर काइँलामार्फत् पूर्वीय र पाश्चात्य धर्म र विज्ञानलाई समायोजन गरी छुट्टै नयाँ ज्ञान प्राप्त गर्न सके सत्यको नजिक पुग्न सकिने विचार व्यक्त गरेका छन् । मानिसको जीवनका अभाव, दुःख, नैराश्य आदिबाट मुक्ति कुनै पनि धार्मिक रुढीवादी मान्यताको भक्त बनेर हुँदैन । यसले मानिसमा भ्रम फैलाउँछ र अझ धेरै दुःखको खाडलमा धकेल्छ । तसर्थ वास्तविक सत्यसम्म पुग्ने ज्ञान प्राप्तिका लागि भौतिकवादी जीवनदर्शन अपनाउनुपर्ने विचार बोकेको यस उपन्यासमा इसाई धर्मशास्त्रलाई भैतिकवादी दृष्टिबाट व्याख्या गरिएको छ ।
यसर्थ यसमा बाइबलका थुप्रै विरोधाभासहरू देखाइएको छ जसलाई लेखकले तथ्यपरक ढङ्गले उपन्यासमा प्रस्तुत गरेका छन् । यस्तै विभिन्न कारणवश आफूले मान्दै आएको धर्म छोडी इसाई धर्म मान्न चाहने व्यक्तिहरूलाई हिन्दू अहङ्कारवादी व्यवस्था र पञ्चायती शासन कालमा प्रहरी प्रशासन वा राज्य तहबाटै कतिसम्मको ज्यादती, दमन र अमानवीय व्यवहार भएको थियो भन्ने कुरा यस उपन्यासमा प्रष्ट रूपमा उल्लेख गरिएको छ ।
नेपाली इसाई धर्म, संस्कृति, परम्परा, दर्शन बुझ्न चाहने र बाइबल शास्त्रलाई भौतिकवादी ढङ्गबाट अध्ययन गर्न चाहने सम्पूर्ण इसाई तथा गैरइसाईहरूका लागि चरैवेति उपन्यास पढ्नै पर्ने उच्च कोटिको दस्तावेज बनेको छ ।
चरैवेति उपन्यास २०८० फागुनमा पेज टर्नरले पहिलो संस्करण प्रकाशित गरेको हो । २ सय ४३ पृष्ठ रहेको यस उपन्यासको मूल्य रु.५२५ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

