
कविता मार्फत आफ्नो मनमा उठेका प्रत्येक भावनाको बिस्कुन सुकाउन खप्पिस दक्षिण सिक्किमको लिङ्गमोमा जन्मेकी गीताश्री शर्माको चौथो कृति “वर्षा” जम्मा चालीस वटा कविताको सँगालो हो । यसलाई प्रकाशित गरेको छ सन् २०२३ मा जनपक्ष प्रकाशन,सिक्किमले । मोल चार सय रुपियाँ तोकिएको छ। राम्रो कागज, मनमोहक कलाकृति हेर्दा लाग्छ मूल्य सही हो ।
घर-परिवार सम्हालेर व्यवसायमा पनि हात बढाउने गीताश्री कहिले मुक्तककारको रूपमा उत्रिन्छिन् भने कहिले कथाकारको रूपमा उभिएकी देखिन्छिन् । नेपाली साहित्यमा आएको नयाँ आयाम रम्बास कविता मन पराएर रम्बास कवितासङ्ग्रह “तिलस्मी” प्रकाशित गरिसकेर पनि देश-विदेशमा रहेका रम्बास नारी हस्ताक्षरलाई समेटेर रम्बास लेखनकलालाई प्रोत्साहन दिनहेतु रम्बास कवितासङ्ग्रह “काव्याञ्जलि”को सम्पादन गर्न पनि उनी पछि हटेकी छैनन् ।
वर्षा कवितासङ्ग्रह आफ्नै सुपुत्री “वर्षा”को नाउँमा नामकरण गर्दै आमालाई समर्पण गरेको देखिन्छ । छोराछोरी र आमाप्रति गरिने स्नेह, माया-ममता, श्रद्धा र कर्तव्य यस कवितासंग्रहबाट स्पष्ट झल्किन्छ ।
“अन्धविश्वास, परम्परा, रूढिवादी, कालचक्र
धामी-झाँक्री, मशान, बुट्टी, ताविजका
सल्लाहकार , हल्लाहकारहरू
लछेप्रै जताततै भेट्छु
तर !
स्त्री-पुरुष, धनी-गरीब, उँचो-निचो, छोरा-छोरी
समान भएको हस्तरेखा
कतै पाउन सकिनँ “-
भन्दै हस्तरेखाबाट भाग्य छुट्याउने परम्परालाई व्यङ्ग्य हानेको “हस्तरेखा” नामक कवितामा देखिन्छ । यसरी परापूर्व कालदेखि चलिआएको परम्परावादी, अन्धविश्वास र हाम्रो समाजमा रहेको सामाजिक विसङ्गतिको तीखो व्यङ्ग्य गरेको पाइन्छ । सामाजिक संस्कारप्रति सचेत दृष्टिकोण राख्दै उनी समानताको नारा लगाउँछिन् । हाम्रो समाजमा चलेको परम्परालाई मान्दै नमान्नु भन्ने ध्येय पनि उनको होइन तर यी सबै हाम्रा धरोहरलाई पनि जोगाएर समयसित अघि बढ्ने आह्वान उनको हो ।
सिमानाको विवादमा उनको मन विचलित हुन्छ । मानिस-मानिसमा, देश-देशमा सबै थोक मिल्छ । मन पनि मिल्छ, रगत मिल्छ, पशुप्राणी, बन-जङ्गल, कीरा-फट्याङ्ग्रा सबकुछ मिल्छ तर पनि किन सिमानालाई लिएर झगडा गर्छन् भन्दै उनी प्रश्न गर्छिन् –
खै यो कस्तो भूगोल
खोला-नाला, बन-जंगल सबै एकै छन्,
मान्छेको अवयव एकै छ
बाटो-घाटो, पहाड पर्वत सबैतिर एकै हुँदा पनि
मान्छे शान्त छैन,
तैँछाड-मैँछाड गर्दै
तेरो र मेरोमा
सधैँ तर्क-वितर्क गर्नुको कारणले
केही लाभ हुँदैन भन्ने विचारको पुष्टि गर्छ “सिमाना” कविताले
“नैतिकतालाई खोपामा थन्क्याएर
मुटुलाई गाँठो पारेर
कुन मोडबाट कता अल्पियौ ?”
(निष्ठुरी मन)
कसैको वियोगमा छटपटाएको मनले खोजी हिँडेको छ आफ्नो प्रिय आत्मा । मनको पीडा कवितामा पोखेकी छन् कवयित्री शर्माले र हराएको मान्छेको मनलाई “निष्ठुरी मन” भन्न चाहन्छिन् ।
विरही मनलाई ठन्डा पार्न आएको शीतल बतासको रसिलो वर्णन देखिन्छ “समीर” कवितामा ।
“आयौ जिउने चाहना बनेर
कहिले काहीँ म हताश बन्दा
आँखा आँखा इनार हुन्
एक एक थोपा जम्मा गरेर
भरिएर छल्किन लागेपछि
तिम्रो मायाको गाग्री
दह्रो लिएर आयौ”
आफ्नो जीवनसाथीलाई चिसो हावाको साथमा तौलँदै उनको दुःख मेट्न मायाको गाग्री बोकेर आएको कुरा उनले यहाँ उल्लेख गरेको देखिन्छ।
प्राप्ति अप्राप्ति जुनसुकै परिस्थितिमा आफूलाई प्रस्तुत गर्दै जिन्दगी शीर्षक कवितामा भन्छिन् –
“मलाई छोटो लाग्छ जिन्दगी”
हर मोडमा रमाउँदै हिँड्ने उनको भनाइ छ, नित्यकर्म र व्यस्त जीवनको कारण उनले आरामलाई हराएकी छन् । परिवार बाहेक पनि आफन्त, साथीभाइ, छरछिमेक, इष्टमित्र सबैसँग मिलेर बस्नु नै सफल जिन्दगी हो भन्ने उनको विचार उत्कृष्ट, सराहनीय र समयसापेक्ष छ । जिन्दगीको परिभाषा कवयित्रीको विचारमा विगतलाई छोडेर आउने समयहरू नै सर्वोपरि हो ।
“योद्धाहरू, को होस् तँ आमा”, जस्ता लामा कविताका साथै “महिला”, “अन्तर्मनका गुरु”, “हे मन” शीर्षक गतानुगतिक विचारधारा बोकेका कविताहरूले वर्षा कवितासङ्ग्रहलाई कता कता एउटै मोडमा हिँडेको देख्न पाइन्छ।
“वर्षा जब तिमी,
धरती मातालाई सिञ्चन गर्न वर्षिन्छौ नि !
चरा-चुरुङ्गीहरू चिरिबिरीको सङ्गीत भरेर
खुशीले रमाएका हुन्छन्
झुम्न र रम्न थालेका हुन्छन्”
(वर्षा र म )
वर्षा ऋतुको रमाइलो माहौलमा रमाउँछिन् कवयित्री । खेती, पशुपालन सबैको लागि रमाइलो ऋतु हो वर्षा । सबैलाई चाहिन्छ अनाज, खाद्यान्न । तर अनाज उत्पादन गर्ने गरीब मजदुर किसान सधैँ हेपिन्छन्, त्यो देखेर कवयित्रीको मन विचलित हुन्छ । उनी भन्छिन् – हे प्रकृति, किन निर्दोष सन्तानहरूले दुःख झेल्नु परेको ? किन न्याय पाउँदैन गरीबले । चरा-चुरुङ्गीहरूप्रति पनि उनको असीम माया छ । साथै वर्षा ऋतुको सिमसिमे पानीमा निथ्रुक्क भिजेर रोमान्टिक हुन पुग्छ उनको मन । प्रकृतिको अनुपम रूप वर्णन गर्न “वर्षा” र “म” कविता सफल भएको देखिन्छ।
ऐनामा उनी आफ्ना प्रेमीको हँसिलो अनुहार हेर्न चाहन्छिन् जसरी सबै प्रेमीका चाहन्छन् । रहरहरू, चाहना, संसार तिमीले चिनायौ, आशिष्, जन्मघर, तह नमिलेको समाज, जीवन आदि धेरै कविताले समाज, देश, काल र परिस्थितिले परिपूर्ण कवितासंग्रह वर्षामा प्राय: प्रभाव पारेको देखिन्छ ।
कोरोनाकालीन समयमा लेखिएका कविता पनि यस कविता सङ्कलनमा समावेश भएको देखिन्छ ।
“निर्दयी कोरोना” शीर्षकमा कोरोनाको भयावह स्थिति झल्किन्छ । आतङ्ककारी कोरोनासित विज्ञान पनि डराएको थियो । शोकको विषय बनेको थियो । गाउँ-सहर चकमन्न थिए, विज्ञान खोजमा थियो, मन्दिर-गुम्बाका घण्टीहरू नबजेको कति भएको थियो । डाक्टर, नर्सहरू भगवान् भएर आम बिमारीहरूका सेवामा थिए । कवयित्रीले आफ्ना कवितामा ऐनाजस्तै निर्मल जलमा छर्लङ्ग बगेकी छन् ।
यस संग्रहका कविता सबै मानवजीवन र समाजका निम्ति केही न केही सन्देश बोकेर आएका छन्, त्यसकारण यसलाई एउटा उल्लेखनीय कृति भन्न सकिन्छ।
छन्दमुक्त कविता सुन्दर र सराहनीय भए तापनि यहाँ कतै पनि कुनै प्रकारको बिम्ब प्रयोग गरेको देखिँदैन । सरल र निर्मल गतिमा लेखिएका कविताहरूमा पाठकले बुझ्नको निम्ति मेहनत गर्नु पर्दैन र सजिलै बुझ्न सकिन्छ। कवयित्रीको यो वैशिष्ट्य पनि हो ।
मेरो दृष्टिले भ्याए अनुसार गीताश्री शर्माको “वर्षा” कवितासङ्ग्रह साहित्य जगतमा एउटा सुनौलो उपहारको रूपमा रहने छ।
अरू रहल कविता पाठक वर्गलाई विचार-विमर्शको लागि छोडेर कवयित्री गीताश्री शर्माको कलम निरन्तर सक्रियताको साथ चलिरहोस्, उज्ज्वल भविष्यको कामना गर्दछु।
शुभकामना सहित ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

