भाव र विषयहरूको जहिल्यै पनि मौन युद्ध चलिरहेको हुन्छ । कविता भनेको भाव मात्र हो कि विषय पनि हो ? वा विषय र भाव दुवै हो , कि दुवै हैन ! प्रश्नलाई सोध्ने छुट दियो भने यसले सोधेको सोधेकै गर्छ । उत्तर दिएर पनि कहिल्यै मुक्ति पाइँदैन । प्रश्नलाई त्यत्तिकै छोडिराखेर अगि जान पनि त कहाँ सकिन्छ र ! मानव मनको शक्ति भनेकै प्रश्नहरू नै हुन् । प्रश्नले जगाएपछि नै हामी निरन्तर गतिशील हुन्छौं ।

कवितामा कविता बन्ने शक्ति के ले दिएको होला ? शब्दहरू मात्र कविता हुन् कि !  लय कविता हो कि ! लेख्य शैली र संरचना कविता ! लेखक र पाठक सबैलाई अलमल्याउने कुरा यही नै हो । समालोचकले घोरिने पनि यहीँ हो ।

तिनै शब्द, तिनै र त्यस्तै वाक्य हुँदाहुँदै पनि कसरी कविता र कुरामा फरक हुन्छ ! कसरी लेख र कवितामा अन्तर पर्छ ! मैले कवितामा आफूलाई खोज्ने पनि यहीँ नेर हो ।

राजेश ढुङ्गाना

राजेश ढुङ्गाना

देवकोटाको पागल, मोहन कोइरालाको ‘फर्सीको जरो’, वैरागी काइँलाको ‘प्लान्चेटको टेबल’, महेश प्रसाईको ‘उम्मेकुलसमको गाना’  कविताहरू पढ्दा म धेरैपल्ट रन्थनिएको थिएँ । त्यसै गरी भूपी सेरचनको ‘हामी’, हरिभक्तको ‘यो जिन्दगी खै के जिन्दगी’, बिष्णुविभुको ‘विमलाहरू’ र दुबसु क्षेत्रीको ‘साले दुबसु क्षेत्री’ पढेर खुबै रमाएको थिएँ । अगिल्लाहरू पढेर किन रन्थनिएँ र पछिल्लाहरूमा किन रमाएँ मलाई अझै थाहा छैन । तर यी दुवै थरी कविता, कविता नै हुन् ।

पाठकको रुचि र बोध क्षमताले यहाँ काम गरेको हुँदो हो । आफूले पनि कविताबाटै लेखनको यात्रा थालेकाले लेखन र पठन रुचि यसमै बढी छ तर, प्रकाशनको दौडमा कविता पछि परेका छन् । त्यसैले तिनीहरूले अचेल मसँग चित्त दुखाएका छन् ।

आजको कविता चर्चाको सन्दर्भमा उभिन आइपुगेका छन् – राजेश ढुङ्गाना ।

झापाको भद्रपुर निवासी राजेश लामो समय काठमाडौंको सङ्गतमा रहे । पचासको दशक काठमाडौं राजेशको सबैभन्दा फराकिलो खेल्ने मैदान थियो । उनको काव्यिक र पत्रकारिता यात्रामा समानान्तर सक्रियता थियो । काठमाडौंका अधिकांश पत्रिकाहरूमा राजेश कविभन्दा पनि समसामयिक विश्लेषक देखिन्थे । तर यथार्थमा उनी झापामा  हुर्किएका अत्यन्त प्रखर कवि थिए । लामाभन्दा छोटा कविता र मुक्तकमा उनलाई बढी सिंगारिएको पाइन्थ्यो ।

मञ्चहरूमा भन्दा पत्रपत्रिकामा बढी भेटिने उनी पचासको दशकको अन्त्यतिर देखि एकाएक छापाहरूबाट हराए ।  त्यसपछि त सम्पर्कहरूमा पनि थिएनन् । हामी उनका नजिककाहर पनि उनीसँग थिएनौं । धेरै पहिलेदेखि नै नेपाली कविहरूको एक विडम्बना  थियो – रक्सी ।

इलामका बिष्णुनविन, बोडोलैन्डका हरिभक्त कटुवाल, झापाका हिरा आकाशहरू रक्सीका पर्याय थिए । पछि यही लस्करमा उभिन पुगे राजेश पनि । हामीलाई उनको सधैं पिर लाग्थ्यो । उनको अत्यन्त उर्वर समय नशामा लट्ठिएर बित्यो । उनी आफैलाई थाहा थियो आफू गलत बाटोमा पुगेर अलमलिएको कुरा तर त्यसबाट बाहिर निस्किन उनलाई सजिलो थिएन ।

उनले आफै लेखेका छन् – “तीन दशकभन्दा अघिदेखि कवितासंग्रह निकाल्ने योजना यतिबेला साकार भएको छ । कहिले मनले दिएन, कहिले रक्सीले दिएन, त कहिले आफ्नै विरुद्धको विचारले दिएन आ… मेरा कविता ननिस्किंदैमा दुनियाँलाई के फरक पर्छ र ? भन्ने सोच नैयसको मूल कारण रह्यो । तर, यसपटक आफ्ना माथिका विचारमा अडिन नसकेर यो स‌ंग्रह निकालेको छु – मेरी पत्नी मीनाका लागि । किताब ननिकाली उनलाई भएकै थिएन ।  म स्वयम् आफ्नी पत्नीसँग पराजित भएको प्रमाण यो पुस्तक आफैँ छ ।”

सुकिला मान्छेको सामूहिक मृत्यु

एउटा खास समयपछि मानिस आफै सम्हालिंदो रहेछ वा उसलाई सम्हाल्न कोही आउनुपर्ने रहेछ । उनको जीवनमा पनि पत्नीका रूपमा जब मीना ढुङ्गाना आउनुभयो, हो त्यसै दिनदेखि उनी फेरि हाम्रा पुराना राजेश हुन थाले र केही कालपछि नै उनले आफ्नो पहिलो कवितासंग्रह हाम्रा हातमा राखिदिए – ‘सुकिला मान्छेको सामूहिक मृत्यु  ।’

२०७० वैशाखमा पहिलोपल्ट प्रकाशित यस संग्रहले दश वर्षपछि २०८० साल वैशाखमा फेरि प्रकाशन हुन पाएको छ । ढिलो गरी हात परेको यो पुस्तकका कविता मैले मनोयोगले पढें ।

उनको कवितासंग्रहको शीर्षकले विशेष अर्थ बोकेको छ । कुनैबेला बिपी कोइरालाले भनेका थिए, ‘क्रान्तिपछि जब परिवर्तन हुन्छ, सुकिलामुकिलाहरूको हालीमुहाली सुरु हुन्छ । तिनीहरूका विरुद्धमा फेरि अर्को आन्दोलन गर्नु पर्नेछ ।’ शब्द केही तलमाथि भएको हुनसक्छ तर उनको यो भनाइ धेरैले दोहोर्याइरहेको सुनिन्छ ।

राजेशले यो शीर्षकभित्र संकलन गरेका कविताहरूले बोकेका भावहरू मर्दै गरेका सुकिला मानिसहरूको मलामी नै हुन् भन्दा पनि हुन्छ । उनी लेख्छन्-

तपाईं र तपाईंहरूको सामूहिक मृत्युमा

मलामी गएर बाटोमा फर्कंदा

तपाईंको शोकसभाकै समय, श्रद्धाञ्जलीकै क्षण

फुत्त सडकबाट सडकमै निस्कने

एउटा नपत्याउँदो ख्याउटे मान्छे छातीमा

आफ्नो मुटु भएठाउँमा सिङ्गै मुलुकको नक्सा कुँदेर

सिंहदरबार अगाडि ङिच्च हाँस्तै

ठिङ्ग उभिएको सपना सोचिरहेछु

सुकिला पोशाक लगाएर छातीमा बिल्ला टाँस्ने

चम्किला मान्छेहरूको मृत्युकै क्षण

म एउटा र एउटा मात्र

सफा, सग्लो र पूर्ण मान्छेको प्रतीक्षा गरिरहेछु

उनी कवि त थिए तर उनको सर्त थियो प्रजातन्त्र । उनी वैचारिक थिए र सर्त थियो स्वतन्त्रता । आन्दोलनले बनाएको कवि रुमानी मात्र कसरी हुनसक्नु ! मानवता, प्रजातन्त्र र स्वतन्त्रता कुनै पनि कविको पहिलो सर्त हुन्छ त्यसमा पनि उनी त पटकपटक जेल बसेका पनि । लानो निरङ्कुशतापछि प्राप्त भएको यो स्वतन्त्रता ती सत्ता र पदको मातले लठ्ठिएकाहरूसँग साट्न कसरी तयार हुन्छ कुनै कवि ! त्यसैले उनी लेख्छन्-

 किन छेकियो यतिबेला

स्वतन्त्रताको

अनिवार्य उपस्थितिलाई ?

अक्षरका स्पर्शहरूलाई नरोक

आवाजका अँगालोहरूलाई नछेक

रोक्न खोज्यौ भने सिर्जनालाई

कलमले ठाडै बलात्कार गर्छ

छेक्न आँट्यौ भने स्वतन्त्रतालाई

ऊ, आफैँमा बम र बन्दुक बन्छ

नअँठ्याऊ मान्छेको स्वाभिमानलाई

तिमीलाई थाहै हुनुपर्ने हो

जेल हालेर कैद गरेको मान्छेभन्दा

जेल नहाली कैद गरेको मान्छे

अझ खतरनाक हुन्छ ।                  

(जेल बिनाको कैद)

कलिलो उमेरदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा अत्यन्त सक्रिय भई हिँडेका उनी २०५० पछि नेपाली राजनीतिलाई नजिकबाट नियाल्ने पत्रकार तथा कवि थिए । उच्च स्तरका प्रजातन्त्रवादी नेताहरूसँगको नियमित उठबसमा उनले आफ्नो काठमाडौं बसाइको निकै समय बिताए ।

त्यही व्यतीत समयको उपज थिए यी कविता किनकि तत्कालीन सत्ताधारी पार्टीभित्र एकाएक देखा परेका सुकिला मानिसहरू जो सिनोमा गिद्ध झुत्तिए जसरी नै सत्ताको केन्द्रमा पुगे र जनताले लडेर ल्याएको व्यवस्थालाई खिल्ली उडाउन थाले । अनि उनले लेखे-

साँच्चै भन्ने हो भने

मान्छेले नजिती

र, तिमीले नहारी

मान्छे र

तिमिबिचको युद्ध

कहिल्यै

अन्तिम हुँदा पनि हुँदैन ।

स्वतन्त्रताको आगो छातीमा बोकेर निरन्तर हिँडिरहेको कविले जब अत्यन्त नजिकबाट विकृतिको कुइगन्ध सुँघ्यो, त्यसले उनमा विद्रोह दिन सकेन बरु गहिरो र अँध्यारो  निराशा ल्यायो । नझुक्ने बरु भाँचिने उनको स्वभावले उनलाई थाहै नदिई रक्सीको कुलतमा पुर्यायो ।

यी कविता लेख्न पनि उनले लामै अन्यौलको यात्रा गर्नु पर्यो । भावुकता नभएको मानिस कवि हुँदैन । त्यही भावुकताले निकास नपाए या त विद्रोही बनाउँछ या त निराश । राजेश निराश बने । फलतः हामीले एउटा अत्यन्त राम्रो कविलाई धेरै वर्षसम्म आफ्नो संगतबाट गुमायौं ।

अब उनी फर्की आइपुगेका छन् हामी सँगै र दिन थालेको छन् किताबहरू ।

उनका कविता धेरै तन्किन मन गर्दैनन् । छोटो र थोरैमा आफ्ना कुरा भनिहाल्न हतारिन्छन् । प्रेम र प्रणयका गीत पनि गाएका छन्, निराशा र विरहलाई पनि चिनेका छन् ।  लेख्छन्-

पहिलो भेटमा

तिमीसँग आँखा जुध्दा

तिमीले चुपचाप

आँखा

आफ्नो पाउमा लगेर बिच्छ्यायौ

लजाएको पनि हुन सक्छ

नलजाएकै पनि हुन सक्छ

मलाई चाहिँ लाग्यो

पाउमा खसेको

तिम्रो नजरबाट अब

एउटा बीज अङ्कुरित हुनेछ

प्रेमको !

यही अङ्कुरित भएको प्रेमले उनको जीवनमा लिएर आयो प्रेमिकालाई पत्नी बनाउँदै। अनि यही प्रेम नै उनको जीवनको पुनरुत्थान थियो । धन्यवाद छ मिनाजी ! तपाईंले हामीलाई हाम्रो साथीसँग फेरि भेट गराइदिनु भयो ।

लामाभन्दा छोटा कविता लेख्न मन पराउने राजेश, कुरा गर्दा पनि लामो लामो व्याख्यान मन पराउँदैनन् । सायद त्यसैले पनि होला उनी राजनीतिमा जान नचाहेको । यदि उनी राजनीतिमा गएको भए पनि सायद त्यहाँ टिक्ने थिएनन् । कुनै पनि कवि विकृतिको माझमा कतिन्जेल अडिन्थ्यो र !

सरल र सिधा व्यङ्ग्य राजेशको लेखनका विशेषता हुन् । वैचारिकता लेखन धर्म ।  बिम्ब र प्रतीकको आपट्टे जङ्गलमा हामीलाई घिसार्दै लाँदैनन् उनी । हामीसँगै बस्छन्, हामीसँगै कुरा गर्छन् र हामीसँगै उठ्छन् ।

त्यसैले माथि सुरुमै भनेको थिएँ – कविता भनेको भाव मात्र हो कि विषय पनि हो ? वा विषय र भाव दुवै हो , कि दुवै हैन ?  राजेशका कवितामा म यिनै कुरा खोजिरहेको छु ।